२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

पर्यटनमा ‘रोमाञ्चक’ योजना

दीपक परियार

लेखनाथ — पोखरामा भित्रिएका पर्यटकको आधिकारिक तथ्यांक राख्ने सरकारी निकाय छैन । प्रदेश ४ सरकारले भने बजेटमा सन् २०२२ सम्म २० लाख पर्यटक भित्र्याउने ‘रोमाञ्चक’ योजना ल्याएको छ ।

पर्यटनमा ‘रोमाञ्चक’ योजना

सन् २०१७ मा ९ लाख ४० हजार २ सय १८ पर्यटक नेपाल भित्रिए । भित्रिएका पर्यटकमा ४० प्रतिशत पोखरा आइपुग्छन् भन्ने अनुमान गरिन्छ । हवाई मार्गबाट भित्रिने पर्यटकको तथ्यांक हुने भए पनि स्थलमार्गबाट भित्रिनेको कतै उल्लेख हुँदैन ।


अन्नपूर्ण क्षेत्रमा पदयात्रा गर्ने पर्यटकको तथ्यांक अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले राख्छ । प्रदेशका अन्य पर्यटकीय गन्तव्यमा पुग्ने पर्यटकको रेकर्ड भेटिँदैन । प्रदेशमा आगमन हुने पर्यटकको तथ्यांक कुन निकायले राख्नेबारेमा बजेटले बोलेको छैन । पर्यटन पूर्वाधार निर्माणमा बजेटको मुख्य जोड छ ।


प्रदेशले २४ अर्ब २ करोड ३३ लाख रुपैयाँको बजेटमा पुँजीगततर्फ १५ अर्ब ९० करोड ७८ लाख रुपैयाँ छुट्टयाएको छ । त्यसमध्ये पर्यटनमा ८५ करोड रुपैयाँ विनियोजन गरिएको छ । उक्त रकममध्ये ३० करोड रुपैयाँ ‘होमस्टे पर्यटन पूर्वाधार विकास कार्यक्रम’ लाई छुट्टयाइएको छ ।


तीन सय गाउँलाई नमूना पर्यटकीय गाउँका रूपमा विकास गरी ग्रामीण पर्यटन प्रवद्र्धन गर्न उक्त कार्यक्रम ल्याइएको आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले बताएका छन् । ‘प्रदेशभित्र रहेका ऐतिहासिक, सांस्कृतिक, धार्मिक, पुरातात्त्विक एवं प्राकृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गरिनेछ,’ उनले भने, ‘पर्यटन पूर्वाधारको विकास र विस्तार गरी पर्यटन सेवामा सुधार गरिनेछ ।’


सरकारले सन् २०१९ लाई आन्तरिक पर्यटन वर्ष, २०२० लाई छिमेकी देशका पर्यटक आकर्षण वर्ष र २०२२ लाई प्रदेश पर्यटनका रूपमा मनाउने जनाएको छ । सन् २०२२ सम्म प्रदेशमा २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य छ ।


पर्यटन क्षेत्रको एकीकृत विकास गर्न स्पष्ट कार्ययोजना र लागतसहितको पर्यटन गुरुयोजना तयार गर्न एक करोड रुपैयाँ छुट्टयाइको छ । प्रदेशमा पर्यटन सूचना केन्द्रको स्थापना गर्ने सरकारी तयारी छ । प्रदेशभित्रका महत्त्वपूर्ण पर्यटकीय स्थल, पर्यटन केन्द्र, पदमार्ग, होटललगायतका महत्त्वपूर्ण सेवा, सुविधा र सूचनाको प्रवाह उक्त सूचना केन्द्रबाट हुनेछ ।


नयाँ पदमार्गको निर्माण, मर्मत सुधार, सौन्दर्यीकरण र सूचना केन्द्रसमेतका लागि ६ करोड रुपैयाँ बजेट विनियोजन भएको छ ।


पोखरा–लेखनाथ महानगरपालिकासँगको सहकार्यमा फेवातालको आकार वृद्धि र एकीकृत संरक्षणसहितको पूर्वाधार विकास गर्ने बजेटमा उल्लेख छ । निजी क्षेत्रसँग सहकार्यमा फेवाताललाई सौन्दर्यीकरण र पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न मल्टिमिडिया म्युजिकल फाउन्टेन, डयामसाइडदेखि शान्ति स्तुपासम्म क्यानोपी वाक र वाटरलेभलमा ग्लासब्रिज निर्माण गर्ने प्रदेशको योजना छ ।


उक्त कार्यको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार गर्न ८ करोड रुपैयाँ बजेट प्रस्ताव गरिएको छ । यसको निर्माण कार्य सम्पन्न भएपछि फेवा ताल एसियाकै प्रमुख पर्यटकीय गन्तव्यको रूपमा विकास हुने मन्त्री गुरुङको विश्वास छ ।


पर्यटनमैत्री कार्यक्रमका माध्यमबाट धेरै पटक पर्यटक यस प्रदेशमा आउने वातावरणको सिर्जना गर्ने जनाइएको छ । गुणस्तरीय सेवा र नयाँ पर्यटकीय गन्तव्यको विकास गरी पर्यटकको बसाइँ अवधि लम्ब्याउने तयारी छ । प्रदेशले निजी क्षेत्रको सहकार्यमा पर्यटकलाई अतिथिका रूपमा सम्मान गर्न ‘अतिथि देवो भव: अभियान’ सञ्चालन गर्नेछ ।


प्रदेशको राजधानी र जिल्लासँगको हवाई सम्पर्कलाई पुन:स्थापना एवं विस्तार गर्न पालुङटार (गोरखा), हुम्डे (मनाङ) र ढोरपाटन (बागलुङ) विमानस्थल पुन: सञ्चालनमा ल्याउन नागरिक उड्डययन प्राधिकरणसँग समन्वय गर्ने बताइएको छ ।


साहसिक खेल पर्यटनको विकास र विस्तार गर्न अल्ट्रालाइट, प्याराग्लाइडिङ, बन्जी जम्प, क्यानोनिङ, रक क्लाइम्बिङ, कायाकिङ, स्काइ डाइभिङ, हिउँ स्केटिङ र स्कीजस्ता खेल पर्यटनको प्रवद्र्धन गरिने पनि बजेटमा उल्लेख छ ।


संघ र स्थानीय तहसँगको सहकार्यमा प्रदेशमा रहेका ताल, कुण्ड र पोखरीको संरक्षणका लागि ‘ताल संरक्षण विकास प्राधिकरण’ गठन गरी कार्यान्वयन गरिने भएको छ । बजेटमा भनिएको छ, फेवाताल–बेगनासताल–रूपाताल कनेक्टिभिटीका लागि स्थानीय तह र निजी क्षेत्रसँगको सहकार्यमा मोनोरेल सञ्चालन गर्न सम्भाव्यता अध्ययन गर्ने कार्यक्रमलाई निरन्तरता दिइनेछ ।’


अन्नपूर्ण र मनास्लु संरक्षण क्षेत्र तथा प्राकृतिक, ऐतिहासिक, धार्मिक, सांस्कृतिक क्षेत्र तथा ग्रामीण पर्यटन केन्द्र, होमस्टे, पदयात्रा मार्गलाई नियमन र व्यवस्थित गर्न नीति तर्जुमा गरी कार्यक्रम सञ्चालन गर्ने व्यवस्था प्रदेश सरकारले गर्ने जनाइएको छ । मनाङ र लोमान्थाङ (उपल्लो मुस्ताङ) क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास र प्रवद्र्धन गर्न गुरुयोजना तयारीका लागि बजेटको व्यवस्था गरिएको छ ।


पर्यटन उद्योगलाई आधुनिक र सुविधासम्पन्न बनाउन पर्यटन सेवा सुविधासम्बन्धी मापदण्ड तयार गर्ने प्रदेश सरकारको तयारी छ । महत्त्वपूर्ण पर्यटकीय गन्तव्यस्थलमा आधुनिक र सुविधासम्पन्न होटल स्थापना गर्न निजी क्षेत्रलाई प्रोत्साहन गर्ने बजेटमा जनाइएको छ ।


स्वर्गद्वारी (ओं प्ले क्वा), मेलेरूपा गुफा, कपुचे ताल, कोरी (ठुलेक), पञ्चासे लेक, छिम्केश्वरी र देवचुली (वरचुली) महाभारत शृंखलालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरी प्रवद्र्धन गर्न गुरुयोजना निर्माणको व्यवस्था गर्ने प्रदेशको योजना छ ।


पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण उच्च हिमाली क्षेत्रमा पर्यटन सूचना केन्द्र, स्वास्थ्य परीक्षणस्थल र उद्धार केन्द्र स्थापना गरी सुरक्षित गन्तव्यका रूपमा विकास गर्न १ करोड रुपैयाँ बजेट विनियोजन भएको छ । प्रदेशका प्राकृतिक सौन्दर्यले भरिपूर्ण मुस्ताङ, मनाङ र चुम–नुम्ब्रीलाई अन्तर्राष्ट्रियस्तरको फिल्म सुटिङस्थलका रूपमा विकास गर्न १ करोड ५० लाख रुपैयाँ बजेट छुट्टयाइएको छ ।


पोखरा पर्यटन परिषद् अध्यक्ष केदारनाथ शर्माले पर्यटनलाई प्राथमिकतामा राखेर बजेट आउनु सकारात्मक पक्ष भएको बताउँछन् । बजेटमा उल्लेखित योजना कार्यान्वयन भए प्रदेशको पर्यटनमा कायापलट हुने उनले बताए । ‘यस क्षेत्रमा आउने पर्यटकको परिमाणलाई हेरेर होमस्टेलाई प्राथमिकता दिनु सकारात्मक छ,’ उनले भने, ‘यसले आन्तरिक पर्यटक बढाउँछ ।’

प्रकाशित : असार ६, २०७५ ११:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?