कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

६ वर्षमा हटाइयो पहिरो

दुई जिल्ला जोड्ने सडक सञ्चालन
प्रतिक्षा काफ्ले

स्याङजा — दुई जिल्ला जोड्ने सडकमा पहिरो गएको ६ वर्षपछि हटाइएको छ । २०६९ सालमा गएको यो पहिरो देशकै ठूला पहिरोअन्तर्गत पर्दथ्यो ।

६ वर्षमा हटाइयो पहिरो

कालीगण्डकी गाउँपालिका–२ मा गएको पहिरो नेपाली सेनाले ६ महिना लगाएर हटाएको छ ।

पहिरो हटेपछि शुक्रबारदेखि सडक सुचारु भएको छ । कालिगण्डकी करिडोर जोड्ने स्याङजाको मिर्मीदेखि पाल्पाको रुद्रबेणी सडक लौझा भिरको पहिरोको कारण ६ वर्षदेखि स्थानीयलाई आवतजावतमा अवरुद्ध भएको थियो ।


पहिरो हटाउने जिम्मा लिएको नेपाली सेनाले ६ महिनाभित्र नै हस्तान्तरण गर्दा स्थानीय हर्षित बनेका छन् । पटक–पटक अन्य ठेकेदारलाई पहिरो हटाउने र सडक निर्माण गर्ने जिम्मा दिएको ६ वर्षसम्म काम हुन नसकेका कारण सरकारले सेनालाई सडक निर्माणको जिम्मा दिएको थियो ।


२०७४ कार्तिकबाट सेनाले पहिरो पन्छ्याउने कार्य थालनी गरेको बताएको छ । गत शुक्रबार नेपाली सेनाका प्रधानसेनापति राजेन्द्रबहादुर क्षत्रीले यस सडकको उद्घाटन गरेका हुन् । सडकको उद्घाटन गर्दै उनले जनताको सेवामा नेपाली सेना प्रत्यक्ष रुपमा जोडिएको बताए । उनले उद्घाटन गरेसँगै यस सडक खण्डले निरन्तरता पाएको छ ।


पहिरो ६ सय मिटर चौडाई र ९ सय मिटर लम्बाईको थियो । पहिरो हटाएर सडक सुचारु गर्दा करिब ९ करोड ७२ लाख रुपैयाँ खर्च भएको नेपाली सेनाको सडक निर्माण कार्यदलका अवकाश प्राप्त प्रमुख सेनानी रेश्मिराज भट्टराईले जानकारी दिए ।

कठिन भौगोलिक अवस्था र कडा चट्टानयुक्त यस ठाउँमा पहिरो नियन्त्रण गर्न बायो–ईन्जिनियरिङ पद्धतिको प्रयोग गरिएको उपसेनानी शालिग्राम नेपालले बताए ।


कठिन काम समय भन्दा पनि छिटो सकिएकोमा अनौठो मान्दै कालीगण्डकी गाउँपालिकाका प्रमुख खिम थापाले अकल्पनीय समयमा निर्माण कार्य सम्पन्न गरेको नेपाली सेनाले विकास निर्माणमा जनतालाई अझ सहयोग गर्नुपर्ने बताए । उनले भने, ‘अब विकास निर्माणमा नेपाली सेनाले निरन्तरता दिनुपर्दछ ।’

विकास निर्माणको कामको जिम्मा नेपाली सेनालाई दिन सके देशले छिट्टै विकास पाउने उनको भनाई थियो । यसैगरी पूर्व सांसद शंकर पाण्डेले शाह वंशको उद्गम थलो आलमदेवीमा धार्मिक पर्यटनमा यस सडकको महत्वपुर्ण भूमीका रहने उल्लेख गरे ।


‘यो सडकखण्ड धार्मिक र पर्यटकीय क्षेत्रको अवलोकन गर्न आउने पर्यटकका लागि बढी प्रयोग हुन्छ’ उनले भने, ‘सडकका कारण तिर्थालुहरु बीच बाटोबाट नै फर्किने गरेका थिए । मिर्मि हुँदै आउन लामो समय लाग्ने हुदाँ पाल्पाबाट आउने जोकोही पनि यो सडक हुँदै छोटो दुरीमा आउन सकिन्छ । यस सडकका कारण यहाँका बासिन्दालाई पनि प्रत्यक्ष रुपमा फाइदा हुन्छ ।’


सो सडक सुचारु भएपछि प्रशिद्ध आलमदेवी मन्दिरको दर्शन गर्न जाने धर्मालम्बीहरुलाई सहज भएको छ । छोटो दुरीको रुपमा रहेको यो सडक खण्डमा पाल्पा र स्याङजामा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्र अवलोकनको लागि पर्यटकहरु नियमित आउने गर्दछन् ।

पाल्पाको सत्यवति गाउँपालिका र स्याङजाको कालिगण्डकी गाउँपालिकाका जनतालाई प्रत्यक्ष सुविधा पुगेको छ । ६ वर्षको अन्तरालमा सडक सुचारु हुदाँ यहाँका स्थानीय निकै हर्षित भएको बताउँछन् ।

स्थानीय मिना पाण्डे भन्छिन्, ‘यस्तो जोखिम पहिरो हटाएर सडक सुचारु होला भन्ने आश समेत थिएन । यो बाटो हिड्दापनि डर लाग्थ्यो । लामो समयपछि गाडी आएकाले होला गाउँ नै उज्यालो भएको छ । अब हामीले धेरै कुरामा सुविधा पाउनेछौँ । ’

६ वर्षपछि गाडी सुचारु हुँदा यहाँका बासिन्दा बस हेर्नको लागि सडकमा नै झुमिएका थिए । फूलमाला लगाएर स्वागत गरेका थिए । यस सडक खण्डको सञ्चालन पश्चात् कालिगण्डकी करिडोरसँग यहाँका सर्वसाधरण प्रत्यक्ष आवतजावतमा जोडिने छन् ।

प्रकाशित : जेष्ठ २०, २०७५ १५:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?