गिद्ध संरक्षणमा जटायु रेस्टुरेन्ट

नारायण शर्मा

नवलपरासी — जटायु रेस्टुरेन्ट लेखिएको ठूलो होर्डिङबोर्डले राजमार्ग हुँदै ओहोरदोहोर गर्ने धेरैको ध्यान तान्ने गरेको छ । महेन्द्रराजमार्गको कावासोती बजारवाट ३ सय मिटर पूर्वमा अंग्रेजी र नेपालीमा लेखिएको बोर्ड देख्दा खान पाइने रेस्टुरेन्ट होला भन्ने लाग्छ ।

गिद्ध संरक्षणमा जटायु रेस्टुरेन्ट

कावासोतीको पिठौलीमा रहेको जटायु रेस्टुरेन्ट भने लोपोन्मुख गिद्धको संरक्षण स्थल हो ।

जटायु रेस्टुरेन्टमा गिद्धहरू मरेका जनावर खाइरहेका हुन्छन् । यो रेस्टुरेन्ट लोपोन्मुख गिद्धको संरक्षणका लागि स्थानीय प्रयासमा सञ्चालित छ ।

मरेपछि मिल्काइने जनावरका सिनो खाएर गिद्धले वातावरण सफा राख्न सघाउँछ । संरक्षणकर्मीका अनुसार संसारभर गिद्ध २३ प्रजातिका पाइन्छन् । तीमध्ये नेपालमा ९ प्रजातिका छन् । पछिल्ला केही वर्षयता मरेका जनावर गाड्ने र सिमलका अग्ला रूख काट्ने चलनले गिद्ध निरन्तर संकटमा पर्दै गएको छ । घरपालुवा जनावरमा दुखाई कम गर्ने औषधि डाइक्लोफेनेक पनि गिद्ध संकटमा पर्नुको ठूलो कारण रहेको पत्ता लाग्यो । उक्त औषधि चलाइएका जनावर मरेर तिनको सिनो खाँदा गिद्ध पाचन प्रणाली बिग्रेर मर्ने संरक्षणकर्मीले पत्ता लगाए । हिजोआज सरकारले डाइक्लोफेनेकको प्रयोगमा रोक लगाएको छ ।

पिठौलीको यो ठाउँमा बुढा गाईगोरु पालिएका छन् । गाई मरेपछि त्यसको छाला काढेर छाडिन्छ र, गिद्धले हारालुछ गर्छन् । १२ वर्षअघि पिठौलीमा नेपाल पक्षी संरक्षण संघको सहयोगमा यसको स्थापना गरिएको हो । समुदायसँगको सहकार्यमा सुरु गरिएको जटायु रेस्टुरेन्ट गिद्ध संरक्षणको प्रयासमा संसारकै उत्कृष्ट मोडल भएको छ । १२ वर्षअघि मुस्किलले थोरै संख्यामा देखिने गिद्ध यतिबेला यहाँ ठूलो संख्यामा
देख्न सकिन्छ ।

‘पहिलेभन्दा गिद्धको संख्या निकै बढेको छ,’ जटायु रेस्टुरेन्टका संयोजक डीबी चौधरीले भने, ‘संरक्षणका लागि रेस्टुरेन्टको आइडियाले धेरै राम्रो काम गरेको छ ।’ नेपालमा पाइने भनेर रेकर्ड भएका ९ मध्ये ८ प्रजातिका गिद्ध पिठौलीमा पाइएको उनले बताए । ‘डंगर, सानो खैह्रे, सेतो र सुनगिद्ध रैथाने हुन्,’ उनले भने, ‘हिमाली, खैरो, लामो ठुँडे र राज गिद्ध बाहिरबाट यहाँ आइपुग्छन् ।’ जाडो समयमा यहाँ हिमाली भेग र अन्य देशबाट समेत गिद्ध आउने गरेको उनले बताए । ‘फिरन्तेहरू डिसेम्बरमा आउने र मार्चमा फर्कने गर्दछन्,’ उनले भने ।

सन् २००६ मा यस क्षेत्रमा गरिएको गणनाअनुसार ७ प्रजातिका ७२ गिद्ध पाइएको थियो । सन् २०११ को गणनामा संख्या बढेर १ सय ९७ सम्म पुग्यो । पछिल्लो पटकको गणनाअनुसार २ सय ३ गिद्ध छन् । जटायु रेस्टुरेन्ट आसपासमा हुर्किएका सिमलका रूखमा गिद्धका ३१ गुँड छन् । सुरुवातमा १७ गुँड गणना गरिएकोमा सबैभन्दा बढी सन् २०१० मा ७२ वटा गणना गरिएको थियो ।

चितवन राष्ट्रिय निकुञ्ज कसराको गिद्ध संरक्षण तथा प्रजनन केन्द्रमा १३ वटा डंगर प्रजातिका गिद्धका चल्लालाई कृत्रिम बासस्थानमा हुर्काउने काम भइरहेको छ । यी बच्चालाई गत चैतमा कसराबाट ल्याइएको थियो । यसअघि गत वैशाख महिनामा पनि कसराबाट ल्याइएका ६ चल्ला हुर्काएर प्राकृतिक बासस्थानमा छाडिएको थियो । कसरामा हुर्काउने र रेस्टुरेन्ट नजिकमा रहेको कृत्रिम बासस्थानमा ल्याएर छाडने गरिन्छ । कृत्रिम बासस्थानमा सिनो खाने र जंगली गिद्धसँग घुलमिल हुने गर्छन् ।

लोपोन्मुख गिद्ध हुर्काउन लागू गरिएको यो मोडललाई भारत र पाकिस्तानका संरक्षणकर्मीले पनि सिको गरेका छन् । चौधरी भन्छन्, ‘हाम्रै सिकाउ गरेर भारत र पाकिस्तानमा पनि यस्तै रेस्टुरेन्ट सुरु गरेका छन् ।’ दैनिक सय किलोमिटर हाराहारी उड्न सक्ने गिद्ध प्रकृतिमा ठूलो आकारका हुने चरामध्येको एक हो । नेपालमा पाइने सारसपछिको ठूलो चरा गिद्ध हो ।

प्रकाशित : असार ३, २०७५ १०:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?