भूकम्पपीडितको गुनासो ‘अझै राहत पाएनौं’

विना थापा

कास्की — भूकम्पले घरमा क्षति पुर्‍याएको ३ वर्ष बित्दा पनि जिल्लाका केही वास्तविक पीडितले राहत पाएका छैनन् । पीडितले आफूहरूलाई पनि लाभग्राहीको सूचीमा पारेर राहत दिनुपर्ने माग गरेका छन् ।

भूकम्पपीडितको गुनासो ‘अझै राहत पाएनौं’

पोखरा लेखनाथ महानगरपालिका २०, भलामकी ६० वर्षीया तुलसी भण्डारीले राहत नपाएको बताइन् । ‘घर भूकम्पले चिरिएको छ । कतिबेला भत्किने हो भन्ने त्रासमा छाैं,’ उनले भनिन्, ‘घरको अधिकांश भाग चर्किए पनि प्राविधिकले राम्रोसँग नहेरिदिएकाले राहत पाउने सूचीमा परिएन ।’ उनले आफ्नै क्षमताले नयाँ घर बनाउन र मर्मत पनि गर्न नसक्ने तर राहत सूचीमा नपरेकाले सरकारी अनुदान पनि नपाउने अवस्था रहेको बताइन् ।

घरमा प्राविधिक आए पनि पीडितमा नपारिएको भन्दै उनकी बुहारी विनीता गुनसो गर्छिन् । ‘तीन महिनाअघि वडा कार्यालयमा गुनासो फाराम भरेकी छु,’ उनले भनिन्, ‘केही हुन्छ कि भन्ने आशामा छांै ।’ कतिपय आफ्नोभन्दा कम क्षति भएकाले राजनीतिक पहुँचकै आधारमा राहत लिएको उनको भनाइ छ । पूर्ण रूपमा क्षति भएका पीडित अझै छुटेको स्थानीय रामबहादुर खत्री बताउँछन् ।

भलामकै गजेन्द्रप्रसाद शर्मा र मनबहादुर विकको घर पूर्ण क्षति भएकोमा उनीहरू पनि अनुदान पाउने सूचीमा नपरेको वडा कार्यालय नै स्वीकार्छ । वडाध्यक्ष सिम गुरुङले विगतमा भएको कमजोरीले थुप्रै वास्तविक पीडित छुटेको बताए । जिल्ला समन्वय समितिअन्तर्गत जिल्ला आयोजना कार्यान्वयन एकाइका फोकल पर्सन अर्जुन न्यौपानेका अनुसार सर्भे गर्न जाँदा मान्छे नभेटाएको, कसैको अन्यत्र पनि बस्न लायकको घर रहेको तथा कम्प्युटरमा नम्बर टाइप गर्दा प्राविधिकका कारणले नम्बर जुध्न गएकाले पनि केही वास्तविक पीडितले राहत नपाएको बताए । छुट्नेहरूका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गुनासो फाराम खुलाएको थियो ।

तर समयावधि सकिए पनि धेरैजसो स्थानबाट नआइपुगेकाले त्यसको पर्खाइमा रहेको उनको भनाइ छ । ‘अब १० दिनभित्र महानगरभित्रका सबै वडा र गाउँपालिकामा दर्ता भएका गुनासा फाराम संकलन गरी प्रधिकरणमा पठाउने काम हुन्छ,’ उनले भने, ‘छलफल भएर आएपछि पुन: सर्भे गर्न पठाइनेछ ।’ उनका अनुसार लाभग्राही सूचीमा नपरेको गुनासो गर्नेमा महानगरभित्र १ हजार ५ सय १३, मादी गाउँपालिकामा ७ सय २०, रूपा गाउँपालिकामा ८ सय १०, अन्नपूर्ण गाउँपालिकामा २ सय १५ र माछापुच्छ्रेमा २ सय ७७ जना छन् । कसैले गलत विवरण दिएर अनुदानको किस्ता रकम लगेको पाइए फिर्ता हुने उनले बताए । कास्कीमा घर पूर्ण क्षति भएर ३ लाख रुपैयाँ अनुदान पाउनेहरू ६ हजार २६ लाभग्राही र आंशिक क्षति भएर १ लाख रुपैयाँ अनुदान (प्रवलीकरण लाभग्राही) २ सय ४३ जना छन् । जसमध्ये अहिलेसम्म ५ हजार १ सय ४३ लाभग्राहीले अनुदान सम्झौता गरी पहिलो किस्ताको ५० हजार रुपैयाँ लगिसकेका छन् । जग हालिसकेकाले भने दोस्रो किस्ता असार मसान्तसम्म पाउनेछन् ।

ढोकानिर चर्किएको भाग ।

प्रकाशित : जेष्ठ १२, २०७५ ०९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?