१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

पानीपुरीले घरबार

सानो पुँजीको व्यापार भए पनि लगन र इमानदारीका साथ काम गर्दा घरव्यवहार चलाउन विदेश जानु पर्दैन
विना थापा

कास्की —  महानगरपालिकाले सडकमा ठेला र डोकोमा व्यापार गर्न दिइँदैन । भेटिहाले नगर रक्षकले सामान जफत गर्छन् । तर, फुटपाथमा गरिने व्यापार घटेको छैन । सडकमा केही वर्ष व्यापार गरेकाहरू कतिपय सटरमा व्यवस्थित भएर सरेका पनि छन् ।

पानीपुरीले घरबार

पोखरामा पानीपुरी र चटपटको व्यापार गर्ने दर्जनौं महिलामध्येकी ३० वर्षीया अमृता राई पनि एक हुन् । रोजगारीको खोजीमा उनी मकवानपुरबाट दशकअघि आइपुगेकी थिइन् । सुरु–सुरुमा ज्यामी काम गरिन् । यतै बिहे गरिन् । छोरी जन्मिएपछि गिटी, ढुंगा र सिमेन्ट मसला बोक्ने कामको साटो सानो पुँजीले हुने व्यापार गर्न मन लाग्यो । ‘१२ सयले चटपट र पानीपुरीको व्यापार थालेको,’ उनले भनिन्, ‘गर्दै जाँदा पछि ५ हजारमा ठेला किनें, अनि अलि सजिलो भयो ।’


आफूले व्यापार गर्दा उनलाई घर चलाउन सजिलो मात्रै भएन, बचत पनि गर्न सक्ने भइन् । ‘मकवानपुरमा भएका घरपरिवारलाई खाने–बस्ने व्यवस्था मिलाएकी छु,’ उनले भनिन्, ‘मेरा तीनवटा छोरा सासूससुरासँगै मकवानपुरमा छन्, लाउनखान पढाइलेखाइमा कुनै कमी हुन दिएकी छैन ।’ छोरीसँगै पोखरा बसेकी अमृताका श्रीमान् यतिबेला जिपमा काम गर्छन् । जिप अमृताकै पौरखले जोडेको हो । ‘गाउँतिर कच्ची बाटोमा गुड्ने गाडी किनेको । श्रीमान् त्यसैमा हिँड्छन्, ड्राइभर राखेको छ,’ उनले भनिन्, ‘पोखरामा साढे चार आना घडेरी पनि जोडेकी छु ।’ पानीपुरी र चटपटको व्यापारबाट उनले दिनमा हजार रुपैयाँ हाराहारी बचत गर्छिन् । व्यापार सानो पुँजीको भए पनि लगन र इमानदारीका साथ लागिपर्दा घरव्यवहार चलाउन विदेश जानु नपर्ने उनको अनुभव छ ।


स्याङ्जा घर भई पोखरा आएका भगवती रेग्मी र उनका श्रीमान् श्रीराम रेग्मीको अनुभव पनि अमृताभन्दा धेरै फरक छैन । उनीहरू पनि कामको खोजीमा महानगर आइपुगेका हुन् । सात वर्षदेखि पानीपुरी र चटपटको व्यापार गर्दै आएका उनीहरूको हाल पोखरामा आफ्नै पौरखले आर्जेको घर छ । ‘दुई हजारको सामान किनेर व्यापार गर्न थालेका हौं,’ भगवती भन्छिन्, ‘पछि विस्तारै एक/एकवटा ठेला लियौं ।’ बिहान सँगै निस्केर व्यापार गर्न फरक–फरक सडकमा जाने उनीहरू साँझ एकै समयजस्तो घर फिर्छन् । ‘यही व्यवसायबाट पोखरामा जग्गा किनेर घर बनाइयो,’ उनी भन्छिन्, ‘अहिले छोराले पनि ब्याचलर गरे, लाउनखान राम्रै छ । घरका सबैको आ–आफ्नो कमाइ छ ।’ दम्पती एउटै पेसामा रहँदा एक–अर्काको साह्रोगाह्रो बुझ्न सजिलो हुने अनुभव उनको छ । ‘दुवैजना मिलेर काम गरे घरझगडा हुँदैन,’ उनले भनिन्, ‘यसले जीवन सहज हुने रहेछ ।’


पोखरा महानगरमा पाँच सय हाराहारी पानीपुरी र चटपटको व्यापार गर्नेहरू छन् । महानगरपालिकाले खुला ठाउँमा गरिने खुद्रा व्यापारलाई निरुत्साहित गर्ने गरे पनि राई र रेग्मीजस्ता व्यवसायीको दैनिकी पानीपुरी र चटपटले नै धानेको छ ।

प्रकाशित : असार २, २०७५ १३:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?