कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

मनाङ पुग्न छैन गाह्रो

जोमसोमबाट मुक्तिनाथसम्म कालोपत्रे
बेंसीसहर–चामेको बाटो फराकिलो र सजिलो

लमजुङ — हिमालपारिका दुई जिल्ला मनाङ र मुस्ताङ यात्राका प्रसंगमा धेरैलाई थाहा भइसक्यो मुक्तिनाथसम्मको सडक यात्रा सहज छ । जोमसोमबाट मुक्तिनाथसम्म कालोपत्रे भइरहेको छ ।
मनाङमा केही समय बसेका श्रीकृष्ण पौडेलका अनुसार बेंसीसहर–चामेको बाटो दशकअघिको जस्तो असजिलो छैन ।

मनाङ पुग्न छैन गाह्रो

‘पहिले बाटोमा मोटर गुड्न नसकेर कयौंपटक बाटोमै बास बसियो,’ उनले भने, ‘अहिले त बाटो पनि राम्रो, फराकिलो पनि । विकास भनेको यही रहेछ ।’ झापाका नवीन ढुंगानाले मनाङ जान असाध्यै अप्ठ्यारो छ भन्ने सुनेका थिए । तर, पुग्दा त्यस्तो अप्ठ्यारो नलागेको बताए । ‘अलि नराम्रो भन्ने गरिएको तल्लो ठाउँ रहेछ,’ उनले भने, ‘बाटो मर्मत हुँदै गरेकाले त्यो ठाउँ पनि पछि राम्रै होला ।’ चामेदेखि माथिल्लो मनाङको बाटो कल्पनाभन्दा पनि राम्रो रहेको उनले बताए । ‘पूरै समथर, हिमाल हेर्दै मोटरमा गए हुन्छ, पैदल हिँडे पनि रमाइलो रहेछ,’ उनले भने ।


जिल्ला समन्वय समिति लमजुङका प्रमुख लोकराज पाण्डेले खोलानालामा पुल छिटो निर्माण भए मनाङसम्म पुग्ने सडक धेरै राम्रो हुने बताउँछन् । ‘मनाङ पुग्न अप्ठ्यारो भएन । अब तल्लो क्षेत्रका काठेपुललाई फालेर पक्की पुल बनाउनुपर्छ,’ उनले भने, ‘माथिल्लो मनाङका काठेपुलले भने छुट्टै विशेषता बोकेका छन्, ती पुललाई मर्मत गर्नुपर्छ, फाल्नु हुँदैन ।’


सवारीचालक हुमप्रसाद गुरुङका अनुसार बेंसीसहरदेखि चामेसम्मको ६५ किलोमिटर सडक प्राय: सबै खाल्डाखुल्डी, साँघुरो, ग्रेड नमिल्ने समस्या थियो । यो समस्या विस्तारै हटदै गएको छ । ‘खाल्डाखुल्डी पुर्दै लगिएको छ । ग्रेड मिलाउने काम भइरहेको छ, साँघुरो सडकमा रेलिङ राखिएको छ,’ उनले भने, ‘पहिलेजस्तो दिनदिनै १०/१५ पटक भुइँमा गाडी ठोक्किने समस्या छैन ।’ पहिले यात्रुले यस्तो बाटो ल्याउने भनेर गाली गर्दै ओर्लिएर पैदलै हिँडेको सम्झना आउने उनले बताए । पहिले ८ घण्टा लाग्ने बाटो छोट्टिएर अहिले बढीमा ६ घण्टामै बेंसीसहरबाट चामे पुगिन्छ ।


मनाङ ङिस्याङ गाउँपालिका अध्यक्ष कान्छा घलेका अनुसार हिमाली जिल्ला मनाङ प्राकृतिक छटाले भरिपूर्ण छ । बर्सेनि हजारौंको संख्यामा देशी–विदेशी पर्यटक घुम्नकै लागि मनाङ आउँछन् । ‘प्रकृतिको वरदान हेर्न अहिले पर्यटक मनाङ आउँछन् । हिजोका दिनमा भन्दा हाल सहज भएको छ,’ उनले भने । उनका अनुसार यहाँको हावापानी र प्रकृतिसँगै भिजेर गएकाहरू काठमाडौं, पोखरा, चितवनबाट एकै दिन माथिल्लो मनाङ आउँछन् । सीमा प्रहरी चौकी धारापानीका सई लोकबहादुर थापाका अनुसार मनाङ घुम्न आउने पर्यटकले बाटो राम्रो बनेको बताउने गरेका छन् ।


सदरमुकामलाई सडक सञ्जालमा जोड्न सडक विभागले २०५१ देखि बेंसीसहर–चामे सडक निर्माण थाल्यो । सशस्त्र द्वन्द्वका बेला बाटो बनाउन नसक्ने भएपछि ५८ सालदेखि तत्कालीन शाही नेपाली सेनाले सडकको ट्रयाक खोल्ने जिम्मा लियो । ०६९ कात्तिकदेखि मोटर गुड्न थाल्यो । नासों गाउँपालिका अध्यक्ष चन्द्र घलेका अनुसार मनाङवासीको घरआँगनमै मोटर पुगेको छ । मोटर चढ्ने सपना पूरा भएको छ ।

मनाङका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले पहिलेको तुलनामा सडक स्तरोन्नति भएको छ । ‘बर्खा लागिसकेको छ । अहिलेसम्म केही भएको छैन । ठूलै बाढीपहिरो आयो भने समस्या नै हुने भयो । नत्र बाटो राम्रो बन्दैछ ।’ मनाङका पर्यटन व्यवसायी कर्म गुरुङले सडक राम्रो भएपछि पर्यटक आगमन बढ्ने बताए ।

प्रकाशित : असार ८, २०७५ १०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?