कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

मोटरबाटोले खोस्यो कपुरगाउँको रौनक

सामान किन्नेको लर्को लाग्ने गाउँ हाल सुनसान
आश गुरुङ

लमजुङ — बेंसीसहरका भरत रावलले कपुरगाउँमा २१ वर्ष गरेको व्यवसाय छाडेर बेंसीसहर गए । कपुरगाउँमा हुँदा किराना, फेन्सी, हार्डवेयर पसल सञ्चालन गरेका उनले हाइस्कुलचोकमा किराना पसल चलाएका छन् ।

मोटरबाटोले खोस्यो कपुरगाउँको रौनक

कपुरगाउँमै बसेर ११ वर्ष किराना तथा फेन्सी पसल चलाएका रम्घाका राजकृष्ण श्रेष्ठ पनि ७ वर्षअघि बेंसीसहर झरे । पहिले किराना तथा फेन्सी व्यवसाय चलाएर बसेका उनी हाल त्रिवेणीटोलमा फेन्सी मात्रै चलाएर बसेका छन् । मोटरबाटो विस्तारसँगै अन्त व्यावसायिक चहलपहल बढेपछि कपुरगाउँ छाड्ने रावल र श्रेष्ठ मात्रै होइनन्, थुप्रै छन् ।


कुनै बेला गाउँमा नाम चलेका व्यवसायी हाल सहरमा सानोतिनो व्यवसाय चलाउँदै आएका छन् । सामान किन्नेको लर्को लाग्ने कपुरगाउँ हाल सुनसानजस्तै छ । पहिले खाना खानसमेत नभ्याउने गरी व्यापार व्यवसाय चलाएका स्थानीय अहिले फुर्सतिला छन् ।


रावलका अनुसार क्व्होलासोंथर गाउँपालिका १ मा पर्ने साबिकको बागलुङपानी ६ कपुरगाउँ उक्त भेगको ठूलो व्यापारिक केन्द्र थियो । सिङदी, पसगाउँ, भोंजे, घाम्राङ, भुजुङ, घनपोखरा, नायु, घलेगाउँ, बगुम, मालिङलगायत करिब दुई दर्जन गाउँका बासिन्दा खाद्यान्न तथा निर्माण सामग्री कपुरगाउँबाट खरिद गरेर लान्थे । सामान ओसार्न खच्चडको प्रयोग हुन्थ्यो । जब, बेंसीसहर–भुजुङ हरित सडकको निर्माणकार्य सुरु भएर कपुरगाउँ हुँदै गाउँगाउँ सडक पुग्यो तब व्यवसाय सुक्दै गरेको उनले बताए । उक्त बाटोमा हाल खच्चड हिँड्न छाडेको छ ।


घलेगाउँसम्म सवारी गुड्न थालेको २ वर्षपछि श्रेष्ठ बेंसीसहर झरेका हुन् । ‘बर्खायामबाहेक अन्य समय मान्छे हूलका हूल हुन्थे । दसैं–तिहारताका मेला लागेझैं हुन्थ्यो’ उनले भने, ‘जब गाउँगाउँमा मोटर पुग्न थाल्यो, त्यसपछि व्यवसाय शून्यमा झर्‍यो ।’


स्थानीयका अनुसार कुनै समय गाउँबाट झर्ने र गाउँ जानेको ‘जक्सन’ थियो कपुरगाउँ । करिब साढे २ दशकयता होटल व्यवसाय सञ्चालन गर्दै आएका दीर्घमान गुरुङका अनुसार गाउँबाट सहर झर्दै गरेका र सहरबाट गाउँ उक्लँदै गरेकाहरूको खाना खान निकै भीड लाग्थ्यो । पेन्सन लिन जाँदा र आउँदा होटलमा मानिस अट्ने थिएनन् । मानिसको भीड बढेर उनले लज पनि सञ्चालन गरेका थिए । उनले भने, ‘अहिले महिनाको एकजना पनि खाना खाने भनेर आउँदैन ।’ गाउँगाउँमा बस तथा जिप पुगेपछि बेंसीसहरबाट सीधै गाउँ जाने भएकाले व्यवसाय शून्य भएको उनले बताए ।


अर्का होटल व्यवसायी गंगाबहादुर गुरुङको दिनचर्या पनि उस्तै छ । उनको एक दशकअघि मासिक ५०/६० हजार रुपैयाँ आम्दानी थियो । हिजोआज महिनामा ५ हजार रुपैयाँ पुर्‍याउन पनि धौ–धौ परेको उनी बताउँछन् ।


स्थानीयका अनुसार घलेगाउँसम्मको करिब २४ किलोमिटरमा २०६६ सालदेखि गाडी गुड्न थालेको हो ।

प्रकाशित : जेष्ठ २५, २०७५ १२:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?