कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

‘कार्बन उत्सर्जन घटाऔं’

बागलुङ — विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्राडा जीवराज पोखरेलले कार्बन उत्सर्जन घटाउन साझा अभियान सञ्चालन गर्ने बताएका छन् ।

‘कार्बन उत्सर्जन घटाऔं’

उनले सहरी क्षेत्रमा बिरुवा रोप्ने बानीको विकास गर्ने र ग्रामीण क्षेत्रमा खेतबारीको काठ र दाउरा कुहाएर मल बनाउँदा कार्बन उत्सर्जन घटाउन सकिने बताए । प्रतिष्ठानले स्थानीय विद्यामन्दिर माविको सहकार्यमा सञ्चालन गरेको जलवायु परिवर्तनको असर र न्यूनीकरणको उपाय विषयको अन्तरक्रियामा पोखरेलले कार्बन उत्सर्जन घटाउन सबैको साझा चासो आवश्यक भएकोमा जोड दिए ।

‘साना गल्तीबाट वातावरण विनाशमा ठूलो असर परिरहेको छ, हामीले त्यस्ता कुरा बुझ्न जरुरी छ,’ उनले भने, ‘जलाउने वस्तुलाई कुहाए पनि कार्बन उत्सर्जनमा धेरै कमी आउँछ ।’ बालबालिकाको तहमा यस्ता जानकारी बढाउन सकियो भने दीर्घकालीन समाधान हुने उनले बताए । ग्रामीण क्षेत्रका पानीका मुहान सुक्ने, बाढी पहिरोको प्रकोप, अतिवृष्टि र अनावृष्टिका समस्यासमेत यस्ता गल्तीबाट भएको उनले प्रस्ट पारेका थिए । विकसित मुलुकले उत्सर्जन गरेको कार्बनको असर नेपालमा परेको टिप्पणी भइरहे पनि नेपालले उत्सर्जन घटाएर अन्तर्राष्ट्रिय जगत्बाट फाइदा कमाउन सकिने उनको भनाइ थियो ।

पछिल्लो समय नदी दोहन बढ्नुले वातावरणमा नकारात्मक असर परेकोमा टिप्पणीहरू सुरु भएका छन् । कालीगण्डकी यस्तो समस्याबाट ग्रसित भएको छ । ग्रामीण सडक खन्ने क्रममा जथाभावी डोजरको प्रयोगले पानीका मुहान सुक्ने र चौताराहरू मासिने क्रम बढेको समेत सहभागीको टिप्पणी थियो ।

प्रतिष्ठानले सबै प्रदेश तहमा पुगेर सचेतना अभियान सञ्चालन गर्न विद्यालय तहका बालबालिकालाई तालिम दिने, छलफल र अन्तरक्रिया गर्ने काम गर्दै आएको वरिष्ठ वैज्ञानिक विमला देवकोटाले बताइन् । बागलुङका १२ विद्यालयका बालबालिका माझ उनीहरूले सचेतना अभियान, जलवायु परिवर्तनसम्बन्धी छलफल र हाजिरीजवाफ जस्ता कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रकाशित : जेष्ठ १३, २०७५ १०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?