कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

पर्यटक लोभ्याउँदै सालडाँडा

पर्वत — तीन वर्षअघिसम्म बाच्छाको सालडाँडा भनेर पल्लो गाउँ पाङराङका बासिन्दाले पनि उति चिन्दैनथे । अहिले ‘सालडाँडा’ नमुना गाउँका रूपमा चिनिएको छ ।

पर्यटक लोभ्याउँदै सालडाँडा

गुरुङ, क्षेत्री र केही परियार, दर्जीलगायतको मिलेको बस्ती । सबै बस्तीका समान ढुंगाको छाना भएका चिटिक्कका घर । घरघरै चर्पी, पानीका धारा र सरसफाइले गर्दा आन्तरिक पर्यटकको रोजाइमा यो गाउँ परेको छ ।

कर्नास–रानीपानी सडकबाट बायाँतर्फ बाच्छाखोलाको किनारैकिनार कच्ची सडक हुँदै करिब ३ किलोमिटरको उकालोपछि पुगिने सालडाँडामा हिजोआज दैनिकजसो पाहुनाको भीड लाग्छ । गाउँको यो परिचय बदलेको हो, स्थानीय सहनशील महिला समूहले । समूहले स्थानीय समुदायमा आधारित खानाका परिकार, सांस्कृतिक झलक, जातीय पहिरनसहितको आतिथ्यता र गाउँको पहिचान दिन थालेपछि हाल बाच्छा पुग्ने जो कोही पनि सालडाँडाको आतिथ्यले लोभिन्छ ।

सातजना महिला मिलेर गठन भएको समूहमा हाल १६ जना छन् । उनीहरूले आफ्नै श्रम र लगानीमा गाउँ आउने पाहुना राख्न ६ लाख रुपैयाँको लागतमा सामूहिक भवन निर्माण गरेका छन् । गत पुसमा निर्माण सम्पन्न भवनमा परेको लगानीमा आधाभन्दा बढी महिला समूहले नै बहोरेको हो ।

तत्कालीन जिविस र गाविसलगायतले पनि सहयोग गरे । भवनमा मात्रै ३० पाहुना बस्न मिल्छ । ‘पहिला कोही आउँदैनथे,’ समूहकी अध्यक्ष सीता केसीले भनिन्, ‘दुई वर्षयता जिल्लाबाट धेरै आइरहनुभएको छ । अहिले बाच्छा आउनेजति सबै यहाँ बस्न आउनुहुन्छ ।’ समूहले बनाएको भवनलाई अब महिलाहरू संग्रहालय बनाउने योजनामा छन् । त्यसका लागि उनीहरूले स्थानीय अगुवा प्रवीण गुरुङलाई आग्रह गरेका छन् । ‘यो क्षेत्रको महिमा बढाउन पनि एउटा संग्रहालय आवश्यक छ,’ गुरुङ भन्छन्, ‘महिला समूह सक्रिय हुनुहुन्छ । भवनको समस्या छैन । अब पुराना सामग्री जुटाएर छिट्टै संग्रहालय बनाउँछौं ।’ गाउँ बाहिर बसोबास गर्ने पूर्वलाहुरेले पनि यहाँ होमस्टे र संग्रहालय बनाउन सहयोग गरेको क्याप्टेन लालबहादुर गुरुङले बताए । दुई दशकदेखि पोखरा बस्दै आएका गुरुङले अघिल्लो वर्ष मात्रै मोटरबाटो, सामुदायिक भवन, विद्यालय र होमस्टेलगायतमा एक लाख रुपैयाँभन्दा बढीको सहयोग गरेका थिए ।

सालडाँडा नजिकैको डुनडाँडा र तल्लो डुनडाँडालाई पनि होमस्टेका रूपमा विकास गर्न बिहादीको वडा १ कार्यालयले अध्ययन गरिरहेको छ । वडा सचिव सुमन गौंडेलका अनुसार अघिल्लो वर्ष नै केही विशेषज्ञ ल्याएर सामाजिक अध्ययन गरिएको थियो । फूलबारीजस्तै मिलेको बस्ती र यहाँका फरक जातिको एकताकै कारण तीनै गाउँमा होमस्टे सम्भव भएको अनुगमन टोलीको निष्कर्ष छ । समुद्री सतहदेखि १३ सयदेखि १५ सय मिटर उचाइको बीचमा पर्ने गाउँमा जेठ–असारको गर्मीमा पनि शीतल हावा चल्छ ।

आँखै अगाडि सलल बगेको कालीगण्डकी र त्यसको सिरेटो, पाङराङ, बाच्छा, रानीपानी र बागलुङको जैमिनी नगरपालिकाको समथर फाँटलगायतका दृश्यले आगन्तुकको मन लोभ्याउँछ । स्थानीय समुदायको आतिथ्यता र स्वस्थ हावापानीका लागि फरक ठाउँ घुम्न खोज्नेलाई सालडाँडा गतिलो गन्तव्य हुन सक्ने कास्कीबाट आएका विनोद घिमिरेले बताए । सालडाँडामा पर्यटकीय केन्द्र बनाउन वडा कार्यालयले आगामी वर्षका लागि बिशेष प्याकेजसहितको योजना बनाएको वडाध्यक्ष हेमनाथ आचार्यले बताए । ‘यो वर्ष सबै नयाँ भइयो, सबै बजेट सडकमै खन्याइयो,’ उनले भने, ‘आगामी वर्ष वडाको पहिलो प्राथमिकतामा पर्यटनलाई राखेका छौं ।’

प्रकाशित : जेष्ठ १३, २०७५ १०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?