कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

दाताको भरमा चल्दै विद्यालय

प्रकाश बराल

बागलुङ — ढोरपाटनको ज्योति विकास आधारभूत विद्यालय दाताको सहयोगमा सञ्चालन भइरहेको छ । कक्षा ८ सम्मको पढाइ हुने उक्त विद्यालयलाई दाताले शिक्षक दरबन्दी सहयोग गरेका हुन् ।चारजना शिक्षकको तलब पाँच वर्षदेखि फ्रान्सको आर्कडी डोलाङजी नामक संस्थाले सहयोग गरेको छ ।

दाताको भरमा चल्दै विद्यालय

उक्त संस्थाका प्रतिनिधिहरू सिकार आरक्ष घुम्न आएका बेला धेरै बालबालिकालाई एकै ठाउँमा राखेर पढाउनु परेको देखेपछि उक्त सहयोग गरेका थिए । हाल उक्त संस्थाले प्रतिशिक्षक १८ हजार रुपैयाँको दरले पठाउने गरेको छ भने पोसाकका लागि पनि सहयोग दिएको छ । बर्सेनि शिक्षकको तलबबाहेक चार सय बालबालिकाका लागि पोसाक, कापी कलम र जुत्तासमेत सहयोग गर्दै आएको हो ।

सहयोग प्राप्त हुन थालेपछि बालबालिका विद्यालयमा नियमित आएका प्रधानाध्यापक
चकबहादुर अदैले बताए । ‘मेहेनत त हामीले पनि गरेका छौं तर, शिक्षक दरबन्दी र विद्यार्थीलाई सहयोग जुटेकाले नियमितता छ,’ उनले भने, ‘आर्थिक अवस्था कमजोर भएका परिवारका बालबालिका भएकाले कापी, कलम र पोसाक अभावमा पनि विद्यालय छाड्ने धेरै थिए ।’ पोसाक, जुत्ता र कापी, कलम पाउन थालेपछि धेरै विद्यार्थी नियमित भएको उनले सुनाए । शिक्षकको व्यवस्थापनका लागि चार वर्षअघि जिल्ला शिक्षाले दरबन्दी मिलान गरे पनि यहाँका विद्यालयमा पढाउने जनशक्ति भने पठाउन सकेको थिएन । पठाएका शिक्षक पनि काज मिलाएर बजार क्षेत्रमै बस्दै आएपछि यहाँको पढाइ प्रभावित थियो । अझै पनि ढोरपाटन क्षेत्रका धेरै विद्यालयमा दरबन्दी नपाएर स्थानीय स्रोतका शिक्षकले मात्र पढाएका छन् ।

आर्थिक अवस्था कमजोर भएका परिवारका बालबालिकालाई खाजा समेत व्यवस्थापन गरेमा सबै नियमितता हुने भन्दै विद्यालयले दाताको खोजी गरिरहेको छ । केही समयअघि स्थानीय गैरसरकारी संस्थाले बालबालिकालाई खाजा खुवाउन सहयोग गरेका थिए । ‘घरमा पेटभरि खान नपाएका बालबालिका विद्यालयमा आउन रमाउने वातावरणको खोजीमा छौं,’ अदैले भने, ‘विद्यालय नआउने र आएका पनि छाड्ने दरलाई शून्यमा लैजाने योजना हो ।’ यहाँ भर्ना भएकामध्ये अझै १५ प्रतिशत बालबालिका कक्षामा नियमित नहुने र अभिभावकसँगै मेलापात जाने गर्छन् ।

दुर्गममा भएपनि विद्यालयमा कम्प्युटर, फोटोकपी र प्रोजेक्टरको व्यवस्था छ । नजिकैको गार्पा खोलाबाट निकालिएको लघुजलविद्युत् सहयोगी छ । उपकरण भने दाताले नै दिएका हुन् । ‘यहाँ इन्टरनेट पनि चलाउन सकिन्थ्यो तर, नेपाल टेलिकमको सेवा बिस्तार भएको छैन,’ स्थानीय गीता श्रीपालीले भनिन्, ‘इन्टरनेटको सुविधा भएमा भूगोलले टाढा भए पनि शिक्षा र अन्य सेवामा पहुँच बढ्ने थियो ।’ लघु जलविद्युत्ले यहाँका करिब चार सय घरधुरीमा बिजुली बलेको छ । सिकार आरक्ष, सेना र तिब्बती शरणार्थी रहेको बस्तीमा बिजुलीको उज्यालो पुगेको छ ।

प्रकाशित : जेष्ठ ९, २०७५ ११:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?