विसे नगर्चीको सालिक राख्ने तयारी

गोरखा — पृथ्वीनारायण शाहलाई राज्य एकीकरणमा विशेष सल्लाह दिने मानिएका विसे नगर्चीको सालिक राखिने भएको छ ।

विसे नगर्चीको सालिक राख्ने तयारी

गोरखा नगरपालिका ६ गितार डाँडामा सालिकसहितको पार्क स्थापनार्थ स्थानीयले समिति गठन गरेका छन् ।

‘नगर्चीको अर्धकदको सालिक राख्न लागेका हौं,’ विसे नगर्ची सालिक निर्माण समितिका सचिव सोमबहादुर अछामीले भने, ‘पार्कका लागि गोरखा नगरपालिकाले ५ लाख रुपैयाँ दिने भनेको छ । अरू रकम संकलन गर्ने सोचेका छौं ।’ पहिलो चरणमा करिब १० लाख रुपैयाँ खर्चेर गितार डाँडाको करिब पाँच रोपनी क्षेत्रफलमा पार्क निर्माण अघि बढाउन लागेको उनले बताए ।

पार्कमा राख्नका लागि नगर्चीको सालिक तयार रहेको परिवार सेवा समाजका बलबहादुर सुन्दासले बताए । ‘तीन/चार वर्षअघि बनेको सालिक हाम्रै कार्यालयमा थियो,’ उनले भने, ‘हाल मर्मतका लागि पठाएका छौं ।’ पार्कलाई ब्यवस्थित बनाउन पूर्वाधार निर्माण गर्ने योजना छ । ‘पार्कभित्र हुने सबै संरचना बनाउँछौं भन्ने छ,’ सचिव अछामीले भने ।

पृथ्वीनारायण शाह बाइसे–चौबीसे राज्यलाई एकीकरण गर्दै आधुनिक नेपाल बनाउने व्यक्तित्व हुन् । उनलाई राज्य एकीकरणमा सघाउने पाण्डे, पन्त, खनाल, अर्याल र भट्टराईको थरअनुसारको नमुना घर बनाउने लक्ष्य राखिएको समितिले जनाएको छ । ‘पहिचान झल्काउने छुट्टाछुट्टै घर बनाउने हाम्रो योजना हो,’ अछामीले भने, ‘पार्कलाई व्यवस्थित बनाउन योजनाबद्घ ढंगले अघि बढ्ने सल्लाह छ ।’ सालिक स्थापना गर्न सके पर्यटकको गन्तव्य बन्ने र इतिहासको सम्मान हुने विश्वास समितिले लिएको छ ।

गोरखाको पुरानो दरबार नजिकैको पोखराथोक जन्मिएका विसे नगर्ची तत्कालीन समयमा दरबारमा कपडा सिलाउने काम गर्थे । नेपाल एकीकरण गर्न आर्थिक अभाव भएका बेला उनले पृथ्वीनारायण शाहको हातमा १ रुपैयाँ थमाइदिएको इतिहाससम्बन्धी लेखमा उल्लेख छ । सँगै गोरखा राज्यभित्र तत्कालीन समयमा रहेका १२ सय घरधुरीसँग प्रतिघरधुरी १/१ रुपैयाँ उठाउन नगर्चीले सल्लाह दिएको पनि उल्लेख छ । नगर्चीकै सल्लाहअनुसार १२ सय रकम संकलन गरेर शाहले लडाइँका लागि चाहिने हतियारको व्यवस्था गरेको इतिहास छ ।

प्रकाशित : जेष्ठ ३१, २०७५ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?