कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

घर भत्कन थालेपछि गाउँले विस्थापित

बागलुङ — वर्षाले यहाँको जमिनमा धाँजा फाट्ने र घर चर्किने भएपछि स्थानीय विस्थापित भएका छन् । काठेखोला ५ स्थित बिहुँ पोखराको मिलनचोक र काउलेका १३ घरका बासिन्दा विस्थापित भएका हुन् ।

घर भत्कन थालेपछि गाउँले विस्थापित

उनीहरू छिमेकीको घरमा गएर बस्न थालेका छन् । गत सोमबारदेखि उक्त ठाउँमा पहिरो खस्ने, जमिन फाट्ने र घर चर्किने क्रम सुरु भएको वडाध्यक्ष शिवप्रसाद कँडेलले बताए । गाउँको तल्लो भेगमा पहिरो चलेको छ भने माथिल्लो भागमा जमिन भासिएको छ ।

यहाँका समीक्षा नेपाली, हेमबहादुर क्षत्री, लालबहादुर दर्जी, सुमित्रा परियार, भरिराज दर्जी, धनमाया परियार, गंगाबहादुर परियारलगायतका घर भत्कन सुरु गरेका छन् । २०७२ सालको भूकम्पको समयमा सामान्य चर्केका यी घरहरू हाल भत्कन थालेका हुन् । बस्तीमा जोखिम देखिएपछि सुरक्षित स्थानमा बसाल्नका लागि काम थालिएको कँडेलले बताए ।

दैनिक पानी पर्न थालेकाले नयाँ आवास बनाउन नसकिएको हो । ‘बस्तीमा जोखिम भएकाले समय मिलाएर सार्नैपर्छ, हाललाई अस्थायी रूपमा बस्न लगाएका छौं,’ गाउँपालिका अध्यक्ष अमर थापाले भने, ‘तत्कालका लागि खाने, बस्ने बन्दोबस्त मिलाएका हौं ।’ पहिरोले मध्यपहाडी लोकमार्गको खण्डमा पनि असर पार्न लागेको छ ।

निरन्तर पहिरो खसेमा सडक बगाउने खतरा भएको स्थानीय चिन्ते दर्जीले बताए । ‘जमिन विभिन्न स्थानमा चिराचिरा परेकाले खतरा बढ्यो’, उनले भने, ‘आफ्नो घर र बारीमा धाँजा फाटेको छ, कहाँ गएर वर्षा कटाउने ?’ दिउँसोको समयमा काम गर्न गए पनि राति र पानी पर्नासाथ सुरक्षित ठाउँको खोजीमा निस्कने गरेको उनले बताए ।

लोकमार्ग निर्माणको क्रममा केही वर्षदेखि निरन्तर डोजर, एक्साभेटरलगायतका उपकरण चलाइएकाले यो खतरा बढेको स्थानीयको बुझाइ छ । उनीहरूले यो क्रम बढेमा काउले बस्तीका थप घरमा पनि क्षति पुग्ने बताए ।

प्रकाशित : असार १७, २०७५ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?