कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

भूकम्पपछि नतङ्ग्रिएको केरौंजा

हरिराम उप्रेती

केरौंजा (गोरखा) — भूकम्पको तीन वर्षपछि धार्चे गाउँपालिका २ केरौंजाका ४० घरधुरीलाई घडेरीको लालपुर्जा वितरण गरिएको छ । २०७२ वैशाख १२ को भूकम्प र त्यसपछिको पहिरोले उच्च जोखिममा परेको केरौंजामा बस्ती स्थानान्तरणका लागि शनिबार घरधनीलाई लालपुर्जा वितरण गरिएको हो ।

भूकम्पपछि नतङ्ग्रिएको केरौंजा

पुरानो बस्ती पहिरोले बगाएपछि भाडाको जग्गामा बस्दै आएका ३ सय ४८ मध्ये ४० जनाले मात्र लालपुर्जा पाएका छन् । साबिकको केरौंजा गाविसका १, २, ३ र ४ नम्बर वडामा प्राप्चेत भीरबाट पहिरो खसेपछि गाउँले पुरानो थातथलोबाट विस्थापित भएका थिए । भूकम्पको लामो समय बिते पनि केरौंजाका स्थानीयको अवस्था फेरिएको छैन । केहीले घर निर्माण गरे पनि धेरैजसोले टहरामुनि कष्टकर जीवन बिताइरहेका छन् । टहरामा आधा त्रिपाल र आधा जस्ताको छाना छन् । छानो लगाएको त्रिपाल च्यातिन थालिसकेको छ । पहिरोको त्रास र घर बनाउने ठाउँसम्म नहुँदा केही पीडितको निकै बिचल्ली छ । जिल्लाभरका अन्य बस्तीको तुलनामा केरौंजाको अवस्था अझै बिजोग छ ।

विस्थापितलाई केरौंजाकै डोङ्गान, लामाबेंसी र बाम्लाक्चोमा स्थानान्तरण गर्न लागिएको छ । डोङगानमा १ सय ४०, लामावेशीमा सय र वाम्लाक्चोमा ५२ घरधुरी स्थानान्तरणको तयारी भएको वडाध्यक्ष सुकबहादुर गुरुङले बताए । ‘भूगर्भविदले बस्न मिल्छ भनेको ठाउँमा सर्न लागेका हौं,’ उनले भने, ‘हाल जतिले लालपुर्जा पाएका छैनन्, तिनलाई विस्तारै प्रक्रिया पूरा गरेर दिलाउँछौं ।’ जोखिममा परेका ३ सय ४८ मध्ये १ सय २० घरधुरीका घर बनाउन दोस्रो किस्ताको रकम सिफारिस भएको उनले बताए । पुरानो बस्ती आसपास दिनहुँ गइरहने पहिरोको त्रास भने कायमै छ ।

पुस्तौंदेखि कित्ताकाट नभएको जग्गा पास गर्न प्रक्रिया पूरा गर्दा ढिलाइ भएको मालपोतका कर्मचारी ईश्वरीप्रसाद सिलवालले बताए । ‘चार/पाँच पुस्ताबाट नामसारी भएको छैन । यसलाई धेरै प्रक्रिया पूरा गर्नुपर्छ,’ उनले भने । भूकम्पपीडित आफन्त र भाडाको जग्गामा बसोबास गर्दै आएका छन् । हाल सर्न लागेको ठाउँ पनि सम्भावित जोखिम रहेको भन्दै केही पीडित चिन्तित छन् । ‘अहिले बसेको बस्ती मुन्तिर हिजो मात्र चिरिएको छ,’ स्थानीय चन्द्रबहादुर गुरुङले भने, ‘बस्ती पल्तिरको डाँडाबाट खसेको पहिरोको आवाज प्रष्ट सुनिन्छ । अन्त जाने ठाउँ छैन, जेनतेन बसेका छौं ।’

पहिलो किस्ताको ५० हजार बुझेका अधिकांशले दोस्रो किस्ता पाएका छैनन् । ‘असारसम्म दोस्रो किस्ता लिनैपर्छ रे भनेका सुन्यौं । बस्दै आएको जग्गाका साहूलाई रिझाएर घर बनाएकी छु,’ सोममाया गुरुङले भनिन्, ‘अन्त जग्गा छैन । बाजेको पालादेखि यही गाउँमा बस्दै आयौं, छाडेर जाने मन पनि छैन ।’ १ सय ५० भन्दा बढी स्थानीयले भने जग्गा खोजेर घर निर्माण सुरु गरेका छन् । ‘जग्गा पास नहुँदा दोस्रो किस्ता नपाएका हौं, घर त फिनिसिङ भइसक्यो,’ देउबहादुर कामीले भने । केही स्थानीय भने टहरामा निकै सकसका साथ दिन–रात कटाइरहेका छन् । जग्गा प्राप्ति नहुँदा घर बनाउन नसकेको उनीहरू बताउँछन् । आफ्ना घडेरी सबै पहिरोले बगाएपछि छोरीको जग्गामा शरण लिएर बस्दै आएको धन्सुमा भेटिएका धनबहादुर घलेले बताए । ‘यसलाई घर त के भनौं, गोठमा बसिरहेको छु,’ उनले भने, ‘छोरीले जग्गा पास गरिदिए नयाँ घर बनाउँछु ।’ केरौंजामा मात्र १२ वैशाखको भूकम्पमा परी १९ जनाले ज्यान गुमाएका थिए । ‘पुरानो बस्ती निकै राम्रो थियो । अहिले ढलान बनेको छ,’ धनबहादुरले भने, ‘अरूको आलु, गहुँ, मकै लगाउने ठाउँमा कति दिन बस्न देलान्, तीन वर्ष त भइसक्यो ।’

थातथलो छाड्न नमान्न्नेका कारण पनि बस्ती स्थानान्तरणमा समस्या परेको धार्चे गाउँपालिका अध्यक्ष सन्तोष गुरुङ बताउँछन् । ‘बेंसीको बाम्लाचोकमा सबैलाई सरौं भनेर कतिपटक मिटिङ गरें,’ उनले भने, ‘विद्यालय, स्वास्थ्यचौकी यहीं बन्यो भनेर जान मान्नुभएन ।’ भूकम्पपछिको पहिरो र जमिन धाँजा फाटेर गोरखा जिल्लाका २२ भन्दा बढी बस्ती जोखिममा छन् । गैरआवासीय नेपाली संघले लाप्राकको गुप्सीपाखा र स्थानीयकै पहलमा बगुवाको लामाचौरमा एकीकृत बस्ती निर्माणको काम भइरहेको छ । सरकारी पहलबाट भने पहिलोपल्ट केरौंजाका स्थानीयलाई लालपुर्जा वितरण भएको हो । लालपुर्जा वितरणसँगै उनीहरूलाई जग्गा खरिदका लागि २ लाख रुपैयाँ उपलब्ध गराउने तयारी गरिएको छ । बनेका घर भूकम्पप्रतिरोधी भए/नभएको हेर्न प्राविधिक पनि नआउने स्थानीयको गुनासो छ । ‘एक/दुई चोटी प्राविधिक आउनुभएको थियो । त्यसपछि प्राविधिकको मुख पनि देख्न पाएका छैनौं,’ चिनी गुरुङले भनिन् ।

केरांैजा माविको १४ कोठे नयाँ भवनको पनि निर्माण सम्पन्न भएको छ । तर, उक्त विद्यालय पनि पहिरोको सम्भावित जोखिममै रहेको स्थानीय बताउँछन् । ‘स्कुलको भवन त उतापट्टि छ तर पुरानो भवन रहेको ठाउँको जग्गामा प्राविधिकले बस्न हुन्न भनेको ठाउँमा विद्यालयले ट्रस्ट बनाएको छ, त्यसको ठीक तल पहिरो छ,’ स्थानीय अमृत गुरुङले भने । स्वास्थ्यचौकी नजिकै प्राप्चेत भीरको पहिरो रहेको भन्दै स्थानीयले चिन्ता जनाए ।

प्रकाशित : असार ४, २०७५ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?