६ वर्षमा हटाइयो पहिरो

दुई जिल्ला जोड्ने सडक सञ्चालन
प्रतिक्षा काफ्ले

स्याङजा — दुई जिल्ला जोड्ने सडकमा पहिरो गएको ६ वर्षपछि हटाइएको छ । २०६९ सालमा गएको यो पहिरो देशकै ठूला पहिरोअन्तर्गत पर्दथ्यो ।

फोटो: कालिगण्डकी करिडोर जोड्ने स्याङजाको मिर्मीदेखि पाल्पाको रुद्रबेणी सडक लौझा भिरको पहिरो । तस्बिर: प्रतिक्षा काफ्ले/कान्तिपुर ।

कालीगण्डकी गाउँपालिका–२ मा गएको पहिरो नेपाली सेनाले ६ महिना लगाएर हटाएको छ।

पहिरो हटेपछि शुक्रबारदेखि सडक सुचारु भएको छ। कालिगण्डकी करिडोर जोड्ने स्याङजाको मिर्मीदेखि पाल्पाको रुद्रबेणी सडक लौझा भिरको पहिरोको कारण ६ वर्षदेखि स्थानीयलाई आवतजावतमा अवरुद्ध भएको थियो।

पहिरो हटाउने जिम्मा लिएको नेपाली सेनाले ६ महिनाभित्र नै हस्तान्तरण गर्दा स्थानीय हर्षित बनेका छन्। पटक–पटक अन्य ठेकेदारलाई पहिरो हटाउने र सडक निर्माण गर्ने जिम्मा दिएको ६ वर्षसम्म काम हुन नसकेका कारण सरकारले सेनालाई सडक निर्माणको जिम्मा दिएको थियो।

२०७४ कार्तिकबाट सेनाले पहिरो पन्छ्याउने कार्य थालनी गरेको बताएको छ। गत शुक्रबार नेपाली सेनाका प्रधानसेनापति राजेन्द्रबहादुर क्षत्रीले यस सडकको उद्घाटन गरेका हुन्। सडकको उद्घाटन गर्दै उनले जनताको सेवामा नेपाली सेना प्रत्यक्ष रुपमा जोडिएको बताए। उनले उद्घाटन गरेसँगै यस सडक खण्डले निरन्तरता पाएको छ।

पहिरो ६ सय मिटर चौडाई र ९ सय मिटर लम्बाईको थियो। पहिरो हटाएर सडक सुचारु गर्दा करिब ९ करोड ७२ लाख रुपैयाँ खर्च भएको नेपाली सेनाको सडक निर्माण कार्यदलका अवकाश प्राप्त प्रमुख सेनानी रेश्मिराज भट्टराईले जानकारी दिए।
कठिन भौगोलिक अवस्था र कडा चट्टानयुक्त यस ठाउँमा पहिरो नियन्त्रण गर्न बायो–ईन्जिनियरिङ पद्धतिको प्रयोग गरिएको उपसेनानी शालिग्राम नेपालले बताए।

कठिन काम समय भन्दा पनि छिटो सकिएकोमा अनौठो मान्दै कालीगण्डकी गाउँपालिकाका प्रमुख खिम थापाले अकल्पनीय समयमा निर्माण कार्य सम्पन्न गरेको नेपाली सेनाले विकास निर्माणमा जनतालाई अझ सहयोग गर्नुपर्ने बताए। उनले भने, ‘अब विकास निर्माणमा नेपाली सेनाले निरन्तरता दिनुपर्दछ।’

विकास निर्माणको कामको जिम्मा नेपाली सेनालाई दिन सके देशले छिट्टै विकास पाउने उनको भनाई थियो। यसैगरी पूर्व सांसद शंकर पाण्डेले शाह वंशको उद्गम थलो आलमदेवीमा धार्मिक पर्यटनमा यस सडकको महत्वपुर्ण भूमीका रहने उल्लेख गरे।

‘यो सडकखण्ड धार्मिक र पर्यटकीय क्षेत्रको अवलोकन गर्न आउने पर्यटकका लागि बढी प्रयोग हुन्छ’ उनले भने, ‘सडकका कारण तिर्थालुहरु बीच बाटोबाट नै फर्किने गरेका थिए। मिर्मि हुँदै आउन लामो समय लाग्ने हुदाँ पाल्पाबाट आउने जोकोही पनि यो सडक हुँदै छोटो दुरीमा आउन सकिन्छ। यस सडकका कारण यहाँका बासिन्दालाई पनि प्रत्यक्ष रुपमा फाइदा हुन्छ।’

सो सडक सुचारु भएपछि प्रशिद्ध आलमदेवी मन्दिरको दर्शन गर्न जाने धर्मालम्बीहरुलाई सहज भएको छ। छोटो दुरीको रुपमा रहेको यो सडक खण्डमा पाल्पा र स्याङजामा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्र अवलोकनको लागि पर्यटकहरु नियमित आउने गर्दछन्।
पाल्पाको सत्यवति गाउँपालिका र स्याङजाको कालिगण्डकी गाउँपालिकाका जनतालाई प्रत्यक्ष सुविधा पुगेको छ। ६ वर्षको अन्तरालमा सडक सुचारु हुदाँ यहाँका स्थानीय निकै हर्षित भएको बताउँछन्।

स्थानीय मिना पाण्डे भन्छिन्, ‘यस्तो जोखिम पहिरो हटाएर सडक सुचारु होला भन्ने आश समेत थिएन। यो बाटो हिड्दापनि डर लाग्थ्यो। लामो समयपछि गाडी आएकाले होला गाउँ नै उज्यालो भएको छ। अब हामीले धेरै कुरामा सुविधा पाउनेछौँ। ’

६ वर्षपछि गाडी सुचारु हुँदा यहाँका बासिन्दा बस हेर्नको लागि सडकमा नै झुमिएका थिए। फूलमाला लगाएर स्वागत गरेका थिए। यस सडक खण्डको सञ्चालन पश्चात् कालिगण्डकी करिडोरसँग यहाँका सर्वसाधरण प्रत्यक्ष आवतजावतमा जोडिने छन्।

प्रकाशित : जेष्ठ २०, २०७५ १५:४३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

आफैं बनाएर प्याराग्लाइडिङ उडान

भीम घिमिरे, हरिराम उप्रेती

पोखरा/गोरखा — आफैँले प्याराग्लाइडिङ बनाएर गाउँमा उडान गरेका एकबहादुर आलेको भिडियो सामाजिक सञ्जालमा शेयर भइरहँदा पोखरामा पेशेवर पाइलटहरू रमाइलो मानिरहेका छन् । 

फोटो: गोरखाको आरुघाट गाउँपालिका १० का एकबहादुर आले आफैंले बनाएको प्याराग्लाइडर उडाउँदै । तस्बिर सौजन्य : एकबहादुर आले

साहसिक हवाइ खेलमा पर्ने प्याराग्लाइडिङका लागि पाइलटले तालिम लिनैपर्छ । उनीहरूले उडाउने ग्लाइडर पनि उत्पादक कम्पनीले एरोनोटिकल इञ्जिनियरको डिजाइनमा सुरक्षा जाँचपछि मात्रै प्रमाणपत्रका साथ बजारमा पठाउनुपर्छ । बिना कुनै सुरक्षा जाँच, रहरले उडान भरेका आलेको भिडियो लामो समय उडान अभ्यासपछि पनि पाइलटको प्रमाणपत्र नपाएकाहरूबीच चर्चाको विषय भएको हो ।

गोरखाको आरुघाट गाउँपालिका १० आरुचनौटेका ५८ वर्षीय आले अढाइ वर्षअघि भुपु सैनिक सम्मेलनमा भाग लिन पोखरा आएका थिए । आकाशमा उडेका रंगीचंगी प्याराग्लाइडिङ उनलाई औधी मन पर्‍यो । ‘त्यो बेला पाँच हजार खर्च गरेर प्याराग्लाइडिङ चढेँ,’ उनले भने, ‘ल्याण्ड भएपछि हातले लम्बाइ चौडाइ नापेको केही अट्कल त पाइहालियो, फर्किएर आएपछि आफैँ बनाउन सकिन्छ कि जस्तो लागेर काम आटेँ ।’

जागिरबाट अवकासपछि तुल, ब्यानर र साइनबोर्ड लेखेर दिन बिताउँदै आएका उनलाई आफैँ प्याराग्लाइडर बनाउने रहर लाग्यो ।

रहर पुरा गर्न त्यति सहज भने थिएन । ‘रेनकोट बनाउने कपडाको व्यापारीसँग सम्पर्क गर्दा कति महिना त प्याराग्लाइडरको कपडै पाइएन,’ उनले भने, ‘बल्ल बल्ल एकजना व्यापारीले कोरियाबाट सय मिटर ग्लाइडरको कपडा ल्याइदिए ।’ कपडा पाएपछि झण्डै दुई महिना नाइनलको डोरी खोज्न भौतारिनुपरेको उनले बताए ।

‘प्यारासुट डोरी नाइलनको बलियो चाहियो, पसल पसल चहारेँ, डोरी पाइँदैन,’ उनले भने, ‘बल्ल बल्ल एउटा पसलमा डोरी पाएपछि काम सुरु गर्ने निधो गरेँ ।’ क्रमश: सामान जुट्दै गएपछि उनको प्याराग्लाइडर बनाउने रहर पुरा हुने छाँट देखियो । प्याराग्लाइडरमा चाहिने आवश्यक कब्जा र हुकहरु टिनले काटेर उनले आफैँ बनाए ।

‘युट्युब र गुगलमा हेर्दै कसरी बनाउने भन्ने आइडिया लिएँ,’ उनले भने, ‘सामान पनि इन्टरनेटमै के–के चाहिने रैछ भनेर हेरेर खोजेको हुँ ।’ प्याराग्लाइडरसँगै उनले आपतकालिन् झोला पनि बनाएका छन् ।
नयाँ खोजमा समय बिताउन रुचाउने आलेले प्याराग्लाइडर त बनाए तर, पहिलोपटक उडाउने प्रयास भने असफल भयो । ‘पहिलोपल्टको प्याराग्लाइडर त किन हो उडेन,’ उनले भने, ‘मैले हरेस खाइँन । फेरि अर्को बनाउन थालेँ । दोस्रोको त परीक्षण उडान पनि गरिसकेँ ।’ गत असोजमा उनले आरुघाटकै डाँडामा पुगेर पहिलोपल्ट सफल परीक्षण गरेका थिए । आफैंले बनाएको प्याराग्लाइडर चढेर उनी १२/१५ चोटी आकाशमा उडिसकेका छन् ।

उनको भिडियो सामाजिक सञ्जालमा शेयर भएका छन् । उनको प्याराग्लाइडर आठ किलो तौलको छ । ‘अरुले हेली बनाएर उडायो रे भन्ने त सुनेका हुँ,’ उनले भने ‘नेपालीले प्याराग्लाइडर बनायो भन्ने सुनेको छैन ।’

आफैँ प्याराग्लाइडर बनाएर सफल उडान गरेका उनले अनुमति लिनुपर्ने निकायको खोजी भने गरेका छैनन् । ‘पहिलो प्याराग्लाइडर निर्माता म हो की होइन, यो नेपालमै कसैले बनाएको छैन भन्ने मैले बुझेको छु,’ उनले भने, ‘यदि म नै पहिलो व्यक्ति हुँ भने सरकारले एउटा प्रमाणपत्र दिए मात्र पनि अझै हौसला बढ्थ्यो ।’

आफूले बनाएको प्याराग्लाइडरको प्राविधिक जाँच गर्नुपर्ने र कानूनी मान्यता दिनुपर्ने उनको माग छ । ‘आर्थिक लाभ लिने आस छैन,’ उनले भने, ‘नेपालमा पहिलो प्याराग्लाइडर बनाउने एक बहादुर हो भनेर नाम दर्ज होस् ।’

प्याराग्लाइडर बनाउन मात्र तीन लाखभन्दा बढी खर्च लागेको उनले बताए । इजाजत कहाँ गएर लिनुपर्ने भन्ने थाहा नपाएकाले त्यो प्रक्रिया बुझ्न मन भएको उनको भनाइ छ । नेपाली सेनाको सिंहनाथ गणबाट अवकाश पाएको २० वर्षपछि आलेले आफैँ प्याराग्लाइडर बनाएर उडाएपछि उनका गाउँलेहरु पनि छक्क परेका छन् ।

साहसिक खेल प्याराग्लाइडिङलाई व्यवसाय बनाएर पोखरामा सञ्चालित कम्पनी करीब ६५ वटा छन् । उड्न सिकाउने दुईवटा स्कुलले तालिम दिन्छन् । पटक पटक तालिमे र व्यवसायिक पाइलट पनि दुर्घटनामा परेका छन् । ‘हवाइ खेलकुद भनेपनि उडाउने काम रहर गरेर मात्रै थाल्नु उचित मान्न सकिँदैन,’ नेपाल हवाइ खेलकुद संस्थाका महासचिव वसन्त दवाडी भन्छन्, ‘यसरी कसैले आफैँ प्याराग्लाइडर बनाएर उडाएको जानकारी छैन ।’

साहसिक हवाइ खेल भएकाले प्याराग्लाइडर सबै सुरक्षामा निश्चित भएपछि मात्रै इजाजत लिएर उडाउन पाइने उनले बताए । ‘उडाउन उपयोग हुने सामान सबैको सेफ्टी जाँच हुन्छ,’ उनले भने, ‘उडाउनेले पनि तालिम लिनैपर्छ ।’
दुई दशकदेखि पोखरामा उडान गर्दै आएका प्याराग्लाइडिङका पहिलो नेपाली पाइलट राजेश बमजन पनि सुरक्षा प्रबन्ध नभइ उडान गर्नु जोखिम हुने बताउँछन् । ‘रहर र रमाइलोका लागि गरेपनि यो जोखिमको खेल हो,’ उनले भने, ‘मैले पनि आलेको भिडियो सोसल साइटमा हेरेँ । यो बारेमा राम्रैसँग बुझ्नैपर्छ ।’

नेपालमा प्याराग्लाइडिङका लागि उपयोग हुने ग्लाइडर यूरोपेली मुलुक र चीनका कम्पनीका उत्पादन हुने गरेको उनले बताए ।

‘बाहिरबाट ल्याएका सामानमा पनि सुरक्षा जाँचको प्रमाणपत्र हुन्छ,’ उनले भने, ‘उडाउन पनि तालिम लिनैपर्छ ।’ एकजना पूर्वसैनिकको नयाँ काम गर्ने रहर सम्मानयोग्य भएपनि सुरक्षाको उचित प्रबन्ध र सम्बद्ध निकायको अनुमतिसँगै रेखदेखमा गरिनुपर्ने काम भएकाले प्याराग्लाइडर कस्तो छ भन्ने बुझ्नैपर्ने उनको भनाइ छ ।

‘साहसिक हवाइ खेल भएकाले यो खेलाँची गर्नहुने कुरा हुँदै होइन,’ उनले भने, ‘तालिम लिएर पनि पाइलट नै हुने प्रोसेसमा धेरै चरण पार गर्नुपर्छ ।’

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार प्याराग्लइडिङको उडानको इजाजत दुई प्रकारले दिने गरिएको छ । ‘व्यवसायिक हो भने कम्पनी दर्ता गरेर पर्यटन मन्त्रालयबाट इजाजत लिनुपर्छ,’ प्राधिकरणका सूचना अधिकारीसमेत रहेका उपनिर्देशक त्रिलोचन पौडेलले भने, ‘व्यक्तिगत र मनोरञ्जनात्मक हो भने नजिकको विमानस्थल कार्यालयबाट इजाजत लिनुपर्छ ।’

त्यसका आफ्नै प्रक्रिया रहेको उनले बताए । पोखरा विमानस्थलका प्रवक्ता काशीनाथ पौडेल अनुमति नलिइ कसैले पनि उडान गर्नु गैरकानुनी हुने बताउँछन् ।

‘दुईजना उड्ने टेण्डम र एकजना उड्ने सोलो भन्ने दुइ प्रकारको प्याराग्लाइडिङ हुन्छ,’ उनले भने, ‘उडाउन चाहनेले ट्रेनिङ स्कुलबाट प्रमाणपत्र लिएकै हुनुपर्छ, अनि कुनै कम्पनीमा आबद्ध भएर पनि बिमाका प्रक्रिया पुरा गरेपछि मात्रै उडाउन पाइन्छ ।’

उडानका क्रममा हुनसक्ने दुर्घटनालाई ध्यानमा राख्दै सरकारले निर्धारण गरेको मापदण्ड र प्रक्रिया नपुर्‍याइ प्याराग्लाइडिङ गर्न नहुने उनले बताए ।

प्रकाशित : जेष्ठ २०, २०७५ १५:२२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT