कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

पूर्वाधारलाई प्राथमिकता दिन सुझाव

पोखरा–लेखनाथ महानगरपालिकाको निर्वाचित र प्रदेश सांसदसँग छलफल
जनताको चाहना विकास र सुशासन

लेखनाथ — कास्कीबाट निर्वाचित सांसदले स्मार्ट सिटीको पूर्वाधारलाई प्राथमिकता दिएर नीति, कार्यक्रम, योजना र बजेट बनाउन पोखरा–लेखनाथ महानगरपालिकालाई सुझाव दिएका छन् । उनीहरूले जनताले विकास र सुुशासन चाहेकाले त्यसलाई ध्यानमा राखेर बजेट ल्याउनुपर्ने सुझाव दिए ।

पूर्वाधारलाई प्राथमिकता दिन सुझाव

महानगरपालिकाले तेस्रो नगरसभाअघि संघमा निर्वाचित सांसद र प्रदेश सांसदसँग बुधबार छलफल गरेको हो । महानगरको तेस्रो नगरसभा असार १० देखि सुरु हुँदैछ । नगरसभामा प्रस्तुत गर्ने नीति, कार्यक्रम, योजना र बजेटको तयारीमा महानगर जुटेको छ ।

सांसद खगराज अधिकारीले विजयपुर खोलामा पुल थप्नुपर्ने र चौडाइ ४ लेनको बनाउनेतर्फ महानगरको ध्यानाकर्षण गराए । बाइपास सडक बनाएर पोखराको ट्राफिक जामलाई घटाउने योजना महानगरपालिकाले ल्याउनुपर्ने उनको सुझाव छ । ‘पोखरामा पर्यटन विश्वविद्यालयको खाँचो छ,’ उनले भने, ‘ताल संरक्षणका साथै महानगरका सबै वडालाई जोड्ने सडक सञ्जाल विस्तारमा विशेष ध्यान दिनुपर्छ ।’

प्रदेश सांसद कृष्ण थापाले चुनावी घोषणपत्रमा समेटिएका योजनालाई पूरा गर्ने गरी बजेट ल्याउनुपर्ने बताए । ‘पोखराका डाँडाकाँडालाई ग्रिन सेटेलाइट सिटी बनाउनुपर्छ,’ उनले थपे, ‘समग्र पोखराको विकासको गुरुयोजना बनाएर अगाडि बढे मात्र स्मार्ट सिटी बन्न सक्छ ।’ प्रदेश सांसद दीपक कोइरालाले साबिकको लेखनाथ नगरपालिकाका बासिन्दालाई महानगरको अनुभूति हुने गरी योजना बनाउनुपर्ने सुझाए । ‘तालको संरक्षणका लागि गुुरुयोजना आवश्यक छ,’ कोइरालाले भने, ‘जनताको जीवनस्तर परिर्वतन हुने गरी बजेट ल्याउनुपर्छ ।’

अर्का प्रदेश सांसद मनबहादुर गुरुङले विजयपुरको किनारैकिनार सडक बनाउनुपर्ने बताए । उनले पोखरादेखि २ घण्टाको यात्रामा हिउँ छुन सकिने ठाउँ भएकाले तिनलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्नुपर्ने उल्लेख गरे । प्रदेश सांसद विन्दुकुमार थापाले पोखराले भू–उपयोग र जल उपयोग नीति ल्याउनुपर्ने बताए ।

सार्वजनिक जग्गाको संरक्षण, सुकुम्बासी समस्या समाधान, करदातामैत्री सुशासनलगायत समग्र पोखराको गुरुयोजना बनाउनुपर्ने उनको सुझाव थियो । प्रदेश सांसद राजीव पहारीले जनताले सुशासन र विकास चाहेकाले त्यसलाई ध्यानमा राखेर सन्तुलित विकास गर्नुपर्ने धारणा राखे । उनले चाक्ला सडक र पार्किङ स्टेसन बनाउन पनि महानगरलाई सुझाव दिए ।

प्रदेश सांसद रामजी बराल जीवनले सेवालाई प्रभावकारी बनाउनुपर्ने बताए । ‘जनताको घरमा बोरामा फोहोर कुहाएर राख्नुपर्ने बाध्यताको अन्त्य गर्नुपर्छ,’ उनले भने । चौबीसै घण्टा धारामा पानी आउने गरी योजना बनाएर काम गर्नुपर्नेमा उनको जोड थियो । प्रदेश सांसद मित्रकुमारी गुरुङ सुवेदीले खानेपानी व्यवस्थापन र महिला कानुनी परामर्शलाई प्रभावकारी बनाउनेतर्फ ध्यान दिनुपर्ने बताइन् । प्रदेश सांसद गायत्री गुरुङले ऐतिहासिक कोटलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्नुपर्ने सुझाव दिइन् । प्रदेश सांसद पुष्पा केसी भण्डारीले बजारलाई सफा राख्न प्लास्टिकको विकल्प खोज्नुपर्ने जनाइन् ।

मेयर मानबहादुर जीसीले महानगरको आवश्यकता बुझ्न छलफल आयोजना गरेको बताए । महानगरपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले ५ समिति बनाएर नीति, कार्यक्रम र बजेट निर्माणको काम भइरहेको बताए । उनले बजेटका बारेमा महानगरपालिकाले विज्ञसँग छलफल गरिरहेको जनाए ।

प्रकाशित : असार ७, २०७५ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?