कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

शिक्षकका कारण पढाइ प्रभावित

बागलुङ — अभिभावकले वैशाख महिनाभर भर्ना अभियान चलाए, त्यही समयमा यहाँको एक विद्यालयकी प्रधानाध्यापक घरमा बसिदिँदा बालबालिकाले पढ्न पाएनन् । भर्ना भएकाहरू पनि छाडेर अरू विद्यालयमा जान बाध्य भए ।

शिक्षकका कारण पढाइ प्रभावित

ढोरपाटन नगरपालिका ६ को नमुना प्राविकी प्रधानाध्यापक हीरादेवी बूढा विद्यालयमा ताला लगाएर पटकपटक घरमा र अन्य व्यक्तिगत काममा बसिदिँदा बालबालिकाको पढाइ प्रभावित हुने गरेको हो । नियमित विद्यालयमा नआउने र चाबीसमेत आफैंले राख्ने गरेको व्यवस्थापन समितिका अध्यक्ष सार्के घर्तीले बताए ।

३ कक्षासम्म पढाइ हुने उक्त विद्यालयमा स्थायी दरबन्दीकी शिक्षक बुढा मात्र छिन् । विद्यालयमा एकजना बाल कक्षाकी शिक्षिका र सहयोगी छन् । ‘स्कुलको चाबी बोकेर हिँडेकी प्रधानाध्यपक वैशाखभर आइनन्, जेठको पहिलो साता पनि आइनन्,’ अध्यक्ष घर्तीले भने, ‘हामी यो शिक्षकसँग नसक्ने भयौं ।’ तीनवटा कक्षामा गरी १ सय २० बालबालिका थिए । पढाइ नै नभएपछि धेरै बालबालिकालाई अभिभावकले अन्यत्र लगेपछि २३ जना मात्र रहेको उनले बताए ।

कहिले घरमै बसिदिने, कहिले टाढै डुल्न गइदिने गरेपछि धेरैले आफ्ना बालबालिका अरू विद्यालयमा पठाएको अभिभावक भीमबहादुर दर्जीले बताए । ‘वैशाखभर स्कुल नखुलेपछि मैले छोरालाई ज्ञानोदय माविमा भर्ना गराएँ,’ उनले भने । विद्यालयमा नआएको विषयमा कसैले कुरा उठाए बुढाले गालीगलौज गर्ने गरेको गुनासो अभिभावकको छ ।

स्थानीयको उजुरीपछि जिल्ला तहबाट शिक्षाका अधिकारीहरू अनुगमनमा पुग्दा पनि विद्यालय बन्द भएको भेटिएको शिक्षा विकास तथा समन्वय प्रमुख गुरुप्रसाद पौडेलले बताए । ‘स्थानीय स्रोत व्यक्ति र विद्यालय निरीक्षकलाई समेत हेडमास्टरले थर्काएको भन्ने बुझियो, हामीले कारबाहीका लागि लेखिपठाउने निर्णय गरेका छौं,’ प्रमुख पौडेलले भने, ‘बालबालिकाको भविष्य अन्योल बनाउने अधिकार कसैलाई पनि छैन ।’

बुढाले भने पाउने बिदा कटाउन घरमा बसेको बताइन् । ‘मेरो सञ्चित बिदा छ त्यसैले बसेको हुँ । म नभएपछि अरू शिक्षकले पनि बन्द गर्ने रहेछन्,’ बुढाले भनिन्, ‘मेरो व्यक्तिगत सेवा लिन किन नपाउने ?’ यो विद्यालयमा बाल कक्षा पनि सञ्चालनमा छ । बालकक्षामा १५ बालबालिका छन् । कोठामा लगाएको तालाको चाबी नपाएपछि सहयोगी कार्यकर्ता इन्द्रकुमारी घर्तीले चउरमा राखेर बालबालिका पढाउनुपरेको गुनासो गरिन् ।

प्रकाशित : असार १७, २०७५ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?