२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

बेलिब्रिजले जोडिँदै लमजुङ–मनाङ

आश गुरुङ

लमजुङ — हिमाली जिल्ला मनाङ जोड्न सीमा क्षेत्र म्यार्दी खोलामा ‘बेलिब्रिज’ निर्माण भइरहेको छ । उक्त खोलामा यसअघि पक्की पुल थिएन ।

बेलिब्रिजले जोडिँदै लमजुङ–मनाङ

मनाङ जाने सवारीका लागि बेंसीसहर–चामे सडक एक मात्र विकल्प हो । निर्माणाधीन उक्त पुलले लमजुङ र मनाङ जोड्छ । मस्र्याङदीमा झोलुंगे पुलबाहेक अरू विकल्प छैन । यसअघि अस्थायी रूपमा राखिएका पुलमा समस्या आएपछि डिभिजन सडक कार्यालय दमौलीमार्फत बेलिब्रिज निर्माण भइरहेको छ । कार्यालयका इन्जिनियर कर्ण केसीका अनुसार लमजुङतर्फ पिल्लर तयार भइसकेको छ ।

मनाङतर्फ जग ढलान भइसकेको र पिल्लर उठाउने तयारी भएको छ । पोखराबाट बेलिब्रिजका सामग्री ल्याउने तयारी गरिएको छ । फिटिङको काम छिटै हुने प्राविधिकले बताएका छन् । पुल निर्माणाधीन अवस्थामा रहेकाले यतिबेला खोलाबाटै सवारी वारपार हुने गरेको छ । उक्त सडकमा दैनिक सयसम्म गाडी चल्ने गरेका छन् ।

उक्त पुल जेठ मसान्तमै सक्ने सम्झौता निर्माण कम्पनी ग्याल्बा–क्याराभान जेभीले गरेको थियो । जेठमा नसक्ने भएपछि निर्माण व्यवसायीले असारभित्रै सक्ने योजनासहित म्याद थपको निवेदन डिभिजन सडक कार्यालय दमौलीमा दिएको छ । डिभिजन कार्यालयका अनुसार चैत–वैशाखमा पानी परेको, ढुवानी टाढा, प्राविधिक डिजाइनभन्दा फरक चट्टान आइदिएको, मेसिन सञ्चालनमा समस्या र जिलेटिन (चट्टान फुटाउने विस्फोटक पदार्थ) को अभावलगायतका कारणले निर्माण अवधि लम्बिएको हो । ‘निर्माण कम्पनीले असार मसान्तभित्र सक्ने भनेको छ । काम धमाधम हुने चरणमा छ,’ डिभिजन प्रमुख भानु जोशीले भने । पुल निर्माणकार्य ५० प्रतिशत सकिएको डिभिजन सडक कार्यालयले जनाएको छ ।

उक्त पूल २ करोड ५ लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको हो । २४ मिटर लम्बाइ र तत्काल ४ मिटर (सिंगल लेन) को पुल निर्माण हुँदैछ । ‘बेलिब्रिज सम्भवत: सबै सिंगल लेनको हुन्छ,’ उनले भने, ‘हामी डबल लेनको बनाउने प्रयासमा पनि छौं ।’ तत्कालका लागि सिंगल लेनको पुल निर्माण भएपनि बेंसीसहर–मनाङ आवागमन सहज हुनेछ । ‘हामीले फाउन्डेसन ९ मिटर चौडाइको बनाएका छौं,’ उनले भने, ‘केही वर्षपछि बेलिब्रिज झिकेर आरसीसी पुल राख्न सकिन्छ ।’ उनका अनुसार असारमा निर्माण सकेपछि बर्खायाममा मनाङ आउजाउ गर्ने गाडी रोकिँदैन ।

पुल निर्माण भइरहेको म्यार्दीखोला लमजुङको बेंसीसहरबाट ३५ र मनाङको चामेबाट ३० किमिको दूरीमा पर्छ । नेपाली सेनाले बनाएको काठेपुल २०७२ जेठमा भाँचिएको थियो । त्यसपछि डिभिजन कार्यालयले राखेको स्टिल गार्डर ब्रिज महिनापछि असार ३१ मा आएको बाढीले बगायो । आवागमन सुचारु राख्न त्यहाँ काठेपुल निर्माण गरी अस्थायी तरिकाबाट काम चलाइएको थियो ।

प्रकाशित : जेष्ठ ३१, २०७५ ०९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?