२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

२६ वडा स्वास्थ्य संस्थाविहीन

स्याङ्जा — संघीयता कार्यान्वयनसँगै जिल्लामा ५ नगर र ६ गाउँपालिका छन् । नगर र गाउँ कार्यपालिका गरी ११ तहमा ९७ वडा छन् । हालसम्म २६ वडा स्वास्थ्य संस्थाविहीन छन् ।

२६ वडा स्वास्थ्य संस्थाविहीन

साबिकका ५७ गाविसमध्ये सबैमा स्वास्थ्य संस्था थिए । तर, पुन:संरचना पश्चात बनेका नयाँ वडामा स्वास्थ्य संस्था स्थापना हुन सकेका छैनन् । जनस्वास्थ्य कार्यालयका अनुसार जिल्लामा ६३ स्वास्थ्य चौकी, १ उपस्वास्थ्य चौकी, ३ प्राथमिक स्वास्थ्य केन्द्र र २ अस्पताल गरी ६९ स्वास्थ्य संस्था छन् ।

पछिल्लो समय अस्थायी रूपमा रहने गरी ग्रामीण स्वास्थ्य इकाई ९ र नगर स्वास्थ्य केन्द्र ७ गरी थप १६ संस्था गठन गरिएको छ । अस्थायी स्वास्थ्य इकाईसहित जिल्लामा सरकारी स्वास्थ्य संस्थाको संख्या ८५ पुगेको जनस्वास्थ्यका सहायक तथ्यांक अधिकृत राजेन्द्र पराजुलीले बताए ।

आव ०५१/५२ मा तत्कालीन सरकारले सबै गाविसमा स्वास्थ्य संस्था पुर्‍याउने लक्ष्यअनुरूप स्याङ्जाका गाविसमा स्वास्थ्य संस्था स्थापना भएका थिए । साबिक ३ निर्वाचन क्षेत्रमा एउटा–एउटा प्राथमिक स्वास्थ्य केन्द्र स्थापना गरिएको थियो भने जनसंख्याका आधारमा नगरका जिल्ला अस्पताल घोषणा गरिएको थियो ।

स्थानीय तह पुन:संरचनापछि कतिपय गाविस सिंगो एउटा वडामा परिणत भएका छन् । अझै स्वास्थ्य संस्था नपुगेका वडाका बासिन्दालाई उपचार सेवा लिन टाढा भएकाले महँगो छ । पुतलीबजारका ३, वालिङका ४, अर्जुनचौपारी गाउँपालिका २, कालीगण्डकीको ३, गल्याङका ३, चापाकोटका ३, भीरकोटका ३, बिरुवाको एउटा र हरिनाशका ४ वडामा सरकारी स्वास्थ्य संस्था छैनन् ।

प्रकाशित : जेष्ठ १३, २०७५ १०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?