कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

पूर्वाधार नहुँदा गुणस्तरको चुनौती

हरिराम उप्रेती

गोरखा — नयाँ शैक्षिक सत्र सुरु भएसँगै पालुङटार नगरपालिका ५ ठूलोबेंसीको धर्मावती प्रावि ५४ विद्यार्थीसहित नजिकै ठाँटीपोखरीको भवानी माविमा गाभियो । भवानीमा गाभिनेमा धर्मावतीसहित आसपासका चारवटा सामुदायिक विद्यालय छन् ।

पूर्वाधार नहुँदा गुणस्तरको चुनौती

निजी विद्यालयका विद्यार्थी पनि भवानीले तानिदिएको छ । विद्यार्थी संख्या बढेसँगै रुग्ण पूर्वाधारमा शैक्षिक गुणस्तर वृद्धि गर्न शिक्षक र विद्यालय व्यवस्थापन समितिका लागि चुनौती भएको छ ।

धर्मावतीका सरकारी दरबन्दीका ४ र निजी स्रोतका १ शिक्षक अब भवानीमै पढाउँछन् । त्यस्तै ठाँटीपोखरीको चारकुनेस्थित चम्पावती प्रावि पनि २५ विद्यार्थी लिएर भवानीमै गाभिएको छ । गत वर्षदेखि सिउँडेनी र ज्ञानज्योति प्राविका शिक्षकलाई पनि भवानी माविमा व्यवस्थापन गरिएको छ ।
चालु वर्ष यहाँ १ सय ३० जना नयाँ विद्यार्थी भर्ना भए ।

‘२ कक्षासम्म अंग्रेजी माध्यममा पढाउन थाल्यौं,’ प्रधानाध्यापक ओजराज गिरीले भने, ‘यही कारणले पनि बोर्डिङमा जाने विद्यार्थी यता भर्ना भए । अब हामीलाई पर्याप्त पूर्वाधार नहुनुले शैक्षिक गुणस्तरमा प्रभाव पार्छ कि भन्ने चिन्ता छ ।’ शैक्षिक गुणस्तर सुधारका लागि वर्षैपिच्छे एक कक्षा बढाएर अंग्रेजी माध्ययमा पढाउने योजना बनाइएको उनले बताए । ‘नेपाली र अंग्रेजी जुन पढ्न मन लाग्छ स्वेच्छिक तवरले पढ्ने व्यवस्था पनि मिलाउने छलफल भइरहेको छ,’ उनले भने । कक्षा २ सम्मका विद्यार्थीलाई दिवा खाजाको व्यवस्था छ । ‘टाढा जस्तो लागेको ठाउँमा विद्यार्थीलाई लक्षित गरेर यस वर्षदेखि बस सेवा उपलब्ध गराएका छौं,’ उनले भने ।

ठाँटीपोखरीदेखि हवाई ग्राउन्डसम्मका विद्यार्थीलाई बस सेवा उपलब्ध गराइएको हो । दूरीका आधारमा मासिक ३ सयदेखि ४ सय ५० रुपैयाँसम्म तिरेर विद्यार्थीले बस सेवा पाएका छन् । पालुङटार नगरपालिकाको पहलमा बस ल्याएर सञ्चालन गरिएको प्रअ गिरीले बताए । ‘सम्भवत: जिल्लाभरका सामुदायिक विद्यालयमध्ये बसबाट विद्यार्थी ल्याउने हाम्रो विद्यालय पहिलो हो,’ उनले भने । करिब ९० विद्यार्थीले बस सेवा लिएका छन् ।

विद्यार्थी संख्या खचाखच भए पनि भवानीमा पठनपाठनका लागि पर्याप्त भवन छैन । विद्यार्थीको चापसँगै ६ देखि १२ सम्म सेक्सन छुट्याइएको छ । ९ कक्षामा ३ र अरू सबै कक्षामा २/२ सेक्सन छन् । ‘भवन अभावमा ७ वटा कक्षा टहराबाट चलाइरहेका छौं,’ प्रधानाध्यापक गिरीले भने, ‘स्कुल सबैले राम्रो भनेकाले गुणस्तर कायम गरेर लैजान कम्ती चुनौती छैनन् ।’

२०७२ वैशाख १२ को भूकम्पले विद्यालयको पुरानो भवन भत्काएको थियो । तीन करोड रुपैयाँको लागतमा हिमानी ट्रस्टले ८ कोठे भवन निर्माण गरिदिएको छ । हिमानी शाहले शिलान्यास गरेर निर्माण सुरु भएको एक वर्षमै निर्माण सकिए पनि अझै विधिवत् हस्तान्तरण भइसकेको
छैन । ‘हस्तान्तरण भए पनि त्यो भवनमा मात्र विद्यार्थी अटदैनन्,’ प्रअ गिरीले भने ।

प्रकाशित : जेष्ठ ३०, २०७५ ११:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?