कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

मध्यपहाडी लोकमार्ग: चेपेनदी–पाउँदीखण्ड कालोपत्रे

आश गुरुङ

लमजुङ — पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत लमजुङमा पर्ने चेपेनदी–पाउँदीखण्ड कालोपत्रे सुरु भएको छ । मस्र्याङ्दी पुलको वारिपारि तार्कुघाट र पाउँदीमा कालोपत्रे गर्न थालिएको हो । यो सडकखण्ड लमजुङतर्फ साढे ९ किलोमिटर र गोरखातर्फ चेपेनदीदेखि ठाँटीपोखरीसम्म साढे ६ किमि पर्छ ।

मध्यपहाडी लोकमार्ग: चेपेनदी–पाउँदीखण्ड कालोपत्रे

यो खण्ड ७ मिटर चौडाइ र घुम्तीतिर ८ मिटर हुने गरी कालोपत्रे सुरु गरिएको हो । कालोपत्रे सुरु गरिएको खण्ड तार्कुघाट राइनास नगरपालिका र पाउँदी सुन्दरबजार नगरपालिकामा पर्छ । मध्यपहाडी लोकमार्ग आयोजना पश्चिम खण्ड लमजुङ क्षेत्रका इन्जिनियर सन्तोष थापाका अनुसार शुक्रबारदेखि कालोपत्रे गर्न थालिएको हो । ‘बेस हालिसकेपछि प्राइमकोर्ट राखिएको छ, बिटुमिन राखेर पहिलो लेयरको काम भइरहेको छ,’ उनले भने, ‘त्यसपछि दोस्रो लेयरको काम हुन्छ, अनि सडक पिच हुन्छ ।’ पिचको काम ५० प्रतिशत सकिएको उनले बताए । ‘यही वर्षको चैतसम्म सक्ने म्याद हो,’ उनले भने, ‘हामी म्यादभित्रै काम सक्छौं ।’ २०७२ फागुनदेखि निर्माण कार्य सुरु भएको उक्त १६ किमि सडकखण्ड ३५ करोड रुपैयाँमा वज्रगुरु द कञ्चनजंघा–शंकरमाली जेभीले ठेक्का लिएको हो । निर्माण कम्पनीका प्रतिनिधि सबइन्जिनियर नेत्र श्रेष्ठका अनुसार कामका लागि मौसमले साथ दिइरहेको छैन । ‘वैशाखभरि पानी परेर काम गर्न पाएनौं । अहिले पनि पानीले डिस्टर्ब गरिरहेको छ,’ उनले भने, ‘सडकको ‘ग्रेड कटिङ’ गर्ने, फराकिलो बनाउने, टेवा पर्खाल लगाउने, स्ल्याब कल्भर्ट, पाइप कल्भर्ट राख्ने काम सकियो ।’

लमजुङमा मात्रै मध्यपहाडी लोकमार्गलाई चार खण्डमा छुट्याएर थालिएको काम तीन खण्डमा मात्रै भइरहेको छ । एउटा खण्डमा काम हुन सकेको छैन । हाल कालोपत्रे थालिएको पाउँदीदेखि सुन्दरबजारसम्मको ८ किमि मध्ये भोर्लेटारमा विवाद छ । सडक बस्तीबाटै लाने वा बाहिरी क्षेत्रबाट लाने भन्ने विषयमा विवाद रहेको हो ।

पाँचथरको चियोभञ्ज्याङदेखि बैतडीको झुलाघाटसम्मको करिब १ हजार ७ सय ८७ किमिमध्ये लमजुङमा मात्रै ९ किमिमा विवाद रहेको आयोजनाले जनाएको छ ।

गोरखाको पालुङटार–ठाँटीपोखरी हुँदै ओख्लेपानी–चेपेनदी तरेर लमजुङको धमिलिकुवा–गरमबेंसी पुग्ने उक्त लोकमार्ग पाउँदी, सुन्दरबजार, किरिञ्चे, थानसिङ, रातामाटा, पिस्तीखोला, भोर्लेटार, रामबजार भएर रुदी र मादीको सीमा कास्की पुग्छ । करिब ४१ किलोमिटरको उक्त लोकमार्गको साढे ९ किमि चेपेनदी–पाउँदी खण्डको धमिलिकुवा–गरमबेंसी, १६.२ किमि किरिञ्चे–रातामाटा खण्डको बीच भाग र ७ किमि रातामाटा–भोर्लेटार–रामबजार खण्डको रातामाटा खण्डमा काम भइरहेको छ । ८ किमि पाउँदी–किरिञ्चेसम्मको ठेक्का हुन सकेको छैन ।

प्रकाशित : जेष्ठ २८, २०७५ १०:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?