१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

राजपत्र प्रकाशित नहुँदा कार्यविधिमा निर्भर

म्याग्दी — संघीय मन्त्रालयले पठाएको अस्थायी नमुना कार्यविधिकै भरमा बेनी नगरपालिकासहित ६ स्थानीय सरकार सञ्चालन हुँदै आएका छन् ।जिल्लाको उत्तरी भेकमा पर्ने अन्नपूर्ण गाउँपालिकाले अझै एउटै ऐन, कानुनको विधेयकसमेत बनाउन सकेको छैन ।

राजपत्र प्रकाशित नहुँदा कार्यविधिमा निर्भर

यो गाउँपालिकाले स्थानीय सरकारलाई सजिलोका लागि संघीय मन्त्रालयले पठाएको आचारसंहिता र कार्यविधिलाई गाउँ कार्यपालिकाबाट अनुमोदन गरी काम चलाउँदै आएको छ । मन्त्रालयले सबै स्थानीय तहमा आचारसंहिता, कार्यविधि, ऐन र विधेयक समेत १८ नमुना कानुन पठाएको थियो ।

‘राजनीतिक इच्छाशक्ति र सक्रियताले स्थानीय सरकार सञ्चालन गर्न आवश्यक पर्ने सबै ऐनकानुन निर्माण निर्भर हुने रहेछ,’ अन्नपूर्ण गाउँपालिकाका प्रशासकीय अधिकृत अच्यूत दहालले भने, ‘विधेयक समिति निर्माण भएको छ । समितिहरूले आवश्यक ऐनकानुन मस्यौदा गरी दफावार छलफलपछि गाउँसभामा टेबुल गर्नुपर्ने हो तर हिउँदमा भएनन् । बजेट अधिवेशनमा ल्याउने प्रयास भएको छ ।’

अन्नपूर्ण गाउँपालिकाबाहेक अन्य स्थानीय तहले विधेयक अधिवेशनको रूपमा मानिने हिउँदे नगर/गाउँसभाबाट केही आधारभूत ऐनहरू अनुमोदन गरे पनि लालमोहर लागेर राजपत्रमा प्रकाशित नभएकाले पूर्णता पाएका छैनन् । जिल्लाका सबै गाउँपालिकाले अझै राजपत्र प्रकाशनसम्बन्धी कार्यविधि निर्माण गर्न नसक्दा नगर/गाउँसभाबाट पास भएका ऐन कानुन कार्यान्वयनमा आउन नसकेका हुन् । ‘स्थानीय तहका कार्यालय नियमित बनाउने केही ऐन, कानुनको मस्यौदा बनेका छन्, केही गाउँसभाबाट पास भएका छन् तर राजपत्रमा प्रकाशित छैनन् । केही छलफलमै छन्’ मंगला गाउँपालिकाका प्रशासकीय अधिकृत विष्णु पौडेलले भने, ‘काम गर्न बल्ल ढंग आउन थालेको छ ।’

अन्नपूर्ण गाउँपालिकाबाहेक सबै स्थानीय सरकारले कम्तीमा शिक्षा ऐन, स्वास्थ्य, सहकारी, कृषि, प्रशासनिक खर्च व्यवस्थापन गर्न बनेको ऐन र आर्थिक कार्यविधि नियमित गर्न बनेको ऐन साथै न्यायिक समितिले उजुरीको कारबाहीमा किनारा गर्दा अपनाउनु पर्ने कार्यविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक गाउँ र नगरसभाबाट अनुमोदन गरेका छन् । ‘प्रतिकूल परिस्थितिलाई चिरेर अघि बढिरहेका छौं । कानुनी संरचना बनाइरहेका छौं,’ धौलागिरि गाउँपालिका अध्यक्ष थमसरा पुनले भनिन्, ‘राजपत्र प्रकाशन सम्बन्धी कार्यविधि निर्माण गरिरहेका छौं, छिट्टै राजपत्रमा प्रकाशित गर्छाैं ।’ ६ वटा ऐन बनाइसकेको र थप ३ वटाको विधेयक समितिमा दफावार छलफल जारी रहेको उनले बताइन् ।

प्रकाशित : जेष्ठ १२, २०७५ ०९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?