वनका बेलबाट आम्दानी

३ वर्षदेखि म्याग्देका सामुदायिक वनबाट बेल संकलन गरेर प्रशोधन गर्दै जुस उत्पादन 
प्रताप रानामगर

दमौली — वनमा फलेर खेर जाने बेल आम्दानीको दरिलो स्रोत भएको छ । तनहुँको म्याग्दे गाउँपालिकाका स्थानीयले बेललाई प्रशोधन गरी जुस बनाउन थालेपछि मनग्य आम्दानी लिन थालेका छन् । 

वनका बेलबाट आम्दानी

म्याग्देका सातवटा सामुदायिक वनबाट बेल संकलन गरेर प्रशोधन गर्दै जुस उत्पादन गर्न थालेको तीन वर्ष भएको छ । पोसेली, बच्याङ, ज्यान्टाङ, पँधेराखोला, भीरपानी, उमाचोक, सिद्ध र बतासन सामुदायिक वनबाट बेल संकलन गर्नेले आम्दानी लिँदै आएका छन् ।


तीन वर्षमा ६ हजार २ सय बोतल जुस उत्पादन गरेको माउन्टेन तनहुँ सामुदायिक बेल तथा फलफूल प्रशोधन केन्द्र उद्योगका अध्यक्ष तेजबहादुर रानाभाटले बताए । एउटा बोतलमा सात सय एमएल हुन्छ । ‘खेर गाएको बेललाई सदुपयोग गरेर जुस बनाउँछौं,’ उनले भने, ‘सानो स्केलको उद्यम हो ।


हालसम्म ४ लाख ८२ हजार रुपैयाँ आम्दानी भएको छ ।’ यहाँ उत्पादित बेलको जुस स्थानीय बजारका साथै पोखरा, चितवन र काठमाडौंसम्म बिक्रीका लागि पठाउने गरिएको उनले बताए । बजारबाहेक मेला महोत्सवमा पनि बिक्री र प्रदर्शनीका लागि राख्ने गरिएको छ । बेलको जुस सेवन गरेमा पाचन शक्ति बढ्ने, उच्च रक्तचाप र मुटु रोगीका लागि लाभकारी हुने भएकाले बिक्रीमा समस्या नभएको उनले सुनाए ।


एउटा कोठामा, थोरै लागतबाट गाउँलेले थालेको उत्पादनलाई बजारले गति लिएपछि अब व्यविस्थत तवरको उद्योग सञ्चालन सुरु भएको छ । म्याग्दे ४ जामुनेमा सुविधासम्पन्न भवनमा अत्याधुनिक मेसिनसहित जुस उद्योग सञ्चालन सुरु भएको हो । ४८ लाख ६८ हजार रुपैयाँको लागतमा स्थापना गरिएको उद्योगको बिहीबार गाउँपालिका अध्यक्ष मायादेवी रानाले उद्घाटन गरिन् ।


‘हाम्रो सानो स्केलको सुरुवातबाट बजारको सम्भावना देखियो,’ उद्योगका अध्यक्ष रानाभाटले भने, ‘संघसंस्था र सहयोगीले हामीलाई व्यवस्थित उद्योग नै चलाउनुस् भनेर हौसला दिएका छन् ।’ जुस उत्पादनको उद्यमलाई व्यवस्थित उद्योगमा रूपान्तर गर्न लगानीका लागि ६ सामुदायिक वन उपभोक्ता समूहबाट ८ लाख ६० हजार, केयर नेपाल र हरियो वन कार्यक्रमबाट ३० लाख १५ हजार रुपैयाँ सहयोग जुटेको हो । घरेलु तथा साना उद्योग विकास समितिले ९५ हजार रुपैयाँ बराबरको उपकरण सहयोग गरेको उद्योगले जनाएको छ ।


‘अब प्रशोधनका सबै काम मेसिनबाट हुने भएपछि बर्सेनि ८ हजार बोतल जुस उत्पादन गर्नुपर्छ भन्ने लक्ष्य छ,’ रानाभाटले भने, ‘हाम्रो उद्यमले नजानिँदो पाराले वन जोगाएको छ, गाउँलेको आम्दानी बढाएको छ ।’ उद्योगबाट जुस प्रतिबोतल खुद्रामा १ सय ५० रुपैयाँमा बिक्री हुँदै आएको छ ।


व्यवस्थित उद्योग सञ्चालन भएपछि दैनिक चार सय रुपैयाँ ज्याला लिनेगरी स्थानीय नौ महिलाले रोजगारी पाएका छन् । ‘जंगलमा गएर बेल टिप्ने र उद्योगमा ल्याएर प्रशोधन गर्ने काम हो,’ स्थानीय केसीमाया थापाले भनिन्, ‘गाउँघरमै बसीबसी रोजगारी पाइयो ।’ उद्योग सञ्चालनमा आबद्ध १ हजार ३ सय घरधुरी सामुदायिक वन उपभोक्ता समितिका सदस्य छन् ।

प्रकाशित : असार ६, २०७५ ११:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?