१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

प्रतिपक्ष सांसदले भने–बजेटमा राजनीतिक बेइमानी

दीपक परियार

लेखनाथ — प्रतिपक्षी सांसदले प्रदेश ४ को बजेटमा सत्तापक्षले राजनीतिक बेइमानी गरेको आरोप लगाएका छन् । प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष ०७५/७६ को बजेटमाथि आइतबार छलफल भएको थियो ।

प्रतिपक्ष सांसदले भने–बजेटमा राजनीतिक बेइमानी

बजेटमाथि धारणा राख्दै कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले सामाजिक सुरक्षा भत्ताबारे कही सम्बोधन नगरिएको उल्लेख गरे । सत्ता पक्षले वृद्ध भत्ता मासिक ५ हजार रुपैयाँ पुर्‍याउने आश्वासन दिएर भोट मागे पनि बजेटमा नपर्नु दु:खद भएको उनल जनाए । ‘सामाजिक सुरक्षालाई भजाएर चुनाव जित्नुभयो,’ उनले भने, ‘अहिले त्यही विषय सम्बोधन नहुनु राजनीतिकि बेइमानी हो ।’


राष्ट्रिय जनमोर्चा सांसद पियारी थापाले दिवा सेवा केन्द्र स्थापनाले मात्रै ज्येष्ठ नागरिकको हेरविचार नहुने बताइन् । ‘दिवा सेवा केन्द्र स्थापनाका लागि बजेटको व्यवस्था गरिएको भनिए पनि रकम उल्लेख भएको छैन,’ उनले भनिन्, ‘ज्येष्ठ नागरिक बारेको व्यवस्था अस्पस्ट छ ।’ उनले सामाजिक सुरक्षा भत्ता वितरण गर्नुपर्ने सुझाव दिइन् । कांग्रेस सांसद डोबाटे विश्वकर्माले बजेटले ज्येष्ठ नागरिकलाई सम्बोधन गर्न नसकेको बताए ।

प्रदेशको बजेटमा ज्येष्ठ नागरिकको सामाजिक संरक्षणका लागि ‘एक स्थानीय तह एक ज्येष्ठ नागरिक आश्रय स्थल’ र दिवा सेवा केन्द्र स्थापनाका लागि बजेटको व्यवस्था मिलाएको उल्लेख छ । कार्यान्वयन क्षमतामा सफलता निर्भर बजेटमाथि छलफलको पहिलो दिन १४ सांसदले आºनो धारणा राखे । अधिकांश सांसदले बजेट उत्कृष्ट भएको भन्दै कार्यान्वय क्षमताले सफलता निर्भर हुने जनाए । सांसद राजीव पहारीले बजेट प्रदेशको आर्थिक समृद्धिको जग भएको बताए । उनले राजस्वको सीमितताले बजेटको कार्यान्वयन पक्षलाई प्रभाव पार्न सक्ने आशंका व्यक्त गरे ।

सांसद रामजीप्रसाद बरालले सन् २०२२ सम्म २० लाख पर्यटक भित्र्याउने योजना असम्भव नभए पनि भौतिक पूर्वाधार प्रमुख भएको जनाए । सांसद हरिशरण आचार्यले बजेट सम्भाव्यता अध्ययनमा बढी केन्द्रित भएको प्रतिक्रिया दिए । उनले भने, ‘अब सम्भावना अध्ययनमा मात्रै बजेट छुट्याउने होइन कार्यान्वयनमै जानुपर्छ ।’

सांसद मीना गुरुङले हिंसापीडित महिला तथा बालबालिकालाई बजेटले सम्बोधन गरेकोमा खुसी व्यक्त गरिन् । सांसद प्रकाशचन्द्र दवाडीले प्रदेशको दिगो विकास सम्बन्धमा बजेट अस्पष्ट भएको उल्लेख गरे । सांसद जुनादेवी नेपालीले सरकारको नीति तथा कार्यक्रम रोमाञ्चक दस्तावेज र कल्पना मात्रै हो भन्नेका लागि बजेटले गतिलो जवाफ दिएको बताइन् । सांसद पुष्पा केसी भण्डारीले बजेटले प्रदेशलाई ऊर्जामा आत्मनिर्भर बनाउने बाटोमा डोर्‍याएको धारणा राखिन् । छलफलमा सांसद डिलमाया रोकामगर गौतम, रोशनबहादुर गाहा थापा, मधुमाया अधिकारी गुरुङ, चन्द्रबहादुर बुढाले बजेटले सबै पक्षलाई छोएको जनाएका थिए ।

यसअघि छलफलको सुरुवात गर्दै आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले बजेट सत्तापक्षको मात्र नभई प्रतिपक्षको पनि भएको बताएका थिए । सबै स्थानीय तहको अवस्था एकै नभएकाले कमजोरलाई बढी प्राथमिकता दिएर बजेट विनियोजन गरेको उनले जनाए । ‘अझै पनि तयारीकै वर्ष हो,’ उनले भने, ‘प्रदेशलाई आर्थिक रूपमा समृद्ध बनाउने ढोकाको रूपमा लिएका छौं ।’ बजेटमाथिको छलफल सोमबार जारी रहने जनाइएको छ ।

प्रकाशित : असार ४, २०७५ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?