कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ठगेर ठेकेदार बेपत्ता

पर्वत — प्राविधिक कार्यालयले गुणस्तरहीन कामको भुक्तानी दिएका निर्माण कम्पनीका ठेकेदारले स्थानीय व्यवसायी र सर्वसाधारणलाई सबा करोड रुपैयाँ ठगी गरेका छन् ।

ठगेर ठेकेदार बेपत्ता

मुडिकुवा–झकलाक सडकका ठेकेदारले कुश्मा र फलेवासका व्यवसायीलाई १ करोड २६ लाख रुपैयाँ तिर्न बाँकी छ ।

सम्झौता मिति असार २० मा सकिने हुँदा ठेक्कामा प्रगति ६० प्रतिशतमात्रै छ । स्थानीय विकास मन्त्रालयको ग्रामीण पुनर्निर्माण तथा पुनस्र्थापना आयोजना (आरआरआरएसडीपी) को १२ करोडमा कालोपत्रे हुन लागेको सडक ओएसीस इन्जिनियरिङ एन्ड बिल्डर्स कम्पनीका सञ्चालक अच्यूतराज पाण्डेलाई ठेक्का परेको थियो । पाण्डेले रसुवाको डाँडागाउँका मंगले तामाङलाई ‘पेटी ठेक्का’ दिएका थिए । उनै तामाङले पर्वतका व्यवसायी र सर्वसाधारणलाई नगद, निर्मााण सामाग्री, ढुवानी भाडा, खाद्यान्न र इन्धनलगायतको रकम ठगी गरेर वेपत्ता भएका हुन् । ठगिएकाले स्थानीय प्रशासन हुँदै गृहमन्त्रालयसम्म उजुरी गरेका छन् ।

‘हामी ठगिएको एक वर्ष पुगिसक्यो,’ फलेवास ५ खानीगाउँका तोरण शर्माले भने, ‘जिल्ला प्रशासन र प्रहरीमा धेरै पटक धाउँदा न्याय नपाएपछि मन्त्रीलाई नै भेट्यौं ।’ वर्ष दिन अघि दिएको निवेदनसहित लिनुपर्ने रकम माग गर्दै आफूहरूले गत जेठ ९ मा गृहमन्त्रालयमा लिखित निवेदन दिएको उनले बताए । मन्त्रालयले सम्बन्धित ठेकेदारलाई सम्पर्कमा ल्याएर आवश्यक कारबाही गर्न पर्वत प्रशासनलाई निर्देशन दिएको छ ।

फलेवास ४ मुडिकुवादेखि फलेवासकै वडा नम्बर ५ को झकलाकसम्मको पौने सात किलोमिटर सडकको ६. २५ किलोमिटर चौडा कालोपत्रे गर्न ०७२ माघमा ठेक्का सम्झौता भएको थियो । ओएसीसका सञ्चालक पाण्डेले मंगलेलाई जिम्मा लगाएका थिए । दुई वर्षसम्म फिल्डमा काम गरेका तामाङले ‘पैसा आएपछि तिर्छु’ भन्दै नगद तथा आवश्यक सामग्री लिएको आरोप छ । ‘मुख्य ठेकेदार मै हुँ भन्ने आशयको कुरा हुन्थ्यो,’ कुश्माका व्यवसायी राजनकुमार जोशीले भने, ‘विश्वासमा पर्दापर्दै एक्कासी गायव भए । सम्पर्कै हुँदैन ।’

तामाङका परिवारले मुख्य ठेकेदार पाण्डेबाट ठगिएपछि उनी एक वर्षदेखि पारिवारिक सम्पर्कमा नआएको जनाएको छ । ‘बुबा ल्याप्चे (अनपढ) हो,’ मंगलेका छोरा जगत तामाङले शुक्रबार कान्तिपुरसँग भने, ‘ठेकेदारले हामीलाई धेरै ठगेका छन् । अहिले बुबा हाम्रो सम्पर्कमा पनि हुनुहुन्न ।’ पाण्डेकै दबाबका कारण बाबु परिवारको समेत सम्पर्कमा आउन नसकेको उनको आरोप छ ।

मुख्य ठेकेदार पाण्डेले तामाङ र आफूबीच हाल कुनै सम्बन्ध नभएको बताए । ‘मैले तत्कालै वर्क पेमेन्ट गरेको हो,’ उनले भने, ‘मिति बिर्सें । ९८ लाख रुपैयाँ बैंकमा जम्मा गरिदिएको १५ मिनेटभित्रै पैसा झिकेर सम्पर्कविहीन भए ।’ फिल्डमा आउँदा सम्झौता बमोजिमको काम नभएपछि तामाङलाई बारम्बार सम्पर्क गरेको उनले बताए ।

प्रकाशित : असार ७, २०७५ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?