कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

कालीगण्डकीको पानी गाउँमा

पर्वत — खानेपानीको समस्या टार्न जलजला २, ३ र ४ (वारिबेनी) का बासिन्दाले कालीगण्डकीको पानी ल्याउने भएका छन् । डेढ सय मिटरमाथि (भर्टिकल हाइट) लिफ्टिङ गरेर पानी बजारमा वितरण गर्न लागिएको हो ।

कालीगण्डकीको पानी गाउँमा

आयोजनाको प्लेन सेडिमेन्टेसन ट्यांक, सोलोस्यान्ड फिल्टर, आरभीटी, कलेक्टरलगायत अधिकांश संरचना निर्माण भइसकेका छन् । अब कार्यालय भवन, मुख्य पाइपलाइन (७५० मिटर) र वितरण पाइपलाइन १५.१ किलोमिटर बाँकी छ । दुई वर्षमा सक्ने लक्ष्य रहेको आयोजना समयमै पूरा गरेर उपभोक्तालाई जिम्मा लगाइने निर्माण कम्पनी चन्द्र एन्ड वसन्त निर्माण सेवाले जनाएको छ ।

सरकार–उपभोक्ता साझेदारी विकासअन्तर्गत वारिबेनीका करिब एक हजार घरधुरीलाई समेट्ने गरी सुरु भएको आयोजनामा नेपाल सरकारको ७० र स्थानीय उपभोक्ताको ३० प्रतिशत लगानी छ । उपभोक्ता समितिका अध्यक्ष लोकनाथ रेग्मीका अनुसार १४ करोड ५ लाखमध्ये भ्याटबाहेक १२ करोड ४३ लाख ७४ हजार रुपैयाँको लगानीमा आयोजना बन्न लागेको हो ।

त्यसमा उपभोक्ताले तीन करोड ७३ लाख १२ हजार रुपैयाँ लगानी गर्नेछन् । ‘हामीले सर्भे गर्ने बेला ८ सय ५४ घरधुरी थिए,’ रेग्मीले भने, ‘आयोजनाले २५ सय घरधुरी पुग्ने बेलासम्म थेग्न सक्छ ।’ आगामी २० वर्षसम्मलाई लक्षित गरी निर्माणाधीन आयोजना ०७४ असार २१ गतेदेखि निर्माण सुरु भएको हो । आयोजनाका इन्जिनियर विधान अर्यालका अनुसार पम्पिङ प्रविधिको यो आयोजना जिल्लाकै ठूलो हो । कालीगण्डकीको पानी तान्न ३० हर्सपावरका दुईवटा मोटर हुन्छन् । प्रतिसेकेन्ड २० लिटर पानी तानिन्छ ।

आयोजनाको स्टिमेट अनुसार कालीगण्डकीको पानी ७ मिटर गहिरो इनारमा जियोटेस्टाइल (पानी छान्ने प्रविधि) मार्फत पठाइन्छ । त्यो इनारबाट पम्पिङ गर्ने अर्को इनार (कलेक्टर) मा पठाइन्छ । त्यहाँबाट पम्पिङ गरिएको पानी प्लेन सेरिमेन्टेसन ट्यांकीमा जम्मा गरेर छानिन्छ ।

यसरी छानिएको पानी वितरण ट्यांकीमा पठाएर घरघरमा पुर्‍याइने डिभिजन प्रमुख प्रेम डोटेलले बताए । ‘कालीगण्डकीको पानी फोहोर हुन्छ भन्ने मानसिकता छ,’ उनले भने, ‘यो सबै प्रविधिबाट छानिएको पानी ९० प्रतिशत शुद्ध हुन्छ ।’

प्रकाशित : असार १७, २०७५ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?