बालश्रमिक बढे

बिना थापा

कास्की — पछिल्लो समय प्रदेश ४ को राजधानी पोखरा नगरभित्र बालश्रमिकको संख्या बढ्दै गएको छ । महानगरभित्रका वर्कसप, होटल, घरलगायत निर्माणको काममा थुप्रै बालबालिका लागेका छन् ।

बालमैत्री महानगर बनाउने अभियान नारामा मात्र सीमित भएको छ । आर्थिक अवस्था कमजोरीको कारण विद्यालय छाडेर काम गर्न भारतबाट आएको कमलेश सोहनी सुनाउँछन् । जसोतसो ८ कक्षासम्म पढेका १४ वर्षीय उनले हेम्जा वर्कसपमा काम गर्दै आएका छन् ।

‘पढ्न मन छ तर पैसा छैन, के गर्नु ?,’ उनले भने । उनले दुई वर्षदेखि वर्कसपमा काम गर्दै आएको बताए । यसैगरी पर्सा घर भई पोखरा न्यूरोडस्थित वर्कसपमा काम गर्दै आएका गोपाल चौधरी पनि आर्थिक अवस्थाले गर्दा पढाइ छाडेर आएको बताउँछन् । भारतबाटै आएका अजयकुमार झा पनि यहाँको एक वर्कसपमा काम गर्छन् ।

Yamaha

यसैगरी देशका विभिन्न जिल्लाबाट आएर श्रममा लाग्ने बालबालिकाको संख्या थुप्रै छ । बालश्रम उन्मूलनको नारा दिए पनि कार्यान्वयन हुन नसकेको आरोप महानगरमाथि लाग्न थालेको छ । ‘बालमैत्री बनाउन बालश्रमलाई निर्मूल पार्नैपर्छ’, उद्योग वाणिज्य संघ पोखरा बालश्रम न्यूनीकरण कार्यक्रम अधिकृत प्रीति पाण्डे भन्छन्, ‘९५ प्रतिशत बालश्रम नघटाई बालमैत्री हुँदैन ।’ विद्यालय, घर, सामुदाय, संघसंस्थामा बालश्रममुक्त हुनुका साथै समुदायको जिम्मेवारीको अपनत्व हुनुपर्ने उनले बताए । साथै शिक्षा, तालिम दिने वातावरण, जनचेतनामूलक कार्यक्रमहरूको समेत आवश्यकता रहेको पाण्डे बताउँछन् ।

महानगरपालिकाले सन् २०१८ मा बालमैत्री घोषणा गर्ने भनिए पनि, घोषणा मात्र गरेर नहुने हुँदा एक वर्षपछि सरेको, सामाजिक शाखाकी प्रमुख दुर्गा न्यौपानेले बताइन् । सन् २०१९ मा बालमैत्री घोषणा पछि कार्यान्वयन हुने गरी पूर्वाधार, कानुन र नीति बनाउनेतर्फ लागेको उनको भनाइ छ ।

प्रकाशित : असार १४, २०७५ १०:५५
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

डुंगा खियाउँदै किशोरहरू

बिना थापा

कास्की — घर खर्च जुटाउन र अभिभावकलाई सघाउन सातामा दुई दिन डुंगा चलाउने किशोरहरूको संख्या फेवातालमा बढ्दै छ । विद्यालयमा अध्ययन गर्ने किशोरहरू शुक्रबार र शनिबार डुंगा खियाउनमा व्यस्त हुन थालेका हुन् ।

ओखलढुंगा घर भई लेकसाइडमा बस्दै आएका १६ वर्षीय टेक माझी बाराही माविको ७ कक्षाका विद्यार्थी हुन् । उनी पढ्ने खर्च जुटाउन डुंगा चलाउँदै आएको बताउँछन् । ‘दुई वर्षअघि पाइडल बोटबाट चलाउन सुरु गरेको हुँ,’ उनले भने, ‘अहिले अरू डुंगा पनि सजिलै चलाउन सक्छु ।’ शुक्रबार र शनिबार डुंगा चलाउने गरेको उनले सुनाए । ‘आएको पैसा आमालाई दिन्छु,’ उनले भने । माझीले काम राम्रो भएका दिन १७ सय रुपैयाँसम्म कमाउने सुनाए । बाबुले गरिआएको पेसा भएकाले तालमा आउँदा आउँदै सिकेको उनले बताए ।


उदयपुरमा ३ कक्षासम्म पढेर पोखरामा आएपछि राजकुमार राईले फेरि १ कक्षादेखि पढ्न सुरु गरेका हुन् । उनी अहिले १६ वर्षका भए । छोरेपाटन मावि ८ कक्षामा पढ्ने उनी आफूखुसी डुंगा चलाउन आएको बताउँछन् । ‘पढाइ खर्च जुटाउन सके बुबाआमालाई हल्का होला भनेर चलाउन थालेको,’ उनले भने, ‘सिक्न खासै समय लागेन ।’ उनका बुबा घर निर्माणका लागि डिजाइन बनाउने काम गर्छन् ।


सिन्धुली घर भई लेकसाइड बस्दै आएका चन्द्र मगर आठ महिनादेखि साताको दुई दिन डुंगा चलाउने काम गर्छन् । एसईई दिएर नतिजाको पर्खाइमा रहेका उनी फुर्सदको समय खर्च जुटाउन काम गरेको बताउँछन् । ‘आफ्ना लागि आपंैm खर्च जुटाए घरमा भार पर्दैन,’ उनले भने । उनका बुबाले पनि डुंगा चलाउने काम गरेका थिए । तर, हाल सवारीचालकको काम गर्छन् ।


फेवातालमा डुंगा खियाउने पेसा गरिरहेकामा अधिकांश पूर्वका जिल्लाबाट आउने छन् । फेवा डुंगा व्यवसायी समितिका अनुसार फेवातालका फेवा, गौरी, पहारी र बलांघीलगायत आठ घाट छन् । दर्ता भएका डुंगाको संख्या ७ सय २६ पुगेको छ । यिनमा डुंगा चलाउने करिब तीन सय हाराहारी जनशक्ति छ । फुर्सद मिलाएर डुंगा चलाउन आउने विद्यार्थी २२ जना पुगेका छन् । समितिले १६ वर्ष पुगेकालाई मात्र डुंगा चलाउन दिन्छ । तर, फेवातालपारिका गाउँबाट पढ्न आउने स्कुलेहरू भने आफ्ना डुंगा सानै उमेरदेखि आफैं चलाएर वारिपारि गर्छन् ।

प्रकाशित : असार १३, २०७५ १०:५६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT