व्यवसाय बढाउँदै क्यानोनिङ

क्यानोनिङ जिल्लाको साहसिक व्यावसायिक पर्यटन उद्योग

पर्वत — कुश्मा ३ का युवाले सुरु गरेको क्यानोनिङ (छाँगारोहण) ले पर्यटकको आकर्षण बढाउँदै छ । युवाले गत माघदेखि सुरु गरेको क्यानोनिङ जिल्लामै पहिलो साहसिक व्यावसायिक पर्यटन उद्योग हो ।

व्यवसाय बढाउँदै क्यानोनिङ

सुरुमा परीक्षणका रूपमा सञ्चालनमा ल्याइएको क्यानोनिङको व्यवसयिक सम्भावना बढेपछि अशोक गुरुङ र खड्कबहादुर गुरुङलगायतले सामूहिक क्यानोनिङ व्यवसाय दर्ता गरेका थिए । उनीहरूले दुर्लुङमा एकीकृत सामुदायिक विकास केन्द्र सञ्चालन गरी क्यानोनिङलाई अघि बढाएका हुन् ।


दुर्लुङ हुँदै बग्ने महभीर खोलाको झरनाको करिब १ सय ५० मिटर अग्लो स्थानबाट क्यानोनिङ गर्न सकिन्छ । योसँगै स्थानीय होमस्टेमा गर्मी छल्दै बस्न रुचाउनेको भीड पनि बढेको छ । ‘हिजोआज सातामा दुइ/तीन ग्रुप आउने गरेका छन्,’ क्यानोनिङका अगुवा अशोक गुरुङले भने, ‘गएको महिना आएका तीन ग्रुपमा विदेशी पनि थिए । उनीहरू निकै रमाए ।’

पोखराका युवाको समूहमा आएका जर्मनी र बेलायती पर्यटकले दुर्लुङको क्यानोनिङ रुचाएको उनले बताए । क्यानोनिङ र स्थानीय गुरुङ समुदायको मौलिक खाना र मनोरञ्जनले पर्यटक लोभिने गरेका हुन् । क्यानोनिङलाई व्यावसायिक रूपमा सञ्चालनका लागि वैधानिकता पाएपछि हौसला बढेको सञ्चालकले बताएका छन् । मनोरम झरनामा बाह्रै महिना क्यानोनिङ गर्न सकिने सम्भावना भएकाले जिल्ला प्रशासन र पर्यटन बोर्डलगायतबाट दर्ताको प्रक्रिया पूरा गरेर व्यावसायिक तरिकाले सञ्चालन गरिएको सामुदायिक विकास केन्द्रका अध्यक्ष उद्धिमबहादुर गुरुङले बताए ।

कुश्माबाट सात किलोमिटर कच्ची सडकको यात्रामा पुगिने महभीरखोला आसपासमा गुरुङबस्ती छ । गुरुङ समुदायबाट कुश्मामा व्यवसाय गर्ने र वैदेशिक रोजगारीमा गएकाको सामूहिक अवधारणाबाट यस्तो व्यवसाय सुरु गरिएको हो । क्यानोनिङका लागि जाने पाहुनाका कारण स्थानीय किसानका उत्पादन र घरेलु हस्तकलाका सामानको बिक्री बढेको छ ।

बास बस्ने पाहुनाले स्थानीय कोदो, मकै, जौ, मट्टमास लगायतका परिकार खान्छन् । फर्किंदा अल्लो, बाँस, निगालो लगायतबाट बनेका हस्तकलाका सामग्री लैजान्छन् । ‘क्यानोनिङले यहाँका धेरैको व्यवसाय फस्टाएको छ,’ स्थानीय नरमान गुरुङले भने, ‘सीप हुनेले सिस्नो बेचेर पनि पैसा कमाएका छन् ।’ कुश्मामा निर्माणाधीन बन्जी जम्पका लागि आउने पर्यटकलाई क्यानोनिङमा लान सके पर्यटनमा धेरै अगाडी बढ्न सकिने सरोकारवालाको ठम्याइ छ । नजिकैको चनौटेका करिब एक दर्जन घरमा होमस्टे सञ्चालन भइसकेको छ ।

प्रकाशित : असार ८, २०७५ १०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?