कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

विद्यालय निर्माणमा सहयोग

बागलुङ — भूकम्पले भत्किएको विद्या मन्दिर माविका लागि ब्रिटिस वेलफेयर ट्रस्टले आठकोठे भवन बनाइदिएको छ । ट्रस्टले १ करोड ३५ लाख रुपैयाँमा भवन बनाइदिएको हो । गत मंसिरमा सुरु भएको निर्माण गत साता सम्पन्न भएको छ । निर्माणका लागि ट्रस्टले आफैं कामदार पनि खटाएको थियो ।

विद्यालय निर्माणमा सहयोग

भूकम्पले क्षतिग्रस्त पुरानो भवन भत्काएर नयाँ बनाउने अभियानकै क्रममा ट्रस्टले आठ कोठाको भवन बनाउने जिम्मा लिएको थियो । बेलायती सेनाबाट सेवानिवृत्तहरूको पेन्सन र स्वास्थ्य सेवाको काम गर्ने ट्रस्टले भूपू सैनिकहरूकै आग्रहमा भवन बनाइएको हो । ट्रस्टले उक्त भवनका लागि आवश्यक फर्निचर र भित्री पूर्वाधार पनि बनाइदिने सदस्य लेफ्टिनेन्ट कर्नेल जोन हाइडले जनाए । उनका अनुसार ट्रस्टले चालु वर्षका लागि नेपालमा १२ मिलियन पाउन्ड सहयोग गरेको छ ।


पुनर्निर्माण अभियानमा अहिलेसम्म २५ विद्यालयका पक्की भवन बनाएको र चालु वर्षमा ११ भवन बनाइरहेको उनले जानकारी दिए । चालु महिनाको अन्तिम सातासम्म सबै भवनको निर्माण सम्पन्न गर्ने योजना छ । ‘भूकम्प प्रतिरोधी, आधुनिक डिजाइनमा बनेको यो भवनले विद्या मन्दिरका विद्यार्थीलाई सुरक्षित रूपमा पढ्ने अवसर दिएको छ,’ सब–इन्जिनियर लक्ष्मण मल्लले भने, ‘हामीले गुणस्तरमा कतै कमी हुन दिएका छैनौं ।’ विद्यालयले महायज्ञ लगाएर संकलन गरेको रकममा अन्य दाता, शिक्षा विभागसमेतको सहयोग थपेर ठूलो भवन बनाइरहेको छ ।


१९९७ सालमा स्थापना भएको विद्या मन्दिरमा हाल १४ सय विद्यार्थी अध्ययनरत छन् । महायज्ञबाट संकलित ५ करोड रुपैयाँबाट मुख्य भवन बनिरहेको छ । तीनतले पक्की भवन निर्माणको काम अन्तिम चरणमा पुगेको व्यवस्थापन समिति अध्यक्ष सुवास राजभण्डारीले बताए ।


कम्तीमा १२ लाख रुपैयाँ सहयोग गर्नेको नाममा एक/एक कोठाको नामकरण गर्ने अभियान सञ्चालन भएपछि दाताहरू बढेका छन् । बागलुङ नगरपालिका ३ का कुलप्रसाद श्रेष्ठ परिवारले आफ्ना मातापिताको नाउँमा ३६ लाख रुपैयाँ सहयोग गरेर तीनकोठे भवन बनाइदिएका छन् ।

प्रकाशित : असार १०, २०७५ ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?