१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

‘चुनौतीसँग जुध्दै अघि बढ्दै’

काठमाडौँ — गलकोट क्षेत्र बागलुङको पुरानो सदरमुकाम हो । प्रदेश ४ को राजधानी पोखरापछिको दोस्रो बजारका रूपमा गलकोट परिचित छ, यसको आफ्नै ऐतिहासिक र मौलिक परिचय छ । लामो समय जिल्ला र केन्द्र शासित भएका गलकोटेले विकास निर्माणमा पनि पछाडि परेको गुनासो गर्थे ।

‘चुनौतीसँग जुध्दै अघि बढ्दै’

साबिकका दर्जनभन्दा बढी गाविसलाई सम्बोधन गर्नेगरी गलकोट नगरपालिका बन्यो । जनप्रतिनिधि आए, वर्ष दिन बिताए । समसामयिक विषयमा गलकोटका नगर प्रमुख भरत शर्मा गैरेसँग प्रकाश बरालले गरेको कुराकानी :

निर्वाचित भएको एक वर्ष बित्यो । यस अवधिका उपलब्धि के–के छन् ?
पहिलो वर्ष सिकाइमै बित्यो । सोचेजस्तो सबै काम गर्न त सकिएको छैन तर धेरै योजना अघि बढाएका छौं । नगरपालिका र जनप्रतिनिधिको क्षमताले भ्याएका मध्ये सबै वडाको केन्द्रसम्म जोड्ने सडकको ट्रयाक खोलेका छौं । ती सडक आगामी वर्ष स्तरोन्नति हुनेछन् । हामीले भूउपयोग नीति बनाएर नगरभित्र भवन निर्माण आचारसंहिता लागू गरेका छौं । त्यस्तै नक्सा पास गरेर भवन बनाउने काम सुरु भयो । अधिकतम १२ मिटर र न्यूनतम ६ मिटरका चौडाइका सडक बनाउने निर्णय गरेका छौं । चालु वर्ष खनिएका सबै सडक यो मापदण्डमा परेका छन् । नगरभित्र चक्रपथ योजना बनाएर काम भइरहेको छ ।

नगर शिक्षा योजना बनाएर लागू पनि भइसकेको छ । विषयगत समिति बनाएर काम सुरु भएको छ । ती समितिले अध्ययन गरेर ल्याएको प्रतिवेदनका आधारमा हामी काम गर्छौं । आफैंले ऐन–कानुन बनाएर काम गर्नुपर्ने जिम्मेवारी छ । त्यसका लागि आवश्यक कानुन निर्माणको
चरणमा छौं ।

जनप्रतिनिधिले जनताको चाहना र आवश्यकताअनुसारका काम गर्न सक्ने रहेछन् ?
हाम्रो एक वर्षको अनुभवले काम गर्न सकिन्छ भन्ने लागेको छ । जनताले चाहेकै जस्तो नसके पनि दिएका आश्वासनमध्ये केही काम पूरा गर्न सकिन्छ । केही महत्त्वाकांक्षी चाहनालाई पूरा गर्न नसकिएला, आवश्यकता देखिएको स्थानमा सम्बोधन भने गर्न थालिसकेका छौं । कतिपय काम भने प्रक्रियागतरूपमा हुँदैछन् । बरु हामीले कर्मचारी अभावले धेरै समय काम गर्न सकेनौं । अझै पनि प्राविधिक कर्मचारीको अभाव छ । अन्य विषयगत क्षेत्र पनि अपूरो छ । आर्थिक वर्षको अन्त्यमा मात्र प्रमुख प्रशासकीय अधिकृत पाएका छौं । उहाँलाई वर्षभरिको काम र कर्तव्य बुझ्नै समय लाग्न सक्छ ।

काम गर्न कस्ता चुनौती देख्नुभयो ?
चुनावमा दिइने आश्वासनमध्ये कतिपय पूरा नहुने खालका हुने रहेछन् । ती विषयमा बडो गम्भीर भएर काम गर्नुपर्नेछ । जनप्रतिनिधि भएर आएपछि हामीले फेरि राजनीतिक कार्यकर्ताकै रूप देखायौं भने जनताले विश्वास गर्दैनन् भन्ने देखिन्छ । जनताले पत्याउने काम गर्न थुप्रै चुनौती छन् । त्यस्तै कर्मचारीमा जागिरे मानसिकता फेरेर कर्तव्यबोध बनाउने काम पनि उत्तिकै चुनौतीको हो । पहिलोपटक गठन भएको नगरपालिकामा पूर्वाधार, तथ्यांक अभाव र काम गर्ने तरिकासमेत धेरै सुस्त भयो । काम गर्ने आधार बनेपछि मात्र चुनौती चिर्न सकिन्छ । अहिले हामी चुनौतीसँग जुधेरै काम गरिरहेका छौं । विकास निर्माण र सामाजिक आर्थिक समृद्धिजस्ता विषयलाई व्यवहारमा देखाउन सकिने बेला अझै
भइसकेको छैन ।

चुनौती चिर्न के गर्नुभयो ?
हामीले नीतिगत निर्णय मात्र गरेका छैनौं, कार्यान्वयनलाई पनि सँगै लगेका छौं । त्यसैले केही चुनौती त अभ्यासबाटै चिरिन्छ । हामीसँग कुनै साधन स्रोत थिएन तर स्रोत भएका नगरपालिकाले गरेका कामभन्दा हामी कार्यसम्पादनमा कमजोर छैनौं । जनताको चाहनाअनुसार कर्मचारी र जनप्रतिनिधिको कामको गति मिलाउने प्रयास गरेका छौं । सोचेभन्दा धेरै राजस्व संकलन गर्न सफल भएका छौं । झन्डै डेढ करोड राजस्व उठाएर काममा सहजीकरण गर्न सकिएको छ । आगामी वर्ष हामीले २ करोड ५० लाख रुपैयाँ राजस्व उठाउन सकिने आधार बनाइसकेका छौं । त्यो हाम्रो सफलता हो । गलकोट नगरभित्र केही सिस्टम छ भन्ने पनि देखाउन थालिसकेका छौं ।

प्रदेश र संघमा आश्रित भइरहनुभन्दा स्थानीय तह आफैंले पनि आन्तरिक स्रोत बढाउनुपर्ने जिम्मेवारी छ । गलकोट नगरका स्रोत वृद्धिका आधार के हुन् ?
हामीले अहिले मालपोत, पसल दर्ता र सिफारिसबाट राजस्व संकलन गरेका छौं । अब कवाडी कर लगाउन थालेका छौं । त्यस्तै एकीकृत सम्पत्ति कर, ढुंगा, गिटी र बालुवा उत्खनन र केही पर्यटकीय स्थानको भ्रमण तथा प्रवेश कर लगाएर दायरा बढाउन सक्छौं । साथै मध्यपहाडी लोकमार्गको क्षेत्रमा रहेकाले ठूला उद्योग र व्यवसायमा लगानी भित्र्याउने काममा पनि हामीले सहजीकरण गर्ने सोच बनाएका छौं । विस्तारै स्रोत बढदै जानेछन् ।

सुशासन र पारदर्शिता चुनावी नारामै थियो । यसका लागि नगरपालिकाले के गर्‍यो ?
हामीले हालसम्म आन्तरिक बजेटबाट कुनै सुविधा लिएका छैनौं । रेडियो र सार्वजनिक स्थानबाट सुनुवाइ गरेर खर्च विवरण खुलाएका छौं । हरेक वडाका मुकाम जोड्ने सडकलाई भेलाबाट प्राथमिकीकरण गरेर योजनामा ल्याएका हौं । त्यस्तै चक्रपथको क्षेत्र छनोट, अन्य विकासनिर्माणका योजनामा पनि प्राथमिकीकरण गरेका छौं । कसैले खल्तीबाट ल्याएका योजना र बजेट पार्ने काम गर्दैनौं । संस्थागत रूपमा छलफल गरेर अगाडि बढेका छौं । नगरपालिकाले लेखा समिति, पूर्वाधार, शिक्षा तथा सामाजिक विकासलगायतका समिति बनाएर विशिष्टीकृत काम थालेका छौं । यसले पारदर्शिता दिने विश्वास गरेका छौं । हामीले गरेका कामको सबै हिसाब जनताले हेर्न सक्छन् ।

गलकोट रेमिट्यान्स भित्रिने ठाउँ हो । त्यसलाई सदुपयोग गर्नेबारे कुनै योजना छन् ?
धेरै गलकोटे वैदेशिक रोजगारीका लागि जापान र यूरोपेली मुलुकमा छन् । उनीहरूले कमाएको पैसा सदुपयोग गर्न हामीले विशेषगरी यहाँका खानी उत्खनन् र जलविद्युतमा लगानीको योजना बनाएका छौं । यहाँको दरमखोलामा धेरै विद्युत् आयोजना छन् । कतिपय आयोजना लगानी कुरेर बसेका छन् । ती स्थानमा रेमिट्यान्सलाई जोड्नका लागि नीतिगत र व्यावहारिक पहल भएको छ । त्यस्तै खानीहरू प्रशस्त भएकाले उत्खननका लागि सम्भाव्यता अध्ययन गर्न केन्द्रीय तहमा पहल भएको छ । सम्भव हुने स्थानमा लगानी बढाएर प्रतिफल पनि दिन सकिन्छ भन्ने निष्कर्षमा हामी पुगेका छौं । केही वर्षमा मात्र यसको प्रतिफल देखिन्छ । हाल कतिपय योजना हाम्रो डायरीमा मात्र थन्केका छन् ।

गलकोट पुरानो सदरमुकाम पनि हो । त्यो विरासतलाई जोगाउने के छन् त योजना ?
यहाँ रहेको सदरमुकाम सरेर बागलुङ नगएको भए हाम्रो विकास २५ वर्षअघि हुन्थ्यो । अब त्यो पछुतो मानेर भएन । बरु विकासको मोडल बनेर देखाउने बेला आएको छ । मध्यपहाडी लोकमार्ग यहींबाट गएको छ । त्योबाहेक कम्तीमा दुईवटा पर्यटन केन्द्र, चक्रपथ र वडा मुकाम जोड्ने सडक कालोपत्रे, सरसफाइमा अब्बल र सहिद थिरबम मल्लको क्षेत्र भनेर चिनाउने काम गर्छौं । सहिदको सपना पूरा गर्ने विषयमा पनि हामीले केही गरेर देखाउँछौं । प्राविधिक कलेज, आधुनिक कृषिको क्षेत्र र पर्यटक भित्र्याउने कामबाट आत्मनिर्भरताको बाटो खोजेका छौं । जलविद्युत् र उद्योगले रोजगारका अवसर बढाउँछौं । सदरमुकाम नभए पनि जिल्लाको दोस्रो नगरलाई समृद्ध बनाउने योजना छन् ।

बढ्दो सहरीकरणसँगै सबै बजार क्षेत्रलाई फोहोरमैला व्यवस्थापनको उचित योजना अनिवार्य छ । गलकोटका कस्ता योजना छन् ?
फोहोरबाट मोहर बनाउने अभियान सुरु भइसकेको छ । डम्पिङ साइट नबनाई कुहिने फोहोरलाई कम्पोस्ट मल बनाउने, प्लास्टिकजन्य फोहोरलाई प्रशोधन गरेर पुन: प्रयोगका सामग्री बनाउने र सिसालाई छुट्टै व्यवस्थापन गर्ने गरी एउटा कन्सल्टेन्सी खोजिसकेका छौं । त्यसबाट गलकोट क्षेत्रमै रोजगारी पनि बढ्नेछ । कन्सल्टेन्सीले केही काम थालिसकेको छ ।

हालका जनप्रतिनिधिले पाँच वर्षे कार्यकाल पूरा गर्दा गलकोट कस्तो हुन्छ ?
सबै वडामा कालोपत्रे सडक पुगेको हुनेछ । कम्तीमा दुईवटा पर्यटन केन्द्र बनेको, कृषिको व्यावसायिक विकास भएको र फोहोरबाट मोहोर निकाल्ने नमूना नगर बनाएर छाड्ने योजना छ । यी सबै कामका लागि प्राथमिकीकरण र प्रारम्भिक चरण सुरु भइसकेका छन् । म कानुनको विद्यार्थी पनि हुँ, त्यसैले कानुनको शासन स्थपित भएको नगर बनाउन पनि मैले उत्तिकै प्रयास गर्छु ।

प्रकाशित : असार ४, २०७५ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?