कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बसाइँसराइ रोक्न स्वरोजगार

दीपक परियार

लेखनाथ (कास्की) — विदेशबाट फर्किएपछि मादी गाउँपालिका तारकाङका श्रीकान्त सापकोटा घरमै बसे । आफूसँग सीप नहुँदा पाखोबारी र सानो टुक्रो खेतमा खनजोत गर्नुबाहेक उनीसँग आयआर्जनको अर्को विकल्प थिएन ।

बसाइँसराइ रोक्न स्वरोजगार

गाउँपालिका कार्यालयले डकर्मी तालिमको योजना ल्यायो । उनी तालिममा सहभागी भए । तालिमले आफूलाई गाउँमै रोजगारी दिलाउनेमा उनी ढुक्क छन् ।

मादी गैह्राखर्ककी शोभा सुनारले पनि डकर्मी तालिम लिइन् । भूकम्पले भत्किएका घर बनाउन डकर्मीको अभाव भएको देखेकी उनी रोजगारी पाउने आशामा छिन् । ‘गाउँमै रोजगारी पाइन्छ भने किन बजार झर्नुपर्‍यो ?,’ उनी भन्छिन् । उनीजस्तै गाउँपालिकाका २ सय २० युवाले डकर्मी तालिम लिइसकेका छन् । गाउँपालिकाले युवालाई स्वरोजगार बनाउन एक वर्षको अवधिमा विभिन्न तालिम प्रदान गरेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गाउँपालिकाका ३० युवालाई भूकम्पप्रतिरोधी घर निर्माण सम्बन्धी एक हप्ते तालिम दिएको छ ।

बसाइँ सरेर पोखरा झर्ने क्रम बढेपछि गाउँपालिकाले युवालाई गाउँमै अड्याउन स्वरोजगारलाई जोड दिएको हो । गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङले बितेको एक वर्ष स्वरोजगारका तालिमको योजनालाई प्राथमिकता दिइएको बताए । ‘राम्रो जीवनका लागि बजार झर्ने क्रम बढदो छ,’ उनले भने, ‘स्कुलहरू खाली छन्, गाउँमा दाँत नभएका बूढाबूढी मात्रै छन् ।’ सीप सिकेर गाउँमै स्वरोजगार बन्न सके बसाइँसराइ दर घट्नेमा उनी विश्वस्त छन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीका अनुसार एक वर्षमा १ सय २० युवाले स्वरोजगार तालिम लिइसकेका छन् । तीन सयजना युवाले पशुपालक तथा कृषक तालिम लिएका छन् । गाउँपालिकाले तीन सय युवालाई घरेलु उद्यमशीलता तालिम दिएको छ । महिलालक्षित तालिम २ सय ५० ले लिएका छन् ।

वैशाख ५ मा बसेको कार्यपालिकाको २१ औं बैठकले युवालाई स्वरोजगार बनाई बसाइँसराइ रोक्न विभिन्न योजना ल्याएको छ । गुरुङ जातिको आदिम थलो क्होलासोंथारमा बसेको बैठकले व्यावसायिक कृषिलाई महत्त्व दिएको छ ।

गाउँपालिकाले ५० रोपनीभन्दा बढी जग्गामा खेती गरी वार्षिक सय क्विन्टलभन्दा बढी खाद्यान्न र तरकारी उत्पादन गर्ने कृषकलाई एक/एक हाते ट्रयाक्टर र २ लाख रुपैयाँ बराबरको कृषि सामग्री अनुदानमा दिने छ । तीन सयभन्दा बढी भेडाबाख्रा र ५० भन्दा बढी उन्नत जातका गाई–भैसीं, ५ हजारभन्दा बढी कुखुरा र एक सयभन्दा बढी बंगुरपालन गर्ने व्यावसायिक फर्म तथा कृषकलाई वार्षिक २ लाख रुपैयाँ अनुदान दिने बैठकले निर्णय गरेको छ । गाउँपालिकाले बाँझो जमिनको सर्भे गरी लगत राख्ने भएको छ । जग्गाधनीबाट बाँझो जमिन भाडामा लिएर भूमि बैंक स्थापना गर्ने गाउँपालिकाको योजना छ । ‘स्वरोजगार बन्न चाहनेलाई भूमि बैंकबाट जमिन भाडामा दिन्छौं,’ अध्यक्ष गुरुङले भने, ‘यसले रोजगारी सिर्जना गर्द मद्धत पुग्छ ।’

गाउँपालिकाले ‘अध्यक्षसँग रोजगारी’ कार्यक्रम नै सञ्चालन गर्दै छ । गरिब घरपरिवार पहिचान गरेर वास्तविक गरिबलाई रोजगारी दिने कार्यक्रमको लक्ष्य छ । आर्थिक वर्ष ०७५/७६ मा प्रतिपरिवार एक सदस्यका दरले एक सय बेरोजगार युवालाई स्वरोजगार बैंकमार्फत रोजगार सुनिश्चित गर्ने गाउँपालिकाको योजना छ । गाउँपालिकाले स्थानीयलाई सेयर दिने गरी सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा हाइड्रोपावर निर्माण गर्ने जनाएको छ । ‘हालको समस्या नै गाउँमा युवा नहुनु हो,’ अध्यक्ष गुरुङले भने, ‘यसो गर्न सकियो भने बसाइँसराइ रोकिन्छ ।’

मादी गाउँपालिका कास्कीकै विकटमध्येमा पर्छ । यस गाउँपालिकाको ५ सय ६३ वर्ग किलोमिटर क्षेत्रफल रहेको छ । सिक्लेस, ताङतिङ, याङजाकोटलगायत पर्यटकीय गाउँ यसै गाउँपालिकामा पर्छन् । विशाल भूभाग भए पनि जनसंख्या १८ हजार १ सय ५३ मात्रै छ । जसमध्ये पुरुष ८ हजार २ सय ४१ र महिला ९ हजार ९ सय १२ छन् । गाउँका युवा विदेशिने र परिवार सहरमा झर्ने परम्पराले गाउँ रित्तिँदै छन् । जनसंख्या कम हुँदा गाउँका सामुदायिक विद्यालयमा विद्यार्थी संख्यासमेत न्यून छ ।

प्रकाशित : असार १, २०७५ १०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?