कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पुलले जोड्यो दुर्गम बस्ती

पुलले कुर्घा, देवीस्थान र ठानामौलाका बासिन्दालाई बढी फाइदा
तोकिएको समयभन्दा चार महिनाअगाडि नै पुलको निर्माण पूरा
दिप्ती सिलवाल

पर्वत — स्थानीय तहको नयाँ संरचना कार्यान्वयनसँगै फलेवास नगरपालिका बनेको हो । यसका दुई बस्ती कुर्घा र लुंखुका बीचमा चिर्दीखोला पर्छ । सीमानामा भएको खोलामा पुल नहुँदा वारिपारि गर्न सहज थिएन । सवारीसाधनमा पारिको गाउँ जानुपर्दा कास्की र स्याङ्जा घुमेर जानुपर्थ्याे ।

पुलले जोड्यो दुर्गम बस्ती

चिर्दीखोलामा पक्की पुल बनेपछि दुई बस्ती सडक सम्पर्कमा जोडिएका छन् । पुल गत साता निर्माण पूरा भएपछि वारिपारिका गाउँले खुसी भएका छन् । पुल सञ्चालना आएसँगै फलेवासका ७, ८ र ९ नम्बर वडावासीको चिर्दीपारिको सम्बन्ध सहज भएको छ । पुलले कुर्घा, देवीस्थान र ठानामौलाका बासिन्दालाई बढी फाइदा पुगेको छ ।

यी गाउँवासीको पारिपारि खेतबारी भएकाले काम गर्न आउजाउ असहज थियो । पुलले दुई गाउँ जोडेपछि सजिलो भएको लिमिठानाकी शोभा क्षत्रीले बताइन् । ‘हाम्रो दूध बजार पठाउन पनि ढुक्क भयो,’ उनले भनिन् । किसानले सामूहिक रूपमा सुरु गरेको डेरीमा संकलित दूध बजार पठाउन पनि पुलले सहज बनाएको उनले बताइन् ।

स्थानीय पूर्वाधार विकास तथा ग्रामीण कृषि सडक विभाग (डोलिडार) को १ करोड ६७ लाख १९ हजार रुपैयाँको लागतमा पुल निर्माण पूरा भएको हो । प्राविधिक कार्यालयका अनुसार तोकिएको समयभन्दा चार महिना अगाडि नै निर्माण भएको छ । पुल निर्माणको ठेक्का मृत सञ्जिवनी विद्याञ्चल जेभीले लिएको थियो । कम्पनीका ठेकेदार चेतनारायण आचार्यले आगामी असोजसम्म निर्माण सक्नेगरी सम्झौता गरेका थिए । ‘सुरुदेखि अन्तिमसम्म काममा अवरोध भएन,’ उनले भने, ‘मौसमले पनि साथ दिएपछि काम छिटो भएको हो ।’ स्थानीयको सकारात्मक सुझाव र सहयोगले छोटो समयमा काम गर्न सकिएको उनले सुनाए ।

आरसीसी टी–बिम पद्धतिको यो पुल निर्माणका लागि ०७४ असार ११ मा ठेक्का सम्झौता भएको थियो । ठेकेदार कम्पनीले तोकिएकै मापदण्डमा सम्झौता अवधि सकिनुअघि नै पूरा गरेको जिल्लामा सम्भवत: यो पहिलो योजना हो । पुल बनेपछि फलेवाससँगै महाशिला, बिहादी र पैयुँ गाउँपालिका, बागलुङको जैमिनी नगरपालिका र गुल्मीको कालीगण्डकी गाउँपालिका सम्मका बासिन्दालाई आउजाउमा सहज भएको छ ।

चिर्दीखोलामा पुल नहुँदा वर्षातका सात महिना दक्षिणी पर्वतका तीन गाउँपालिकामा गाडी चल्दैनथे । ‘५६ किलोमिटरको बाटो कास्की र स्याङ्जा हुँदै डेढ सय किलोमिटर हिँड्नुपथ्र्यो,’ हुवासका सवारीचालक श्याम क्षत्रीले भने, ‘गएको सातादेखि धेरै सजिलो भयो । घुमेर ६ घण्टामा पुगिने बाटो अब २ घण्टामै पुगिन्छ ।’ पुल बनेपछि बाह्रैमास गाडी गुड्न सहज हुने उनले बताए ।

प्रकाशित : असार ७, २०७५ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?