१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

हस्तकलामा आकर्षण

लेखनाथ — पोखरामा बुधबारबाट सुरु भएको महिला उद्यमी मेलामा हस्तकलाका सामग्रीले ग्राहकलाई लोभ्याएका छन् । नयाँबजारमा रहेको प्रदर्शनी केन्द्रमा सुरु भएको मेलामा हातले बुनेका कपडा, सजावटका सामान ग्राहकले मन पराएका हुन् ।

हस्तकलामा आकर्षण

पोखरा उद्योग वाणिज्य संघको महिला उद्यमी विकास उपसमितिले मेला आयोजना गरेको हो । मेलामा देशभरका महिला उद्यमीका ७० स्टल छन् । डोममा रहेका स्टलमा महिलाद्वारा उत्पादित सामग्री प्रदर्शनी र बिक्रीका लागि राखिएका छन् । 

महिलाद्वारा सञ्चालित लघु उद्योग, हस्तकला, ढाका कपडा उद्योगबाट उत्पादित खाद्य, घरायसी एवं लत्ताकपडा मेलाको आकर्षण बनेका छन् । तान नै राखेर कपडा बुनाइ पनि प्रदर्शनमा राखिएको छ । दैनिक उपभोग्य वस्तु मेलामा समावेश छन् । महिलाद्वारा उत्पादित कृषि उत्पादन पनि बिक्रीमा राखिएका छन् । मेलामा प्रदेश ४ का सबै जिल्लाबाट महिला उद्यमी सहभागी छन् ।

मेलाको अवलोकन गर्न पुगेकी पोखरा नयाँबजारकी रञ्जना श्रेष्ठले अल्लोबाट निर्मित कपडा मन परेको बताइन् । दाङको सहनशील दिदी–बहिनी अल्लो धागो उद्योग समूहको स्टलमा भेटिएकी उनले आफूलाई झोला र श्रीमान्लाई टोपी खरिद गरिन् । ‘महिलाको उद्योगलाई प्रोत्साहन गर्नुपर्छ भनेर मेलामा आएकी हुँ,’ उनले भनिन्, ‘अल्लोको कपडा नौलो लाग्यो ।’ पृथ्वीचोककी सुनमाया नेपालीले बहिरा महिला विकास समितिका सदस्यद्वारा निर्मित गुडिया छोरीलाई किनिदिइन् । स्थानीय उत्पादन प्रयोग गरी पद्मावती हस्तकला उद्योगले बनाएका घरायसी सामानले पनि मेला अवलोकनमा आएका आकर्षित गर्‍यो । पाल्पाली ढाका, अचार, मह, घर सजावटका सामान पनि ग्राहकले रुचाए ।

असार २ सम्म चल्ने मेलाका उद्घाटन प्रदेश ४ की कार्यवाहक सभामुख सिर्जना शर्माले गरिन् । उनले आर्थिक रूपमा समृद्ध नभए महिलाहरू राजनीति र अन्य कुनै पनि क्षेत्रमा सफल हुन नसक्ने बताइन् । उनले त्यसका लागि महिलालाई उद्यमशील बन्न आग्रह गरिन् । महिलाद्वारा उत्पादित वस्तुको बजारीकरण, सहुलियत दरमा ऋण प्रदान तथा साना उद्योग प्रवद्र्धनमा तीनै तहका सरकारले विशेष व्यवस्था गर्नुपर्नेमा उनको जोड थियो । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले बैंकको बढ्दो ब्याजदरले उद्योग व्यवसाय गर्न अप्ठेरो अवस्था सिर्जना भएको बताए । उनले महिलालाई मात्र नभई सबैलाई जग्गा किनेर उद्योग राख्न गाह्रो भएको उल्लेख गरे ।

महिला उद्यमीलाई कर तालिम
पोखराको नयाँबजार प्रदर्शनी केन्द्रमा जारी मेलाको दोस्रो दिन बिहीबार करसम्बन्धी तालिम दिइएको छ । आन्तरिक राजस्व कार्यालय पोखराका कर अधिकृत विजय लामिछानेले कर प्रणालीबारे जानकारी दिँदै समयमा तिरेमा जरिवानाबाट बच्न सकिने बताए । हस्तकलामा मूल्य अभिवृद्धि कर छुट भए पनि हस्तकलाकै सामानमा प्रयोग हुने टाँकलगायतका सामानमा भने भ्याट लाग्ने जानकारी उनले दिए ।

प्रकाशित : असार १, २०७५ १०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?