निउरो बेचेरै घरखर्च

पर्वत — मोदी ४, क्याङकी बेलमाया पुनलाई हिजोआज भ्याइनभ्याइ छ । लेकाली जंगलहरूमा वैशाखदेखि केही महिना मात्रै पाइने निउरो टिपेर पुन मात्रै होइन क्याङ, बनौं र शालिजाका धेरै महिलाहरूले गतिलो आम्दानी गरिरहेका छन् ।

निउरो बेचेरै घरखर्च

स्थानीय खर्सुवास, कालापातल, डोबाटालगायत जंगलमा यतिबेला लाखुटो (ठूलो निउरो) का मुना पलाउँछन् । वर्षा सुरु भएपछि भदौसम्म पाइने निउरो टिपेर यहाँका दर्जनौं महिला र युवाले परिवारको खर्च चलाउने गरेका छन् ।

विगतका वर्षहरूमा फागुनको दोस्रो सातादेखि पाइने निउरो यो वर्ष भने केही ढिला पलाएको छ । गत चैतको अन्तिम साता वर्षा भएपछि वैशाख पहिलो सातादेखि निउरोको सिजन सुरु भएको छ । जंगलमा एक दिन टिपेको निउरो ५ दिनसम्म बिक्री गर्न सकिने पुनले बताइन् । ‘सबैतिर पाइँदैन,’ उनले भनिन्, ‘ओसिलो ठाउँ भेटियो भने एकै ठाउँमा ८–१० भारीसम्म हुन्छ ।’ उनले निउरो कुश्मा र बागलुङमा बिक्री गर्दै आएको बताइन् ।

कहिलेकाहीं समूह बनाएर जंगलमै बास बस्ने गरी जान्छन् । ‘महिला–पुरुष मिलेर जंगलमै बस्नेगरी पनि जान्छौं,’ बेलमायासँगै निउरो बेच्दै गरेकी सुनमती खोरजाले भनिन्, ‘त्यसो गर्दा अलि बढी आम्दानी हुन्छ ।’ बेलमायाँ र सुनमतीले गत वैशाखमा निउरो बिक्री गरेर २९ हजार आम्दानी गरे ।’ बेलमायाले १६, सुनमतीले १३ हजार । ‘दिनदिनै जंगल र बजार गर्न सकिन्न । एकपटक जंगल गएर फर्केपछि १० दिनसम्म यतै भुल्नुपर्छ,’ बेलमायाले भनिन् ।

महिनामा दुई पटक जंगलबाट निउरो ल्याएर बजारका घरघरै डुलाएर बेच्दै आएको उनीहरूले बताए । घरघरै डुलाएर बिक्री गर्दा प्रतिमुठा २० रुपैयाँभन्दा बढी पर्छ । ‘व्यापारीलाई दिए छिटो कट्थ्यो,’ सुनमतीले भनिन्, ‘एकै खेपमा हजारको फरक पर्छ, घक्रक्कै पार्छन् । अघिल्ला वर्ष दिइन्थ्यो । अहिले डुलाएरै बेचेका छौं ।’ निउरोको सिजनमा मात्रै उनीहरूले डेढदेखि दुई लाखसम्म आम्दानी गर्ने बताए । बेलमायाँले त निउरोसहित सिजन अनुसारको तरकारी बिक्री गरेर दुई छोराछोरीलाई कुश्माको निजी विद्यालयमा पढाएकी छन् । ‘अब भदौसम्म निउरो टिपेर बेच्ने हो,’ उनले भनिन्, ‘अरू बेला गाउँबाट तरकारी, फलफूल थोकमा ल्याएर बिक्री गर्छु ।’ गुजारा चलेकै छ ।

समुद्र सतहदेखि १५ सयदेखि २५ सय मिटरको उचाइमा पाइने जंगली निउरो तरकारी र अचारका लागि अधिक माग हुन्छ । उपभोक्ताहरू निउरोको अचारमा निकै लोभिन्छन् । नाम चलेका होटलमा राम्रै खपत हुन्छ । ‘बजारमा विषादी गह्नाउने तरकारी खाँदा वाक्क परेका बेला निउरो त राजै हो,’ कुश्माका ऋषिराम पौडेलले भने, ‘सिजनमा निउरोको अचार खुब मनपर्छ ।’ पेटका रोगीहरूका लागि निउरोको तरकारी र अचार बढी लाभदायक हुने जानकारहरू बताउँछन् । ‘यसले ग्यास्ट्रिक र पेटको कब्जियत ठीक गर्छ,’ निउरो किन्दै गरेकी लीला पौडेलले भनिन् ।

प्रकाशित : जेष्ठ १२, २०७५ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?