३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

ग्रामीण महिलालाई ‘सिर्जनशीलता’ पुरस्कार

लमजुङ — गरिबी निवारण कोषले यहाँका दुई महिला र तीन सामुदायिक संस्थालाई पुरस्कृत गरेको छ । मर्स्याङ्दी गाउँपालिका ४ कालाघिरिङकी मिश्रीमाया गुरुङ र मध्यनेपाल नगरपालिका ८ बेत्यानीकी पार्वती गुरुङलाई जनही १२ हजार रुपैयाँ र प्रमाणपत्रसहित सिर्जनशीलता पुरस्कार दिएको हो ।

ग्रामीण महिलालाई ‘सिर्जनशीलता’ पुरस्कार

मिश्रीमाया देवीस्थान सामुदायिक संस्था र पार्वती बेत्यानी सामुदायिक संस्थाका सदस्य हुन् । दुवैलाई जीविकोपार्जनमा सुधार, गरिबी न्यूनीकरण र संस्थाको संस्थागत विकासमा टेवा पुर्‍याएको भन्दै ‘उत्कृष्ट सदस्य सिर्जनशीलता पुरस्कार २०७५’ प्रदान गरिएको गरिवी निवारण कोष लमजुङका कार्य प्रबन्धक बृद्धिराज लिम्बुले बताए । उनका अनुसार समुदायको समग्र दीगो विकासमा योगदान पुर्‍याएको भन्दै पुरस्कृत गरिएको हो ।

लमजुङ सीप विकास प्रतिष्ठानमार्फत गठित संस्थाको कोषबाट सहुलियत दरको ब्याजमा ऋण लिएर २ बाख्रा किनेर पालेका पार्वतीको बाख्रा खोरमा १२ बाख्रा छन् । जनचेतना अभिवृद्धि र विकास अध्ययन समितिद्वारा गठित संस्थामार्फत ऋण लिएर खोर बनाई ६ बाख्रा पाल्न थालेकी मिश्रीमायासँग अहिले ८ बाख्रा छ । दुवैले खसी बिक्री गर्दै आएका छन् ।

यसबाट उनीहरूले जीविकोपार्जन गरिरहेका छन् । गरिबी निवारण कोषले उत्कृष्ट सामुदायिक संस्था घोषित गरी क्व्होलासोंथर गाउँपालिका ६ पसगाउँको बुद्ध सामुदायिक संस्था, दोर्दी गाउँपालिका ८ बन्सारको शीतल सामुदायिक संस्था र सुन्दरबजार नगरपालिका ८ भोटेओडारको प्रगति सामुदायिक संस्थालाई संस्थागत १५/१५ हजार रुपैयाँ पुरस्कारसहित दोसल्ला ओढाएर प्रमाणपत्र दिइएको छ ।

प्रकाशित : असार २७, २०७५ ११:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?