१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

घूस लिएका आरोपी बर्खास्त

म्याग्दी — घूस लिएको आरोप लागेका शिक्षा विकास तथा समन्वय इकाइमा कार्यरत २ प्राविधिक सेवाबाट बर्खास्त भएका छन् । इन्जिनियर श्रीकृष्ण खनाल र प्राविधिक प्रमोद उप्रेतीलाई सेवाबाट हटाइएको हो ।

घूस लिएका आरोपी बर्खास्त

धौलागिरि गाउँपालिका ३ मुनास्थित सूर्यज्योति आधारभूत विद्यालयको भवन निर्माणमा उनीहरूले घूस लिएको आरोप विद्यालय निर्माण समितिले लगाएको थियो । घूस लिएको पुष्टी भएपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाइ शिक्षाले करार सम्झौता भंग गर्दै उनीहरूलाई सेवाबाट हटाएको हो ।

‘दुवैको कसुरबारे लिखितरूपमा निवेदन आएपछि हामीले नै हटाउन सिफािरस गरेका थियौं,’ इकाइ प्रमुख रामकुमार श्रेष्ठले भने, ‘अख्तियारमा पनि मुद्दा परेकाले फाइल अनुसन्धानका लागि प्रमुख जिल्ला अधिकारीमार्फत पठाएका छौं ।’ विद्यालय निर्माण समितिले भवन योजना छनोट, पेस्की निकासा र योजना फरफारकका क्रममा पटक–पटक घूस दिनुपरेको भन्दै जेठ १० मा इकाइको कार्यालयमा उजुरी दर्ता गरेका थिए ।

सूर्यज्योति आधारभूत विद्यालय व्यवस्थापन समिति र भवन निर्माण समितिको निवेदनअनुसार खनाल र उप्रेतीले तीन कोठे भवन नापजाँच गर्दा २० हजार र अर्को ट्रस्ट भवन पारिदिन्छौं भनेर थप ५० हजार घूस लिएका थिए ।

प्रकाशित : जेष्ठ ३१, २०७५ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?