कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

दर्जनौं योजना अलपत्र

ठेक्का सम्झौता हुन्छ, काम हुँदैन
प्रतीक्षा काफ्ले

स्याङ्जा — चापाकोट नगरपालिकालाई पाल्पाको रामपुर नगरपालिकासँग जोड्ने २ मोटरेबल पुल निर्माण सुरु भएर अलपत्र परेको ५ वर्ष भयो । निर्माण सम्झौताको मिति गुज्रँदा पनि १० प्रतिशतभन्दा बढी काम भएको छैन ।

दर्जनौं योजना अलपत्र

पुल बने स्थानीयलाई आवतजावतमा सुविधा हुने थियो । माटो परीक्षणको बहानामा निर्माण ठप्प छ । सडक डिभिजन कार्यालय पाल्पाको प्रत्यक्ष रेखदेखमा निर्माण थालिएको थियो । निर्दिममा निर्माणाधीन पुलले कालीगण्डकी कोरिडोर जोड्छ । यसैगरी मिर्मी–रुद्रवेणी खण्डमा पर्ने रुद्रवेणी कालीगण्डकीको पुलको निर्माण ७ वर्षदेखि अलपत्र छ । स्याङ्जा र गुल्मी जोड्ने पुल निर्माण बाढीलाई कारण देखाउँदै अलपत्र पारिएको हो ।

जिल्लामा ठेक्का लागेर निर्माण सुरु गरेजस्तो गर्दै त्यसै अलपत्र पारिएका योजना दर्जनौं छन् । केहीमा सरकारले कडाइ गर्ने संकेत पाएपछि ठेकेदारले काम थालेका छन्, केहीमा राजनीतिक पहुँच भएकाले कारबाही नहुनेमा ठेकेदार ढुक्क छन् । उनीहरू प्रशासनको सम्पर्कमा छैनन् । ठेक्का लगाउने विषयगत कार्यालयले नियमनमा कडाइ गर्न नसक्दा भएका लापरबाहीको पनि प्रशासनले प्रहरीमार्फत खोजी गरिरहेको छ ।

अर्जुनचौपारी–लुंखुदेउराली खण्डको पिच गर्ने जिम्मा लिएका ठेकेदारले पनि लामो समयसम्म काम थालेकै छैनन् । बयरघारी बजारदेखि ढापुक फेदीसम्म जोड्ने सडक र बयरघारी ९९ चोकदेखि सिसौघारी सडक मर्मत ठेक्का लागे पनि काम सुरु भएको छैन । बयरघारी ९९ चोकदेखि पर्वत हातेमालो चोक जाने बाटो २८ करोडको ठेक्काको हो । ठेकेदारले १७ करोडमा काम सकिएको बताएको छ तर प्रगति भने लगानीअनुसार सुविधाजनक नभएको स्थानीयको भनाइ छ । गत वर्ष शिलान्यास भएको उक्त सडकको निर्माण गर्ने बहानामा आँधीखोलाबाट गिट्टी, बालुवा निकालेर अन्यत्र बिक्री गरेको आरोप ठेकेदारलाई लागेको छ । हाल उक्त सडकका ठेकेदारलाई नदीको गिट्टी, बालुवा निकाल्न मनाही गरिएको छ ।

गत वर्ष निर्माण सम्पन्न गरी हस्तान्तरण गर्नुपर्ने स्याङ्जा बहुमुखी क्याम्पसको भवन अझै अलपत्र छ । भवन निर्माणका ठेकेदार अर्जुन कार्की प्रहरी प्रशासनको नजरमा परेका छैनन् । पुतलीखेत–आरुचौर खण्ड पिच गर्ने ठेक्काको सम्झौताको म्याद गत वैशाख अन्तिम सातासम्मको थियो । काम पूरा भएकै छैन । रत्नेखोला पुल निर्माणको ठेक्काको म्याद सकिएको ३ वर्ष पुग्यो । कामको प्रगति ५० प्रतिशत पनि छैन । विकास निर्माणका विभिन्न योजना ठेक्का लिएर काम नगरेका निर्माण कम्पनी र ठेकेदारको सूची गृह मन्त्रालयमा पठाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सुरेन्द्र ढकालको अप्सरा कन्स्ट्रक्सन, सुरेन्द्र बस्नेतको जस्ट इन टाइम कन्स्ट्रक्सन, वीरेन्द्र खड्काको ओयसिस इन्जिनियर्स प्रालि, विष्णु शर्माको हिम्दुङ नाना ब्रदर्स जेभी, राकेश अग्रवाल र कृष्णहरि चौलागाईंको नाम काम नगर्नेको सूचीमा राखी मन्त्रालय पठाइएको हो । यस्तै गरी थप २ ठेकेदार जय ओम कमल निर्माण सेवा र श्री आशिष नयाँ बाटो फेवा जेभीको नाम पनि पठाइएको छ ।

जय ओमका ठेकेदार टोकबहादुर गुरुङ हुन् । २०७४ साउन ३१ मा रत्नेखोला मोटरेबल पुलको निर्माण सम्पन्न गर्ने उनले ठेक्का सम्झौता गरेका थिए । राजेन्द्र पहाडीको आशिष नयाँ बाटो फेवा जेभीले गत वैशाखमा स्तरोन्नतिको काम सम्पन्न गर्ने गरी पुतलीखेत–आरुचौर सडकको ठेक्का लिएको थियो । उक्त सडकमा कामको प्रगति १५ प्रतिशत पनि नपाइएको प्रशासनले जनाएको छ ।

कामु प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले ठेक्का सम्झौता भएका कामको मूल्यांकनसँगै कारबाही प्रक्रिया अगाडि बढ्ने बताए । ‘८ ठेकेदारमध्ये ३ जना मात्र हाम्रो सम्पर्कमा आएका छन् । अरूले हाम्रो फोनको रेस्पोन्स गरेनन्,’ जिल्ला प्रहरी प्रमुख जयराज सापकोटाले भने, ‘यस्ता ठेकेदारलाई हामी कारबाहीको दायरामा ल्याउँछौं । हामीलाई गृह मन्त्रालयले पनि ताकेता गरेको छ ।’

प्रकाशित : जेष्ठ २९, २०७५ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?