१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

विद्यालय बन्यो अपांगतामैत्री 

हरिराम उप्रेती

गोरखा — सेतो छडीको सहाराबिना निर्मला सुनारलाई हिँडडुल गर्न गाह्रो हुन्छ । छडी उचाल्दै यताउता गर्ने उनको अवस्था देखेर जो कोहीको अनुहारमा दया भाव जागिहाल्छ ।

विद्यालय बन्यो अपांगतामैत्री 

उनको गाउँ धार्चे गाउँपालिका ७, लापु पनि अति दुर्गम छ । घर नजिकैको विद्यालय आउजाउ उनलाई साह्रै गाह्रो थियो । नयाँ शैक्षिक सत्र सुरु भएसँगै उनलाई विद्यालयमा भने आनन्द छ । यसको कारण गोरखा नगरपालिका ६ को महेन्द्र ज्योति माध्यमिक विद्यालय हो । विद्यालयले भर्ना अभियानका बेला सबै प्रकारका अपांगता भएकालाई आउन आह्वान गरेको थियो ।


१२ वर्षीया सुनारलाई अभिभावकले सदरमुकाम ल्याएर उक्त विद्यालयमा २ कक्षामा भर्ना गराए । अब उनलाई छडीको सहाराले कक्षाकोठा र बास बस्ने ठाउँसम्म पुग्न गाह्रो छैन । महेन्द्र ज्योति वैशाख १ बाट पूर्ण अपांगमैत्री विद्यालय बनेको हो । ‘दुवै खुट्टाले राम्रोसँग टेक्न सक्दिनँ । तर, मलाई यहाँ सजिलो भएको छ,’ उनले भनिन्, ‘होस्टेलको सुविधासहित यहीँ बसेर पढ्दै छु ।’ ह्वीलचियर नै लिएर पनि छात्रावासबाट कक्षाकोठासम्म पुग्न सजिलो रहेको उनले सुनाइन् ।


हाल ११ बौद्घिक अपांगता (सुस्त मनस्थिति) भएका बालबालिकालाई आवासीय सुविधासहित अध्यापन गराउँदै आएको विद्यालयले नयाँ शैक्षिक सत्र सुरु भएसँगै शारीरिक अपांगता भएका विद्यार्थीलाई पनि आवासीय सुविधा उपलब्ध गराएको छ ।


‘बौद्घिक अपांग र शारीरिक अपांग गरी हाम्रो विद्यालयमा अहिले १४ विद्यार्थी छन् । बिस्तारै भर्ना हुन आउँदै २० सम्म यस्ता विद्यार्थी पुग्छन् होला,’ प्रधानाध्यापक लक्ष्मण आचार्यले भने, ‘ह्वीलचियर युजरसम्मका विद्यार्थी राख्न सक्छौं । कम्तीमा यस्ता बालबालिकाले दिसापिसाब भने आफंै गर्न सक्ने हुँदा पठनपाठन सहज हुन्छ ।’ विद्यालय पूर्ण रूपमा अपांगमैत्री बनेसँगै मान्वुका मुकेश गुरुङ पनि आएर ४ कक्षामा भर्ना भएका छन् । ‘मुकेशलाई बसेपछि उठ्न निकै गाह्रो हुन्छ,’ शिक्षक होमकुमारी देवकोटाले भनिन्, ‘उनले बिस्तारै विद्यालयको वातावरण बुझ्दै छन् ।’


कक्षाकोठामा पुग्न अपांगतामैत्री ‘र्‍याम्प’ निर्माण गरिएको छ । ‘६ लाख खर्च गरी ह्वीलचियर सबै कक्षाकोठामा पुग्न सक्ने बनाएका छौं,’ प्रधानाध्यापक आचार्यले भने । यहाँ पढ्ने बौद्घिक अपांगता भएका विद्यार्थीलाई सरकारले जनही मासिक ४ हजार रुपैयाँ शिक्षा विकास तथा समन्वय एकाइमार्फत अनुदान उपलब्ध गराउँदै आएको छ । ‘एक वर्षमा १० महिनाको प्रतिमहिना प्रतिविद्यार्थी ४ हजार पाउँछौँ,’ आचार्यले भने ।

प्रकाशित : असार १०, २०७५ १०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?