कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

होमस्टे गाउँलाई सोलार

लमजुङ — मर्स्याङ्दी गाउँपालिकाले होमस्टेलाई वैकल्पिक ऊर्जाका लागि सोलार प्यानल वितरण गरेको छ । गाउँपालिकाका ९ वटै वडाका १३ गाउँमा होमस्टे छन् ।

होमस्टे गाउँलाई सोलार

विद्युत् आपूर्ति अनियमित भएका बेला समस्या नहोस् भनेर सोलार प्यानल सहयोग गरिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा २ सय सोलार प्यानल वितरण गरिएको हो । ‘एउटा होमस्टे गाउँमा २० देखि २५ वटाका दरले वितरण गरेका छौं’ उनले भने, ‘जडान उहाँहरू आफैंले गर्नुभएको छ ।’ एउटा सोलार प्यानलको करिब २६ हजार रुपैयाँ मूल्यको छ ।

होमस्टे गाउँमा सञ्चालकलाई पहिलो प्राथामिकतामा राखेर शतप्रतिशत अनुदानमा सोलार प्यानल वितरण गरिएको उनले बताए । सोलार जडान भने होमस्टे सञ्चालक वा स्थानीय स्वयंले व्यहोरेका छन् । साबिकको ७ गाविसलाई मिलाएर ९ वडामा विभाजन गरी मर्स्याङ्दी गाउँपालिका निर्माण गरिएको छ ।

वडा २ (खुदीखोलातर्फको घनपोखरा) बाहेक अन्य सवै वडामा होमस्टे सञ्चालन तथा भौतिक पूर्वाधार निर्माण थालिएको छ । गाउँपालिका उपाध्यक्ष होमबहादुर विकका अनुसार वडा ३ का ढगैं र सिउरुङ, ४ का छापा र मिप्रा, ५ का खानीगाउँ र ८ को भुष्मेमा होमस्टे सञ्चालनमा आइसकेका छन् ।

यस्तै वडा १ को घनपोखरा, ४ को कालाघिरिङ, ५ को सञ्जापू, ६ को भीरपुस्तुन, ७ को उस्ता र ९ को भलामचौरमा होमस्टे सञ्चालनका लागि कार्यक्रम सञ्चालन भइरहेका छन् ।

‘यसअघि सञ्चालनमा रहेका होमस्टेलाई व्यवस्थापन र प्रवद्र्धन तथा होमस्टे सञ्चालन गर्न लागिएको गाउँमा पूर्वाधार निर्माण तथा व्यवस्थापनका लागि सहयोग गरेका छौं,’ विकले भने । उनका अनुसार पूर्वाधार निर्माणकार्य सबै सकिएपछि होमस्टे सञ्चालन गरिनेछ । पछिल्लो समय होमस्टे सञ्चालनको तयारी गरेका गाउँलाई तालिम दिनुका साथै भौतिक सामग्री जुटाउन सहयोग गरिएको छ । उनीहरूको आवश्यकता अनुसार कार्यक्रम सञ्चालन गरिएको छ ।

उनका अनुसार होमस्टे प्रवद्र्धनका लागि चालु आर्थिक वर्षमा १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो । ‘तोकिएको बजेटबाट होमस्टे प्रवद्र्धनका कार्यक्रम सञ्चालन गर्‍यौं । पर्यटन प्रवद्र्धनका लागि अन्य कार्यक्रमलाई पनि पर्यटन प्रवद्र्धनमै जोड्यौं’ उनले भने । उनका अनुसार होमस्टे गाउँका लागि विनियोजित भएको सडक, खानेपानी, बिजुली, कृषि, पशुलगायतका कार्यक्रमलाई पनि पर्यटन प्रवद्र्धनसँग जोडेर अघि बढाइएको उनले बताए ।

प्रकाशित : असार ४, २०७५ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?