कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

पोखरामा चरा महोत्सवको तयारी 

भीम घिमिरे

पोखरा — पर्यटकीय नगरी पोखरामा चरा महोत्सव हुने भएको छ । आयोजक पोखरा पंछी समाजले सोमबार पत्रकार सम्मेलन गर्दै तीन दिने महोत्सव चरा पर्यटन प्रवर्द्धनका लागि हुन लागेको जनाएको छ । 

पोखरामा चरा महोत्सवको तयारी 

नौवटा ताल, जंगल र पहाडी भूगोल भएको पोखरा महानगर विभिन्न प्रजातिका चराको वासस्थान र फिरन्ते प्रजातिका चराका लागि अन्यत्र जान ‘ट्रान्जिट प्वाइन्ट’ भएको समाजका महासचिव हेमन्त ढकालले बताए ।


आगामी मंगलबारदेखि हुने महोत्सवमा टुर गाइडका लागि चरा चिनाउने तालिम, विद्यार्थीलाई चरा सम्बन्धी जानकारी र संरक्षणको क्षेत्रमा क्रियाशील तथा जानकारहरूकाबीच अन्तरक्रिया गरिने भएको छ । नेपालमा हालसम्म ८ सय ८७ प्रजातिका चरा पाइएको रेकर्ड छ ।


यीनमा पोखरा उपत्यकामा ४ सय ६३ प्रजाति पाइने रेकर्ड भएको महासचिव ढकालले बताए । ‘नेपालमै मात्रै पाइने चरा काँडे भ्याकुर पोखरा उपत्यकाका विभिन्न स्थानमा सजिलै हेर्न सकिन्छ,’ उनले भने, ‘नेपालमा रेकर्ड भएका गिद्धका नौ प्रजातिमध्ये आठ प्रजाति पोखरा उपत्यकामा देखिएका छन् ।’


रामसारमा सूचीकृत तालको अवस्था र यिनमा चराको अवस्थाबारे महोत्सवमा छलफल हुने जानकारी उनले दिए । ‘हामीकहाँ पाइएका चरामा पनि ३२ प्रजाति संकटापन्न छन्,’ उनले भने, ‘नेपालमा चरा हेर्नकै लागि पनि पर्यटक आउन थालेको सन्दर्भमा अब हामीले चराको पहिचान र संरक्षणमा बहस आवश्यक छ भनेर महोत्सव आयोजना गरेका हौँ ।’


हिमाली भेगबाट जाडो छल्न र तराइबाट गर्मी छल्न पोखरा आइपुग्ने चराका प्रजाति र अवस्थाका विषयमा महोत्सवमा संरक्षणकर्मीबीच छलफल हुने उनले बताए ।


रुसबाट लामो दूरी तय गर्दै पोखराको आकाश भएर भारत जाने चीलका प्रजातिको झुण्डलाई विभिन्न समय विदेशी संरक्षणकर्मीले गणना गरेपनि त्यसले निरन्तरता पाउन सकेको छैन ।


‘हामी सबै प्रकारका चराका प्रजातिको अवस्था र स्थितिबारे अध्ययन र संरक्षणको चासो बढोस् भन्ने पक्षमा छौँ,’ समाजका अध्यक्ष मनशान्त घिमिरेले भने, ‘फिरन्ते चराको अवस्था अध्ययन हुन सक्यो भने पनि चरा हेर्न रुचाउनेलाई पर्यटनसँग जोड्न सक्छौँ ।’ समाजले प्रत्येक साता विदाका दिन चरा हेर्ने यात्राको आयोजना गर्दै आएको उनले बताए ।


महोत्सव आयोजनामा नेपाल पर्यटन बोर्डसँगै पर्यावरण र पशुपंछीका लागि क्रियाशील संघसंस्थाले सघाएका छन् ।


‘हाम्रा लागि यो सुरुवात हो,’ पर्यटन बोर्ड पोखरा कार्यालय प्रमुख सूर्य थपलियाले भने, ‘यो महोत्सवसँगै हामीले पोखरा उपत्यका र आसपासको क्षेत्रमा चराको अवस्थाबारे जानकारी पाउँछौँ ।’


कार्यक्रम आयोजनाको क्यालेण्डरमा परेर पनि वर्षायाममा आइपुगेको पहिलो महोत्सवले आगामी वर्ष परिष्कृत कार्यक्रम आयोजनाका लागि आधार तयार पार्ने उनले बताए ।

प्रकाशित : असार १७, २०७५ १४:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?