कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

नमुना बन्दै भुजुङ गाउँ

आश गुरुङ

लमजुङ — संघीय संरचनाअघि भुजुङ गाउँ एक गाविसले चिनिएको थियो । हाल क्व्होलासोंथर गाउँपालिका ४ मा परेको भुजुङमा यतिबेला सरसफाइयुक्त गाउँ बनाउने अभियान चलिरहेको छ ।

नमुना बन्दै भुजुङ गाउँ

ग्रामीण पर्यटकीय गाउँले प्रख्यात भुजुङमा स्थानीयवासी सरसफाइयुक्त बनाउन एकजुट भएर लागिपरेका छन् । बाक्लो बस्ती फोहोरमैला बढी भएपछि स्थानीय यसको व्यवस्थापनमा जुटेका हुन् । उनीहरू सरसफाइमा ‘नमुना’ गाउँ बनाउने अभियानमा लागेका छन् । भुजुङ गाउँ एकै ठाउँमा धेरै घरहरू गुचुमुच्च परेको बस्ती हो । गाउँले सरसफाइमा एकजुट भएर लागेको वडाअध्यक्ष खिमबहादुर गुरुङले बताए ।

जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले सन् २०२० सम्म जिल्लालाई स्वच्छता तथा सरसफाइको आनीबानीमा पूर्ण परिवर्तन गर्ने रणनीतिक योजना तयार पारेको छ । पूर्ण सरसफाइका ६ सूचकलाई आधार मानेर स्थानीयले शौचालयको प्रयोग गर्ने, साबुन पानीले हात धुने, सुरक्षित पानीको प्रयोग गर्ने, सुरक्षित खानाको प्रयोग गर्ने, घर आँगन सधैं सफा राख्ने र वातावरणीय सरसफाइमा ध्यान दिने गरेका वडाध्यक्ष गुरुङले बताए । ‘हिजो हामी कस्तो ठाउँमा थियौं । आज हाम्रो ठाउँ कस्तो भएको छ ।’ उनले भने, ‘हाल घरघरमा चपी बनायौं । नुहाउने ठाउँ बनायौं । फोहरमैलालाई व्यवस्थापन गर्ने बानी बसाल्यौं ।’ उनका अनुसार अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को इलाका कार्यालय भुजुङमा आएपछि गाउँमा सरसफाइ अभियान थालिएको हो ।

स्थानीयका अनुसार पर्यटकीय दृष्टिले निकै महत्त्वपूर्ण मानिएको यस गाउँमा विगतको समय बालबालिका र वृद्धवृद्धाले चोक तथा गल्ली साथै अन्यले नजिकैका खोल्साखोल्सी तथा खाली जग्गामा दिसापिसाब गर्ने गर्थे । हाल भने फोहोरमैला देख्न पनि छाडिएको छ । भुजुङका निवर्तमान गाविस अध्यक्ष नारायणबहादुर गुरुङका अनुसार एक्याप आएपछि टोल मिलेर सामूहिक शौचालय निर्माण गर्ने अभियान सञ्चालन भयो । अहिले घरघरै शौचालय छन् । घरघर शौचालय नहुँदा बाक्लो बस्तीका कारण स्थानीयले निकै सास्ती खेप्नुपरेको थियो । निकै प्रयासपछि अहिले भुजुङ भन्न गर्व लाग्ने उनले बताए । ‘पहिले दिसापिसाबको कुरालाई लिएर हामीलाई उडाउँथे,’ उनले भने, ‘अहिले सरसफाइ हेर्न भुजुङ आउने गर्छन् ।’

जिल्ला स्वच्छता समन्वय समिति र एक्यापले स्थानीयको समन्वयमा सरसफाइ गतिविधि सञ्चालन गर्दै आएका छन् । गाउँको बीच–बीच भएर बग्ने फोहर पानीलाई भूमिगत नाला निर्माण गरी निकास गरिएको लालीगुराँस युवा क्लवका अध्यक्ष नवराज गुरुङले बताए । उनका अनुसार दिसापिसाबजस्ता फोहोरजन्य गतिविधिलाई पूर्णरूपमा नियन्त्रण गर्ने अभियान थालिएको छ । सामूहिक रूपमा निस्किएका फोहोर संकलनका लागि चोक–चोकमा डोको र बाल्टीको व्यवस्था गरिएको
उनले बताए ।

२०४९ सालमा एक्यापले गाउँमा कार्यालय स्थापना गरेर वातावरण, वनजंगललगायतको संरक्षण, शिक्षासँगै स्वास्थ्य र सरसफाइ कार्यक्रम अघि बढापछि सुधार हुँदै आएको एक्याप भुजुङका प्रमुख राजेशप्रसाद गुप्ताले बताए । गाउँमा सरसफाइको अभियानका क्रममा गरिएका गतिविधिलाई जिल्ला खानेपानी तथा स्वाच्छता समन्वय समितिको अगुवाइमा अनुगमन गरिएको जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय प्रमुख सिनियर डिभिजन इन्जिनियर जगरनाथ दासले बताए । समुद्री सतहदेखि १ हजार ६ सय ५० मिटर उचाइस्थित भुजुङ गाउँको सिंगो बस्तीमा करिब ४ सय घरधुरी छन् ।

प्रकाशित : असार २७, २०७५ ११:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?