३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

गलेश्वर बेलिब्रिज जोखिममा

म्याग्दी — पक्की पुल निर्माणको काम सुरु हुन लागेपछि बेनी–जोमसोम–कोरला सडकको गलेश्वरमा राहुघाट नदीमाथिको बेलीब्रिज भत्कने अवस्थामा पुगेको छ । बहावविपरीत गलेश्वरपट्टि सोझिएर नदीको भेलले कटान थालेपछि बेलीब्रिज जोखिममा परेको हो ।

गलेश्वर बेलिब्रिज जोखिममा

बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत बेनी ९ र रहुगंगा गाउँपालिका ३ को सिमाना राहुघाट नदीमाथि पक्की पुल बनाउने योजना छ । त्यसका लागि फाउन्डेसन खन्ने क्रममा नदीको बहाव परिवर्तन भएर बेलीब्रिजको गलेश्वरपट्टिको फाउन्डेसन भासिँदा जोखिम भएको हो । ‘ठेकेदारको हेलचक्र्याइँले बेलिब्रिज मात्र होइन पिप्लेपटि पुल मुखैको बस्ती पनि बाढीको जोखिममा परेको छ,’ जिल्ला समन्वय समितिका संयोजक देवेन्द्रबहादुर केसीले भने, ‘बस्ती र ब्रिज जोगाउने हो भने खनेको फाउन्डेसन हिउँदसम्म रोक्नुपर्छ ।’

पुलको ठेक्का लिएको शर्मा युनाइटेड बिल्डर्स जेभीले बर्खा लागेपछि काम सुरु गरेकाले हिमनदीमा पानीको सतह बढेपछि समस्या आएको हो । फाउन्डेसन राख्न भएका ग्याभिन वालसमेतका संरचना भत्काएर खाडल खनिएको छ । नदीमा पानीको सतह बढेपछि फाउन्डेसन राख्न सकेको छैन ।

बेलीब्रिजले बेनी–जोमसोम सडकसँगै रघुगंगा र अन्नपूर्ण गाउँपालिकाका सडकलाई पनि जोड्छ । ‘बेलीब्रिज उच्च जोखिममा छ । कुनै पनि बेला बेनी–जोमसोम सडक अवरुद्ध हुने अवस्था छ,’ प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले भने, ‘आयोजना प्रमुखलाई फोन गरेर नदीको बहावलाई प्राकृतिक रूपमा छाडेर तत्काल ब्रिज संरक्षणमा काम थाल्न निर्देशन दिएको छु ।’

प्रकाशित : असार ४, २०७५ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?