कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

कोरला सडक निर्माण सुस्त

११ मध्ये ७ प्याकेजमा मात्र काम चालु
न्यून जनशक्ति र उपकरण कार्यस्थलमा
घनश्याम खडका

म्याग्दी — सरकारको प्राथमिकतामा परेको गौरवको योजना कालीगण्डकी करिडोरअन्र्तगत बेनी–जोमसोम–कोरला सडक विस्तारको काम सुस्त छ । स्थलगत अनुगमनका क्रममा कामको गति र कामदारको संख्या हेर्दा यस्तो पाइएको हो ।

कोरला सडक निर्माण सुस्त

१ सय ८६ किमि सडकलाई ११ प्याकेज बनाई विस्तारको काम सुरु गरिएको थियो । ११ मध्ये ७ प्याकेजमा मात्र न्यून जनशक्ति र उपकरण लिएर ठेकेदारले काम गरिरहेका छन् भने ४ प्याकेजका कार्यस्थलमा न ठेकेदार छन् न त कामदार । सोमबार र मंगलबार गण्डकी प्रदेश प्रमुख पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा प्रदेशका मन्त्रीहरू, सांसद, प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितिका प्रमुख र आयोजना प्रमुखसमेतको टोलीले स्थलगत अनुगमन गर्दा यस्तो पाइएको हो ।

‘काम भनेजस्तो भएको छैन, अति सुस्त छ । केही ठेकेदार गुमनाम छन्,’ कोरलासम्म पुगेर फर्केका मुख्यमन्त्री गुरुङले भने, ‘ठेकदारको बोली, कामको गति, उपलब्ध मेसिन औजारहरू र कामदारको संख्या हेर्दा काम सन्तोषजनक भएकै पाइएन ।’ आगामी २०७६ पुस मसान्तमा सडकका सबै संरचना र ७ मिटर पिचसहित १० मिटर चौडा सडक निर्माण गर्न बेनी–जोमसोम ७६ किमिलाई ४ प्याकेज बनाई २ अर्ब ४९ करोडमा ठेक्का सम्झौता भएपछि काम सुरु भएको हो । ठेकदारहरूले समयमै काम सक्ने प्रतिबद्धता जनाएका भए पनि समयसीमा र कार्य प्रगति नमिल्दा विलम्ब हुने आशंका बढेको हो ।

कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडक आयोजनाका अनुसार २० किमि खण्डको प्रत्येक प्याकेजमध्ये पहिलो बेनीदेखि तातोपानीसम्म शर्मा युनाइटेड जेभी कम्पनी, दोस्रो र तेस्रो प्याकेजमा शर्मा गजुरमुखी जेभीले ठेक्का लिएका छन् । त्यसैगरी आयोजनाले जोमसोम–कोरला १ सय १० किमि सडकलाई ७ प्याकेज बनाई काम भइरहेको छ । आगामी कात्तिकमा सम्पन्न गर्ने गरी २ अर्ब ५० करोड रुपैयाँको लागतमा ग्राभेल स्तरमा निर्माण भइरहेको सडकलाई ११ मिटर चौडा बनाउने काम भइरहेको छ ।

आयोजनाका अनुसार शर्मा युनाइटेडको बेनी–तातोपानी प्याकेज, चैले–भेना प्याकेजमा कन्टेक कान्छाराम कोसियन जेभी र झैते–चराङ प्याकेजमा कञ्चनजंघा लामा मोतीराम जेभीले गरेको काम सन्तोषजनक छैन । ‘मुलुकको सडक सञ्जाल प्राथमिकताअनुसार नै हामी अहोरात्र खटेर काम गरिरहेका छौं ।

लक्षित समयभित्र काम सक्ने चुनौती हाम्रो सामु छ,’ बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालय जोमसोमका प्रमुख नरेन्द्र सुवेदीले भने, ‘अनुगमन क्रममा ठेकेदारको काम सुस्त देखिएको छ । ताकेता गरेका छौं ।’ मुख्यमन्त्रीबाट पनि छिटो काम सक्न निर्देशन भएको उनले बताए ।

प्रकाशित : असार २८, २०७५ ११:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?