१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

अझै पत्ता लागेनन् बेपत्ता अधिकृत

पोखरा — एक सातादेखि बेपत्ता पोखरा–लेखनाथ महानगरपालिकाका वरिष्ठ सामाजिक विकास अधिकृत ओमराज पौडेलको अवस्था अझै खुल्न सकेको छैन ।

अझै पत्ता लागेनन् बेपत्ता अधिकृत

सम्भावित विभिन्न स्थानमा खोजी जारी रहे पनि पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ ।

असार ९ को बिहान ५ बजे घरमा पत्र लेखेर हिँडेका करीब ५० वर्षीय पौडेल बेपत्ता भएपछि उनका विषयमा विभिन्न टीकाटिप्पणी भइरहेको छ । शनिबार महानगरपालिकाले पत्रकार सम्मेलन गर्दै पौडेलको खोजी जारी रहेको जनाएको छ । पौडेलले उक्त बिहान श्रीमतीका नाममा एउटा पत्र लेखेका थिए । पत्रमा ‘उर्मिला, तिमीले यति धेरै माया दिँदादिँदै पनि जीवनभर साथ दिन सकिनँ । तीनवटा कोपिला (छोराछोरी) तिम्रो जिम्मामा छाडेर जाँदै छु । चारैजना राम्रोसँग बसे, अलबिदा’ उल्लेख छ । साथै आफूले प्रयोग गर्दै आएका दुई मोबाइल, सुनको सिक्री र औंठी पनि छाडेका थिए ।

पत्रका आधारमा प्रहरीले उनको खोजी गरिरहेको र घटनाको सबै कोणबाट अनुसन्धान गरिरहेको छ । पौडेल घरबाट निस्किएकै बिहान साढे ५ बजेतिर महेन्द्रपुलबाट एक पुरुष सेती नदीमा हाम फालेको स्थानीय शान्ति श्रेष्ठले प्रहरीलाई जानकारी गराएकी थिइन् । साथै महेन्द्रपुलको चोकमा रहेको एक सुनचाँदी पसलको सीसीटीभीमा पनि पौडेल सेती नदीमाथिको पुलसम्म पुगेको देखिएको छ ।

तर, त्यसपछिको अवस्थाबारे थाहा नभएपछि विभिन्न कोणबाट अनुसन्धान र आत्महत्या पनि हुनसक्ने भन्दै सोहीअनुसार खोजी भइरहेको कास्की प्रहरी प्रमुख ओमबहादुर रानाले बताए । पुलपारि रहेको श्रीकृष्ण राइस मिलको सीसीक्यामेरामा पौडेल नदेखिएपछि प्रहरीले पुलबाट हाम फाल्ने उनै हुनसक्ने अनुमानका आधारमा सेतीको किनार र बहाव क्षेत्रको अन्तिम विन्दुसम्म खोजी गरेको छ । ‘हामीले सेतीको सम्भावित स्थान र सेती बग्ने तनहुँ र चितवनसम्मको जिल्ला प्रहरीमा पनि खबर गरिसकेका छौं,’ एसपी रानाले भने, ‘सेतीमा हाम फालेर शव भित्रै कतै खोंचमा हुनसक्ने सम्भावनालाई ध्यानमा राखेर पानीको बहाव रोकेर, बढाएर पनि हेरिसक्यौं । पत्ता लागेको छैन ।’ प्रहरीले पौडेलको मोबाइलको कल डिटेलका माध्यमबाट पनि घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित : असार १७, २०७५ ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?