कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रेमिटेन्सको महँगो मूल्य

महिनामा एउटा शव आउँदै
घनश्याम खडका

म्याग्दी — धन कमाउन कतार र मलेसिया पुगेका तीन भाई छोराको शव बाकसमा फर्केपछि धनबहादुर र लीलावती रोका सहाराविहीन भएका छन् ।मालिका गाउँपालिका २ रुमवेलीका ७० र ६५ वर्षका यी दम्पतीका छोरा जेठा तमबहादुर, माइला भक्तबहादुर र कान्छा धर्मलालको परदेसमा मृत्यु भएको हो ।

रेमिटेन्सको महँगो मूल्य

२०६४ मा माइला भक्तबहादुरको कतारमा मृत्यु भएको थियो । त्यसको १८ महिनापछि मलेसियामा जेठा छोरा तमबहादुरको मृत्यु भयो । मलेसिया पुगेका कान्छा धर्मलाल गत चैत १० मा मलेसियामा सुरक्षा ड्युटीका क्रममा मृत फेला परेका थिए ।

त्यसैगरी, मालिका रुमका बुद्धिबहादुर परियार पनि २०७४ चैत १२ मा मलेसियामा दिवंगत भए । धन कमाउन मलेसियामा पुगेका उनी ड्युटीबाट फर्केर सुतेको सुत्यै शव भएर काठको बाकसमा घर फर्किए । घरमा उनका वृद्ध आमाबाबु, श्रीमती र नाबालिका छोरी छन् । ५ वर्षदेखि मलेसियामा कार्यरत रहे पनि पर्याप्त कमाउन नसकेका परियारको शव नेपाल ल्याउन मोना मलेसियाले र काठमाडौंदेखि घरसम्म पुर्‍याउने तथा किरियाखर्चको व्यवस्था मालिका गाउँपालिकाले गरेको थियो । ‘त्यही दिन ड्युटीबाट फर्केपछि राति ९ बजेतिर फोन गरेर दसैंमा आउँछु, सुटकेस बोक्न तिमी तल दरबाङसम्म आउनुपर्छ भन्नुभएको थियो,’ श्रीमती पवित्रा परियारले भन्छिन्, ‘आफ्नोभन्दा रोगी सासूससुरा र छोरी पाल्ने चिन्ताले सताएको छ ।’

सात वर्षदेखि कतारमा कार्यरत बेनी ९ घतानका चित्रबहादुर खत्री गत वैशाख २५ मा सडक दुर्घटनामा परे । पैदल हिँडेका बेला गाडीले ठक्कर दिएपछि गम्भीर घाइते भएका उनको स्थानीय अस्पतालमा उपचारका क्रममा मृत्यु भयो । म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतारले सहयोग गरेपछि उनको शव बाकसमा नेपाल आइपुग्यो । खत्रीको घरमा श्रीमती र छोराछोरी छन् ।

धन कमाउन विदेशी भूमिमा पुग्ने पुरुष मात्र होइन, महिला पनि उत्तिकै छन् । विदेशबाट महिलाको पनि शव काठका बाकसमा घर फर्किएका घटना छन् । ६ वर्षदेखि हङकङमा कार्यरत मंगला गाउँपालिका २ सल्यानकी २५ वर्षीया गीता बोहरा क्षत्रीको जेठ ११ मा मृत्यु भयो । उनी एक वर्षदेखि स्तन क्यान्सरबाट पीडित थिइन् । दुई साताअघि घतानको अर्मन छिस्वाङका थमबहादुर थापाको दक्षिण कोरियामा मृत्यु भयो । गत वैशाखयता हालसम्म प्रवासमा रहेका चारजना म्याग्देलीको मृत्यु भएको छ ।

गत साउन महिनायता साबिक देवीस्थान ८ का लालीप्रसाद पुनको साउदीमा, मराङ ८ का दलमन रोकाको दुबईमा, भगवतीका शिवकुमार कार्कीको दक्षिण कोरियामा, घार ४ का दिलबहादुर पुन र घतानका सुरवीर दर्जीको पनि साउदी अरबमा मृत्यु भएको थियो । जिल्ला प्रशासन कार्यालयबाट विदेशमा मृत्यु भएका व्यक्ति तथा परिवारको क्षतिपूर्ति रकम लिनेको विवरणअनुसार चालु आर्थिक वर्षको १० महिनामा १० जनाको विदेशमा मृत्यु भएको छ ।

‘परराष्ट्र मन्त्रालयमार्फत मृतक कार्यरत कम्पनीमा बाँकी रहेको तलब र अन्य सुविधा मात्र प्रशासनमा अभिलेख रहन्छ । बिमा रकम र कम्पनीबाट कुनै रकम नपाउने व्यक्तिको अभिलेख हुँदैन,’ जिल्ला प्रशासनका लेखापाल विष्णुप्रसाद शर्माले भने, ‘कम्पनीमा रहलपहल रकम आउने हो । कसैकसैको अलि ठूलो परिमाणमा क्षतिपूर्ति आउँछ । धेरैका परिवारलाई हामीले खोजेर क्षतिपूर्ति रकम दिने गरेका छौं ।’

प्रशासनको रेकर्ड अनुसार गत वर्ष मुदीका केशव तिलिजाको कुवेतमा, भकिम्लीका चन्द्रबहादुर घर्तीको कतारमा, दानाका सुरेश पुर्जा, भगवतीका बिलबहादुर दमै, मुनाका यामबहादुर पुन र रत्नेचौरका नारायण थापाको साउदी अरबमा मृत्यु भएको थियो । म्याग्दी प्रवासी संघ मोनाको अभिलेखअनुसार महिनामा एकजना म्याग्देलीको विदेशमा मृत्यु भई बाकसमा शव आउने गरेको छ ।

प्रकाशित : जेष्ठ ३०, २०७५ १२:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?