शताब्दीअघिको विभेदविरुद्ध आन्दोलन

प्रकाश बराल

बागलुङ — सदरमुकाम बागलुङ बजारदेखि डेढ घण्टाको उकालो चढेपछि कालीमाटी पुगिन्छ । यहाँ विश्वकर्मा माध्यमिक विद्यालय छ । छेवैमा भगत सर्वजित विश्वकर्माको मूर्ति बनाइएको छ ।

शताब्दीअघिको विभेदविरुद्ध आन्दोलन

विसं १९५० सालमा मूलपानीमा जन्मेका विश्वकर्मा जातीय विभेदविरुद्धको अभियान थाल्ने अगुवा थिए । यो अभियानका लागि उनले कुनै नारा र जुलुस भने गरेका होइनन् । आफैं संस्कृतका वेद र पुराणको अध्ययन गरेर त्यसको मर्मअनुसारको काम गर्न सबैलाई आग्रह गरेका थिए । विसं २०१२ सालमा उनको निधन भएको थियो । उनको स्मरणमा गठित भगत सर्वजित विश्वकर्मा प्रतिष्ठानका अध्यक्ष ओमबहादुर विक भन्छन्, ‘उहाँ दलित परिवारको राष्ट्रिय विभूति हो ।’ दलितको अधिकारका लागि मात्र नभएर देश विकासका लागि विभेद बाधक हो भन्ने सन्देश दिने पहिलो व्यक्ति विश्वकर्मा भएको उनले बताए ।

उनकै स्मरणमा यहाँ विश्वकर्मा मावि स्थापना भएको हो । यो विद्यालयले हरेक दिन उनको स्मरण गर्छ । अभिभावकले पनि यो विद्यालयलाई विश्वकर्माकै नाम दिँदा गर्व गर्छन् । ‘विश्वकर्माको नामबाटै हामी गर्व गर्ने भएका छौं,’ प्रधानाध्यापक युगेन्द्रप्रसाद खनालले भने, ‘शिक्षाको विकास नभएका बेला उहाँले यो विद्यालय खोल्नुभएको थियो ।’ शिक्षाको थालनी गरेर जागरण ल्याउने व्यक्ति सिंगो गाउँको गुरु भएको उनले बताए ।

‘धार्मिक ग्रन्थअनुसार विश्वकर्मा भनेको शिल्प ब्राह्मण हो,’ प्रतिष्ठान अध्यक्ष विक भन्छन्, ‘२००७ सालमा हिक्मत सिंह, लक्ष्मीनारायण विश्वकर्मा, मनवीर विश्वकर्मा र रामशरण विश्वकर्माको साथ लिएर भगतले विद्यालय खोलेका थिए ।’ विभेद चाहनेहरूले उनको घरगोठ भत्काएका थिए । गाथगद्दी ताकेको आरोपमा विश्वकर्मालाई तत्कालीन शासकले १७ महिनासम्म जेल हालेका थिए । विश्वकर्माले श्री ३ मोहनशमशेर राणासमक्ष आफ्नो वास्तविक माग राख्ने मौका पाएपछि जेलमुक्त गरिएको थियो ।

भारतमा पुगेर अध्ययन गरेर फर्केपछि १९९७ मा विश्वकर्माले विश्व सर्वजन संघ नामक संस्था पनि खोलेका थिए । संस्थागत रूपमा आर्थिक उन्नतिका लागि दलितमाथिको श्रम शोषण र उत्पीडन हटाउन उनले अगुवाइ गरेका थिए । बालीघरे प्रथालाई परिमार्जन गर्न उनले जिन्सीको साटो नगद पाउनुपर्ने आवाज उठाए । उनको आवाजले बालीघरेले ज्याला पाउन थालेको इतिहास छ ।

२१ औं शताब्दीमा पनि समाजमा छुवाछूतको समस्या देखिनुलाई ब्राह्मणवादी चिन्तनको उपज भएको अधिकारकर्मी टिप्पणी गर्छन् । ‘भगत सर्वजितले सय वर्षअघि देखाएको बाटो अझै हामी हिँड्न सकेका छैनौं,’ दलित आयोगका पूर्वसदस्य गोविन्द नेपालीले भने, ‘विभेद गर्नेका विरुद्धमा कडा कारबाही गर्नुपर्छ ।’ विभेदका रूप फेरिँदा दलितहरू अझै पीडामा परेको उनको टिप्पणी छ ।

सर्वजितको सम्मानमा बागलुङ नगरपालिका ७ मा अर्धकदको सालिक निर्माण गरिएको छ । उनको काम र अभियानको सम्मानका लागि व्यवहार परिवर्तन गर्नुपर्ने अधिकांशको जोड छ । प्रतिष्ठानले भगत सर्वजित विश्वकर्माको योगदानमा आधारित स्मारिका प्रकाशन पनि गरेको छ । दलित मुक्तिको आन्दोलनमा उनले खेलेको भूमिका स्मारिकामा चर्चा गरिएको छ ।

स्मारिकामा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना दिँदै छुवाछूतविरुद्धको लडाइँ एक सय वर्ष पुग्दा पनि सार्थकता पाउन नसक्नु दु:खद भएको टिप्पणी गरेका छन् । संस्कृत, वेद र पुराणको अध्ययन गरेका भगत सर्वजितले दलितले पनि जनै लगाउने चलन बसालेको जानकार बताउँछन् ।

प्रकाशित : जेष्ठ ३१, २०७५ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?