१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

दिवा खाजाले विद्यार्थी नियमित

स्कुलमा खाजा खान पाइने व्यवस्थाले विद्यार्थीमा सकारात्मक प्रभाव

पर्वत — विद्यालयमा दिवा खाजाको व्यवस्थाले विद्यार्थी नियमित आउन थालेका छन् । दिवा खाजा कार्यक्रम सञ्चालनपछि विद्यार्थी कक्षाको पूरा समयसम्म बस्ने र पठन शैलीमा समेत सुधार आएको विद्यालयले जनाएका छन् ।

दिवा खाजाले विद्यार्थी नियमित

शैक्षिक सत्र २०७३ को पुसदेखि विद्यालयले दिवा खाजा कार्यक्रम सञ्चालन गरेका हुन् । सार्वजनिक मावि, सेतीवेणी मावि, भवानी विद्यापीठ मावि र श्रमिक प्राविले आधारभूत तहमा खाजा कार्यक्रम सञ्चालन गरेका छन् ।

यी विद्यालयले आन्तरिक स्रोत र देउसीभैलोबाट स्रोत जुटाएर खाजा खुवाउन थालेका हुन् । महाशिला गाउँपालिकाको पहिलो गाउँसभाले बजेट छुट्याएरै शिक्षा समिति मातहतका २७ विद्यालयको आधारभूत तहमा गत वर्षदेखि खाजा कार्यक्रम सञ्चालन गरेको छ । खाजा कार्यक्रम लोकप्रिय भएपछि गाउँपालिकाले त्यसलाई निरन्तरता दिन नियमित आम्दानीको स्रोत व्यवस्थापन गरेको छ । ‘हरेक सिफारिश शुल्कको केही प्रतिशतबाट खाजा कार्यक्रम चलाएका छौं,’ गाउँपालिका प्रवक्ता जीवनविक्रम उचैठकुरीले भने, ‘स्थानीय अन्नमा आधारित खाजामा धेरै खर्च हुँदैन ।’ कोदो, मकै, आलु, भटमास, बोडीबाट लिटो, रोटी र जाउलोलगायतका खानेकुरा खुवाइन्छ । चालु शैक्षिक सत्रका लागि महाशिलाले दिवा खाजामा १५ लाख रुपैयाँ रकम विनियोजन गरेको छ । शिक्षा सुधार कार्यक्रमबाट रकम विनियोजन गरिएको हो । गाउँपालिकाले महाशिला दिवा खाजा व्यवस्थापन कार्यविधि २०७५ जारी गरेको छ ।

कार्यविधिअनुसार आइतबार कोदो, सोमबार गहुँ, मंगलबार मकै, बुधबार चना, बिहीबार फलफूल, अण्डा वा मासु र शुक्रबार गहुँको रोटी खुवाइन्छ । तालिकामा समावेश भएका अन्न सम्भव नहुने विद्यालयले उपलब्ध अन्य स्थानीय उत्पादनकै खाजा दिन्छन् । ‘यसले प्याकिङ गरिएका ‘जंक फुड’ को बिक्री रोकिएको छ ,’ गाउँपालिका अध्यक्ष राजु पौडेलले भने, ‘स्कुलमा खाजा कार्यक्रम हेर्दा सुन्दा सामान्य लागे पनि यसको दूरगामी सकारात्मक प्रभाव छ ।’

जिल्ला शिक्षा समन्वय इकाइ कार्यालयले खाजा कार्यक्रम प्रभावकारी भएपछि सबै स्थानीय तहमा यो कार्यक्रमलाई प्रोत्साहन गर्ने योजना बनाएको छ । ‘दिवा खाजाले राम्रो प्रभाव पारेको छ,’ इकाइ प्रमुख रमेशराज पौडेलले भने, ‘कार्यक्रम चलेका विद्यालयको सिकाइबाट अरू विद्यालयमा सञ्चालन गर्नुपर्छ । त्यो योजना सबै पालिकाका शिक्षा संयोजकलाई भनिसकेका छौं ।’ सामुदायिक विद्यालयको यो कार्यक्रमले निजी विद्यालय छोडेर आउने विद्यार्थी संख्या बढेको उनले बताए । केही स्थानीय तहले शिक्षक, अभिभावक, जनप्रतिनिधिका छोराछोरी सामुदायिकमा पढाउनैपर्ने नियम बनाएका छन् । त्यसबाट पनि विद्यार्थी बढ्ने क्रम जारी छ ।

कुश्मा नगरपालिकामा ६८ र फलेवास नगरपालिकामा ५८ सामुदायिक विद्यालय छन् । गाउँपालिकामध्ये मोदीमा ५४, जलजलामा ४४, महाशिलामा २७, बिहादीमा ३० र पैयुँमा २८ विद्यालय छन् । महाशिलाका २७ वटै विद्यालयमा दिवा खाजा सञ्चालित छ । पैयुँ, बिहादी, फलेवास, कुश्मा, मोदी र जलजलाका केही विद्यालयले सुरु गरेका छन् । खाजा बालबालिकाका लागि पोषिलो रहेको चिकित्सक बताउँछन् । ‘जंक फुड स्वादका लागि हो, स्वास्थ्यका लागि होइन,’ पर्वत अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. बुद्धिबहादुर थापाले भने, ‘गेडागुडीमा प्रोटिन र कार्बोहाइड्रेट अत्यधिक हुन्छ । जसले बालबालिकाको बौद्धिक र शारीरिक वृद्धि छिटो हुन्छ ।’

‘गाउँघरमा फलाइएका अन्न, गेडागुडी नपाउँदा भुजासम्म खुवाइन्छ,’ सार्वजनिक माविका प्रधानाध्यापक चन्द्रशेखर उपाध्यायले भने, ‘अब भुजाको पनि विकल्प खोज्दैछौं ।’ शिक्षकको अनुभवमा दिवा खाजा कार्यक्रमले स–साना बालबालिकाको सिकाइमा उल्लेख्य सुधार आएको छ । ‘होमवर्क नियमित गरेका छन्,’ शिक्षिका दीपा शर्मा पौडेलले भनिन्, ‘कक्षामा पढाउँदा ध्यान दिने बानी परेको छ ।’ कतिपय बालबालिका घरबाट भोकै पनि विद्यालय आउने गरेको उनले बताइन् ।

प्रकाशित : असार १, २०७५ १०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?