कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ढोरपाटन–सालझन्डी खण्डमा सास्ती

प्रकाश बराल

बागलुङ — ढोरपाटनका चन्द्रसिंह कुमाईको बारीमा आलु खन्ने बेला भएको छ । २ सय मुरी आलु फलाउने उनलाई सडक असुविधाले बजार पुर्‍याउन सास्ती छ । यहाँका २ हजारभन्दा बढी किसानको जीविका आलु बेचेरै चल्छ । तर, सडक अभावमा ढुवानीमा धेरै खर्च हुने गरेको छ ।

ढोरपाटन–सालझन्डी खण्डमा सास्ती

पिठ्युँमा बोकेर बुर्तिबाङ झार्न निकै सकस हुन्छ । हिउँदमा जिप चढेर पुगिने ढोरपाटन जेठको दोस्रो सातादेखि नै चिप्लो र हिलो भइसकेको छ । ‘यहाँको आलु असारमा मात्र खन्ने बेला हुन्छ, त्यही समयमा बाटोमा गाडी चल्दैनन्,’ आलुको व्यावसायिक खेती गरेका धनप्रसाद अदैले भने, ‘वर्षातमा ट्रयाक्टर पनि फँसेर ढुवानीमा हैरानी खेपेका छौं ।’ राष्ट्रिय गौरवको आयोजनामध्येको ढोरपाटन–सालझन्डी खण्डको ट्रयाक खुले पनि स्तरोन्नति हुन सकेको छैन ।

ढोरपाटन घुम्न जानेलाई पनि यो बाटो नबनेकोमा चिन्ता छ । बोबाङ, फलेघर र रुद्रताल क्षेत्रमा बाटो चिप्लो र जोखिमको छ । साँघुरो ट्रयाक, उकालो र चिप्लोले धेरै गाडी दुर्घटनामा परेको सवारीचालक मीनबहादुर पुन बताउँछन् । ‘पानी परेपछि ढोरपाटन जाने हिम्मत नगरे हुन्छ,’ उनले भने, ‘जोखिम मोल्नुभन्दा हिँड्न सल्लाह दिन्छु ।’ हिउँदमा बढी चिसो हुने भएकाले बर्खामा ढोर घुम्न जाने धेरै हुन्छन् । जनैपूर्णिमाताका ढोरबराह मन्दिरमा साताव्यापी मेला लाग्छ । यो बेला आउजाउ गर्नेले सजिलै गाडी पाउँदैनन् । बुर्तिबाङदेखि पैदल हिँड्नुपर्दा धेरैले चाहेर पनि जान सक्दैनन् । ‘समय मिलाएर घुम्न जाऔं भनेको, बाटो देखेर दिक्क भइयो,’ गलकोटका नारायण पौडेलले भने, ‘हिँड्नैपर्‍यो भने त दु:ख पाइने भयो ।’

बिदाको समयमा घुम्ने चाहना राख्नेले हिँडनुपर्दा बुर्तिबाङदेखि जान एक दिन र फर्कन एक दिनको समय खर्चनुपर्छ । ढोरपाटन–सालझन्डी सडक आयोजना प्रमुख होमबहादुर केसीले आगामी वर्ष स्तरोन्नति हुने बताए । ‘हामीसँग ३ वर्षदेखि बजेट घटदो दरमा छ । त्यसैले सोचेजति काम गर्न सकेका छैनौं,’ उनले भने, ‘तत्काल खुलेको ट्रयाक फराकिलो बनाउने र नाली काट्ने भनेका छौं ।’ हाल खुलेको ट्रयाकमध्ये बागलुङ खण्डको ४० किमि बढी जोखिमको छ । दर्लिङ, देवीस्थान र बुर्तिबाङ हुँदै ढोरपाटन पुग्ने सडक जोखिमको भएको उनले बताए । ट्रयाक खोल्ने पहिलो वर्ष २५ करोड बजेट परेकोमा चालु वर्ष २२ करोड र आगामी वर्षलाई १८ करोड रुपैयाँ मात्र विनियोजन भएको छ । उक्त रकममध्ये आगामी वर्षका लागि बुर्तिबाङदेखि ढोरपाटनको ३० किमिलाई केन्द्रित गर्ने उनले बताए ।

चालु वर्ष यो खण्ड स्तरोन्नति गर्न डीपीआरका लागि परामर्शदाता नियुक्त भइसकेकाले आगामी वर्ष काममा केन्द्रित हुने उनले बताए । घुम्तीहरू फराकिलो बनाउने काम भने बर्खामा पनि नरोकिने उनको दाबी छ । ढोरपाटन नगरप्रमुख देवकुमार नेपालीले आयोजना प्रमुखलाई बोलाएर काममा तीव्रता दिन आग्रह गरेको बताएका छन् ।

प्रकाशित : जेष्ठ २९, २०७५ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?