डुंगा खियाउँदै किशोरहरू

बिना थापा

कास्की — घर खर्च जुटाउन र अभिभावकलाई सघाउन सातामा दुई दिन डुंगा चलाउने किशोरहरूको संख्या फेवातालमा बढ्दै छ । विद्यालयमा अध्ययन गर्ने किशोरहरू शुक्रबार र शनिबार डुंगा खियाउनमा व्यस्त हुन थालेका हुन् ।

ओखलढुंगा घर भई लेकसाइडमा बस्दै आएका १६ वर्षीय टेक माझी बाराही माविको ७ कक्षाका विद्यार्थी हुन् । उनी पढ्ने खर्च जुटाउन डुंगा चलाउँदै आएको बताउँछन् । ‘दुई वर्षअघि पाइडल बोटबाट चलाउन सुरु गरेको हुँ,’ उनले भने, ‘अहिले अरू डुंगा पनि सजिलै चलाउन सक्छु ।’ शुक्रबार र शनिबार डुंगा चलाउने गरेको उनले सुनाए । ‘आएको पैसा आमालाई दिन्छु,’ उनले भने । माझीले काम राम्रो भएका दिन १७ सय रुपैयाँसम्म कमाउने सुनाए । बाबुले गरिआएको पेसा भएकाले तालमा आउँदा आउँदै सिकेको उनले बताए ।


उदयपुरमा ३ कक्षासम्म पढेर पोखरामा आएपछि राजकुमार राईले फेरि १ कक्षादेखि पढ्न सुरु गरेका हुन् । उनी अहिले १६ वर्षका भए । छोरेपाटन मावि ८ कक्षामा पढ्ने उनी आफूखुसी डुंगा चलाउन आएको बताउँछन् । ‘पढाइ खर्च जुटाउन सके बुबाआमालाई हल्का होला भनेर चलाउन थालेको,’ उनले भने, ‘सिक्न खासै समय लागेन ।’ उनका बुबा घर निर्माणका लागि डिजाइन बनाउने काम गर्छन् ।

Yamaha


सिन्धुली घर भई लेकसाइड बस्दै आएका चन्द्र मगर आठ महिनादेखि साताको दुई दिन डुंगा चलाउने काम गर्छन् । एसईई दिएर नतिजाको पर्खाइमा रहेका उनी फुर्सदको समय खर्च जुटाउन काम गरेको बताउँछन् । ‘आफ्ना लागि आपंैm खर्च जुटाए घरमा भार पर्दैन,’ उनले भने । उनका बुबाले पनि डुंगा चलाउने काम गरेका थिए । तर, हाल सवारीचालकको काम गर्छन् ।


फेवातालमा डुंगा खियाउने पेसा गरिरहेकामा अधिकांश पूर्वका जिल्लाबाट आउने छन् । फेवा डुंगा व्यवसायी समितिका अनुसार फेवातालका फेवा, गौरी, पहारी र बलांघीलगायत आठ घाट छन् । दर्ता भएका डुंगाको संख्या ७ सय २६ पुगेको छ । यिनमा डुंगा चलाउने करिब तीन सय हाराहारी जनशक्ति छ । फुर्सद मिलाएर डुंगा चलाउन आउने विद्यार्थी २२ जना पुगेका छन् । समितिले १६ वर्ष पुगेकालाई मात्र डुंगा चलाउन दिन्छ । तर, फेवातालपारिका गाउँबाट पढ्न आउने स्कुलेहरू भने आफ्ना डुंगा सानै उमेरदेखि आफैं चलाएर वारिपारि गर्छन् ।

प्रकाशित : असार १३, २०७५ १०:५६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

मकै व्यापार:सानो लगानी सन्तोषको आम्दानी

बिना थापा

कास्की — पोलेको मकै किन्न चाहनेले बाटामा सजिलै पाउँछन् । अझ पोखरामा त खान खोज्ने हो भने बाह्रैमास मकै पाउन सकिन्छ ।


महानगरमा डोकोमा फलफूल र तरकारी बेच्ने चलन पुरानै हो । डोकामा व्यापार गर्न हिँड्नेमध्ये मकै बेच्ने छन् । हरिया घोगा बेच्ने काम प्राय: महिलाले नै गरेका छन् । ‘अरूको घरमा धन्दा गर्नुभन्दा मकै बेच्ने काम सजिलो लाग्छ,’ सिर्जनाचोक बस्ने ४४ वर्षीया मेखमाया तामाङले भनिन्, ‘थोकमा किन्यो, खुद्रामा बेच्यो । जति बेलासम्म मन लाग्छ, त्यति बेलासम्म घुमी(घुमी बेचिन्छ ।’ मजदुरीमा आश्रित महानगरभित्रका थुप्रै परिवारका महिलामध्येकी एक हुन् तामाङ । उनको अनुभवमा सानो पुँजीले गर्न सकिने व्यापारका काम सबै उत्तम छन् । उनले भनिन्, ‘यो डोकामा मकै बेच्ने काम सजिलोचाहिँ होइन । तर, यसमा कसैको किचकिच खप्नु पर्दैन ।’ सधैं बिहान ५ बजे मकै लिन पृथ्वीचोक पुग्ने उनले दिनको तीन घण्टा डोको लिएर डुल्छिन् । ‘पाँच वर्ष भयो । हातमा थोरै–थोरै भए पनि सन्तोषको नाफा छ,’ उनले भनिन्, ‘बच्चाहरूले खाना पकाईखाई गरेर स्कुल जान्छन्, म बिहानको खाना खानेबेला कोठामा पुग्छु, चलेकै छ ।’ उनका श्रीमान् डकर्मी काम गर्छन् । आफूले व्यापार गर्दा घरखर्च चलाउन सजिलो भएको उनले बताइन् ।

पृथ्वीचोक बस्ने ४८ वर्षीया श्रीकला विश्वकर्माको पनि मकै बेच्ने दैनिकी तामाङको जस्तै छ । ‘मैले डोकोमा मकै बेच्न थालेको धेरै भएको छैन, त्यसै बसिराख्नुभन्दा नगद खेलाउन पाइन्छ,’ उनले भनिन्, ‘आठजनाको परिवार छ । मैले पनि एउटा पेसा गर्दा घर चलाउन सजिलो भएको छ ।’ उनको अनुभवमा महानगरमा महिलाले सानो पुँजीले गर्ने थुप्रै प्रकारका व्यवसाय छन् । डोको बोकेर हिँडा परिश्रम पर्छ । त्यसैले डोकोमा तरकारी र मकै बेच्नेहरूका लागि यो पेसा आम्दानीका लागि मात्रै नभई एक प्रकारको शारीरिक कसरत पनि हो । ‘सबैका घरमा बूढाबूढी दुवैले पैसो आउने काम गरे नुन–भुटन टार्न सजिलै हुन्छ,’ उनी भन्छिन्, ‘बूढाको मिस्त्री कामबाट मात्रै घरखर्च धान्न गाह्रो छ ।’

रत्नचोक बस्दै आएकी ५० वर्षीया चन्द्रवती तामाङलाई भने कहिलेकाहीं डोकामा मकै लिएर हिँडा दिक्क पनि लाग्छ । ‘भाडामा बस्ने धेरैजसोले केही नभनी खुरुक्क लिन्छन्, घरबेटीहरूचाहिँ २५ रुपैयाँ घोगा भन्यो भने पनि सस्तो देऊ भनेर मोलमोलाइ गर्छन्,’ उनले भनिन्, ‘व्यापार गर्न हिँडेकाले रिसाउन पनि भएन ।’ मकै बेच्ने पेसा गर्नुअघि उनी श्रीमान्सँगै घर बनाउने काममा मजदुरी गर्थिन् । ‘सधैं बलको काम गर्न सकिँदैन भनेर मकै बेच्न थालेको,’ उनले भनिन्, ‘सानो भए पनि व्यापार भनेको व्यापार नै हो ।’ उनको अनुभवमा पछिल्ला केही वर्षयता नुन, तेल, पिरो र मसला भएका खानेकुरा धेरै खाए स्वास्थ्यलाई खराबी गर्ने भएकाले सुख्खा रोटी र तरकारीका खाजा पसल खोज्न हिँडेको जस्तै छ मकैको व्यापार । ‘हरियो मकै खानुपर्छ, स्वास्थ्यलाई राम्रो गर्छ भन्ने चेतना मान्छेमा बढेको छ,’ उनले भनिन्, ‘यो व्यापारमा धेरै नाफा छैन, हात खाली नै पनि हुँदैन । जति हुन्छ ठीकै भन्नुपर्छ ।’

पोखरामा चटपटे, फलफूल र मकै आदि डोकोमा लिएर सडक पेटीमा खुद्रा व्यापार गर्न बस्नेलाई महानगरपालिकाले निषेध गरेको छ । बाटामा बसेको भेटे नगर रक्षक आएर सामान खोसेर लैजान्छन् । गाडीका यात्रु नै मुख्य ग्राहक भएकाले चटपटे र फलफूल बेच्नेहरू नगर रक्षकका आँखा छलेर बस बिसौनी आसपास बस्न छाडदैनन् । मकै र तरकारी बेच्नेहरू भने आवासीय क्षेत्रमा घुमेर बेच्न निस्कन्छन् । महानगरको बजार क्षेत्रमा मकै पोलेर बेच्नेहरू तीन दर्जन र डोकोमा डुलाएर बेच्नेहरू करिब चार दर्जन रहेको यो व्यापारमा संलग्नले बताए ।

पोखरामा आइपुग्ने हरिया मकै अधिकांशत: तनहुँका विभिन्न भागबाट दमौली हुँदै आइपुग्छन् । लेकाली क्षेत्रमा मकै छिटो तयार हुँदैन । पहाडी क्षेत्रका मकै आएर निख्रिने बेलामा बजारमा लेकाली क्षेत्रका मकै आइपुग्छन् । त्यसैले मकैको व्यापारमा मौसमी र बेमौसमी भन्ने नभएको व्यापारीले बताए ।

प्रकाशित : चैत्र १०, २०७४ ११:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT