कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

सामाजिक सुरक्षाको ५० हजार बढी विद्यालयलाई 

नारायण शर्मा

नवलपरासी — यहाँका ९३ वर्षीय बृद्धले सामाजिक सुरक्षा भत्ता (बद्धभत्ता) को ५० हजार बढी रकम विद्यालयलाई हस्तान्तरण गरेका छन् । 

सामाजिक सुरक्षाको ५० हजार बढी विद्यालयलाई 

देवचुली नगरपालिका–२ दुम्कौलीका ९३ वर्षीय धर्मलाल लम्सालले आफुलाई सरकारले दिदै आएको बृद्धभत्तावापतकाे रकम जम्मा गरेर ५० हजार ५ सय ५५ रुपैयाँ स्थानीय शान्ति श्रृजना आधारभुत विद्यालय झाक्रेलाई हस्तान्तरण गरेका हुन् । गरिब बिद्यार्थीको अध्ययनका लागि अक्षय कोष बनाउन उक्त रकम दिएका हुन ।

‘महिनैपिच्छे सरकारले दिने २ हजार संकलन गरेर राखेको थिए स्कुललाई दिए,’ लम्सालले भने, ‘आउँदा वर्ष त्यसलाई बढाएर २ लाख बनाउने धोको छ ।’

छोराबुहारीले आफ्नो स्याहारमा कुनै कमी नराखेका कारण सरकारले दिने भत्ता विद्यालयमा दिन पाएको उनले बताए । उनका एक छोरा र बुहारी छन् । बुहारी निर्मला उक्त विद्यालयकी शिक्षिका हुन् ।

विद्यालयमा सिजी फाउण्डेसनद्वारा निर्मित खानेपानी ट्यांकी हस्तान्तरण समारोहका प्रमुख अतिथि सांसद बिनोद चौधरीलाई लम्सालले उक्त रकम हस्तान्तरण गरेका हुन् । फाउण्डेसनले ४० लाख लागतमा त्यस बिद्यालयमा खानेपानी ट्यांकी (फिल्टर हुने) र डिजिटल क्लासरुम (८ वटा कम्प्युटर, प्रोजेक्टर र टेलिभिजन) सहयोग गरेको छ ।

तनहुको राइपुरमा जन्मेका लम्साल तन्दुरुस्त छन् । उनी हाल शिसवार मध्यवर्ती सामुदायिक वनका अध्यक्ष छन् । यसअघि पनि कुनै न कुनै संस्थालाई बृद्धभत्ता रकम सहयोग गर्दै आएका आफ्ना ससुराले यसपटक विद्यालयलाई सहयोग गर्दा आफुलाई पनि गर्व लागेको बुहारी निर्मलाले बताइन् ।

प्रकाशित : असार ४, २०७५ १०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?