ग्रामीण सडकमा सकस

आश गुरुङ

लमजुङ — हिउँदमा धूलाम्य हुने सडक पानी पर्न थालेपछि हिलाम्य भएका छन् । असारको उत्तरार्धमा आइपुग्दा यहाँका अधिकांश गाम्रीण सडकमा सवारी आवागमन बन्द भएका छन् ।पुराना केही रुटमा चालकले बलपूर्वक गाडी लग्ने गरे पनि पछिल्लो समय निर्माण गरिएका नयाँ कच्ची सडकमा सवारी चल्न बन्द भएका हुन् ।

लमजुङको दूधपोखरी गाउँपालिका २ भुम्लीचोकमा बिचौरबाट गौंडातर्फ आउँदै गरेको जिप हिलोमा फसेपछि धकेल्दै यात्रु । तस्बिर : आश

बिग्रेका केही सडकमा स्थानीय तहले मर्मतसम्भार गराए पनि हिलो बढ्दा समस्या भएको स्थानीयको गुनासो छ । अधिकांश सडकका छेउछाउमा नाला नहुनु र ट्रयाक्टर चल्दा बिग्रेकाले वर्षामा सास्ती भएको हो । ‘हिउँदमै मुस्किलले गाडी पुग्थ्यो, गौंडा–प्यारजुङदेखि नै अगाडि जाँदैन,’ दूधपोखरी गाउँपालिका १ दूधपोखरीकी कुमारी गुरुङले भनिन्, ‘घरबाट गाउँपालिका अफिस हिँडेर आउन आधा दिन लाग्छ ।’ स्थानीयका अनुसार सडक स्तरोन्नति गर्ने भन्दै उक्त सडकको ठाउँ–ठाउँ मर्मत गरिएको थियो । अहिले तिनै ठाउँ हिलाम्ये भएर सवारी गुडाउन नसकिने भएको छ ।

मस्र्याङ्दी गाउँपालिका ४ का अध्यक्ष सुमन गुरुङका अनुसार गाउँगाउँ जाने सडक बन्द भएका छन् । बेंसीसहर–चामे सडककै स्याँगे–च्याम्चेसम्मको बाटोमा मोटरसाइकल चलाउन सकस छ । दोर्दी गाउँपालिका अध्यक्ष ओमबहादुर गुरुङका अनुसार गाउँतिरका सडक बन्द भएका छन् । गाउँपालिका आउजाउ गर्न पनि हिँडेरै आउजाउ गर्नु परेको छ । दोर्दीको माथिल्लो क्षेत्र छोटेखोलासम्म सवारी सञ्चालन भएको र त्यसपछि समस्या परेको उनले बताए । नौथर शेरादेखि पाचोकसम्मको बाटो पनि बन्द भएको उनले बताए । ‘बर्खामा कहाँ बाटोमा गाडी चल्नु । मान्छे हिँड्नै पो गाह्रो छ,’ उनले भने ।

Yamaha

क्व्होलासोंथर गाउँपालिका ६ पसगाउँका चन्द्रप्रसाद गुरुङका अनुसार हाल गाउँमा सवारी सञ्चालनमा छैन । गत वर्षदेखि पसगाउँमा पोखराबाट बस चल्न थालेकोमा हाल रुदीखोला बढेपछि बस नचलेको उनले बताए । पोखराबाट थुन्सेकोट, मुंग्रेबेंसी हुँदै सिङ्दी आउजाउ गर्ने बस पनि कहिलेकाहीं बालुवा, बगैंचासम्म मात्रै आउने–जाने गरेको बताए । ‘सडक भत्किएका छन् । नभत्किएका ठाउँमा पूरै हिलो छ । स्थानीयका अनुसार कतिपय स्थानीय तहले चालु आर्थिक वर्षमा विनियोजन गरेर मर्मत तथा निर्माण गरिएको सडकमा सवारी गुडेको छैन ।

बेंसीसहर–भुजुङ जिप चालक रेशम परियारले वर्षातका बेला सडक सडकमै फस्ने र हिलोमा गड्ने समस्या रहेको बताए । ‘सडकमा फसेपछि बलजफ्ती गरेर भएन । बाटोमै बिग्रने समस्या हुन्छ । जहिले ओभानो भयो, त्यही बेला गाडी निकाल्नुपर्ने समस्या छ,’ उनले भने । ट्राफिक प्रहरी जवान भूमिराज घिमिरेका अनुसार बेंसीसहरबाट नौथर–पाचोक वा नौथर छोटेखोला–सिमी जाने बस चलेको छैन । चितीसम्म चलेको छ । घलेगाउँ जाने बस चलेको छैन । जिप भने चलेको छ । गौंडा–ओखरी सडक बन्द भएको छ ।

तुर्लुङकोटदेखि ठूलास्वाँरासम्मको बाटो बन्द भएको छ । च्यानपाटादेखि कानेस्वाँरासम्मको बाटो बन्द भएको छ । धुसेनी फेदीदेखि गाउँसम्म सडक बन्द छ । भकुन्डदेखि चिसापानीसम्मको बाटो बन्द छ । बेलघारी–भारते सडकमा समेत सवारी चल्न सकेको छैन । बोराङ खोलाको बाटोमा गुड्ने सवारी पनि गन्तव्यमा पुग्न नसकेको उनले बताए । ‘बेंसीसहरदेखि ग्रामीण सडकमा जाने अधिकांश सवारी अहिले गाउँ पुग्न सक्दैनन् । बाटोमै फस्ने गरेको छ,’ उनले भने, ‘झन् वर्षा भइरहँदा नजिकैका ठाउँमै सवारी फस्ने गरेको छ ।’

लमजुङको बेंसीसहरबाट जिल्लाका सबै ठाउँमा जाने प्राय: सडकको ट्रयाक खोलि सकिएको छ । तर, अधिकांश सडकमा वर्षाको समय सवारी चल्दैन । जिल्ला प्राविधिक कार्यालयका जिल्ला इन्जिनियर गौरीकुमार श्रेष्ठका अनुसार ग्रामीण भेगका अधिकांश सडक ‘ग्रेड’ नमिलाई बनेकाले वर्षायाममा सवारी सञ्चालनमा समस्या आएको हो । उनका अनुसार जिल्लामा पक्की सडकबाहेक १ सय २० किलोमिटर सडक ग्राभेल छन् ।

६ सय ८० किलोमिटर सडक (धुले) छ । ‘धुले सडक अहिले हिले सडकमा परिणत भएको हो’ उनले भने । जिल्ला समन्वय समितिका प्रमुख लोकराज पाण्डेका अनुसार उपभोक्ता समितिले आफ्ना गाउँ–ठाउँमा जबरजस्ती सडक पुर्‍याउन खोज्नु र यसको कुनै सर्भे डिजाइन नगरिनुले हाल समस्या आएको हो । ‘कुनै प्राविधिक डिजाइनबिना जताततै डोजर चलाए । कतै नाली खनिएन । अहिले धेरै समस्या पहिले सावधानी नअपनाउँदा निम्तिएको छ,’ उनले भने ।

Esewa Pasal

प्रकाशित : असार २८, २०७५ ११:०९
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

जथाभावी खन्दा जोखिम बढी

प्रकाश बराल

बागलुङ — दर्जनौं ठाउँ पहिरो खसेर गत महिनादेखि काठेखोला ८ को लेखानीमा ग्रामीण सडक अवरुद्ध छन् । पहिरोले अवरुद्ध लेखानी र कादेश दुई गाउँ आउजाउ गर्ने बाटो अझै खुलेको छैन । डांग्रेखोलाको झोलुंगे पुलसमेत भत्केपछि गाउँपालिका, वडा कार्यालय र सदरमुकामसम्म आउजाउ गर्न सास्ती भएको वडाध्यक्ष चित्रकला छन्त्यालले बताइन् ।

बागलुङको जैदीमा निर्माणाधीन कालीगण्डकी कोरिडोर हुँदै स्कुल जाँदै गरेका विद्यार्थी । तस्बिर : प्रकाश

लेखानी–कादेश सडकखण्डको करिब सय मिटर भाग भासिएको छ । हिउँदमा स्काभेटर लगाएर सडक खनिएको थियो । स्काभेटरले जमिन थर्केको जमिन वर्षामा भासिएको स्थानीयले बताएका छन् । यहाँबाट गएको हिउँदभरि ढुंगा निकालेर निर्माणका लागि अन्यत्र पठाउले गरिएको थियो । ग्रामीण सडकबाटै खसेको पहिरोले दुईवटा झोलुंगे पुल बगाएकाले स्थानीयलाई आउजाउमा समस्या छ ।

पहिरोले इलाका प्रहरी कार्यालय हरिचौरको प्रतीक्षालय र स्थानीयका घरहरू बगाएको छ । सडकका कारण पानी बग्ने दिशा फेरिएकाले हरिचौर, नरेठाँटी, हटिया र काँडेवासलगायत गाउँका दर्जनौं घरगोठ बगाएको गलकोटका नगरप्रमुख भरत शर्मा गैरेले बताए ।

अविरल वर्षाका बेला भेलले बाटो फेर्ने, पहिरो खस्ने र बाढी पस्ने अधिकांश घटनाको कारण प्राविधिक अध्ययनबिनै खनिएका ग्रामीण सडक भएका छन् । वातावरणीय प्रभाव मूल्यांकन नभएको र सडक खनेपछि संरक्षणको काम नगरिएकाले यस्तो भएको हो । ‘हाम्रो जमिन कस्तो छ, त्यहाँ डोजर लगाउन हुने नहुने परीक्षण नगर्दा क्षति भएको छ,’ जिल्ला भूसंरक्षण अधिकृत शेरबहादुर श्रेष्ठले भने, ‘एकपटक सामान्य चासो राख्न सकेमा सडक र बस्ती सुरक्षित हुनेछन् ।’

अघिल्ला वर्षहरू पनि ग्रामीण सडकबाट खसेका पहिरोले मानवीय क्षति भएका थिए । नगर र गाउँपालिकाका जनप्रतिनिधि भने बजेट निकासा र देशको आर्थिक वर्षको कारणले सडक खन्दा समस्या आएको दाबी गर्छन् । ‘बजेट पनि ढीला निकासा हुने भएकाले वर्षातमा मात्र काम सुरु हुन्छ,’ वडाध्यक्ष छन्त्यालले भनिन्, ‘अब हामीले समयमा काम गर्ने बानी बसाल्छौं ।’ पुरानै परम्पराले काम गर्दा ढिलाइसँगै जोखिम बढाएको उनले बताइन् ।

मध्यपहाडी लोकमार्गको बागलुङ खण्डमा धेरै स्थानमा पनि हाल पहिरोले दु:ख दिएको छ । गलकोट र निसीखोलातर्फको खण्डमा मध्यपहाडी लोकमार्गमा दर्जनौं पहिरो खसेको छ । पहिरोले सवारीसाधन चल्नै नसक्ने भएका छन् भने यात्रीले पैदलै हिडदा समेत दुर्घटनाको जोखिम बढेको छ ।

जिल्ला समन्वय प्रमुख राजेन्द्र ढुंगाना सबैजसो सडक निर्माणमा वातावरणीय प्रभाव मूल्यांकनको पद्धति अपनाउन सुझाव दिएको बताउँछन् । ‘पहिलो वर्ष सम्भव नभएपनि अर्को वर्ष जसरी लागू गराउने पक्षमा छु,’ उनले भने, ‘ग्रामीण सडक कसैको मृत्यु र क्षतिको कारण बन्नु हुँदैन ।’ साबिकको जिविसको तथ्यांक अनुसार जिल्लामा १ हजार २ सय किमी ग्रामीण सडकको सञ्जाल छ । जिल्लामा मध्यपहाडी लोकमार्गको केही खण्ड बाहेक सबै कच्ची सडक मात्रै छन् ।

प्रकाशित : असार २८, २०७५ ११:०८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT